site stats
बाह्रखरी :: Baahrakhari
देश
उपत्यकामा एकैदिन कसरी भए भयावह कार दुर्घटना ?

काठमाडौं । भारतीय नागरिक ३४ वर्षीय शेख साखिर १० वर्षदेखि काठमाडौंमा थिए । साथीहरूसँग नेपालमा कन्स्ट्रक्सन कामका लागि आएका उनी धोबीचौरमा बस्थे । काठमाडौंमा दैनिक ज्यालामा काम गरी कमाएका पैसा घर–परिवारका लागि भारत पठाउँथे ।

मंगलबार पनि कामकै लागि धोबीचौरबाट बिहानै लैनचौर जाँदै थिए । लैनचौर क्षेत्रमै काम सकेर उनी दिउँसो सवा ३ बजे कामबाट कोठा फर्किन केशरमहल चोकको दक्षिण गेटतर्फको पैदल सडक पेटीको बाटोमा हिँड्दै थिए ।

सडक पेटीमा हिँडिरहेका उनलाई सवारी–साधनको जोखिमबारे शंका हुने कुरै भएन । आफ्नै धुनमा हिँडिरहेका थिए । तर, ट्राफिक व्यवस्थापनका लागि ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई नै ठक्कर दिँदै कार सडक पेटीमै पुग्यो ।

साखिर हलचलसमेत गर्न पाएनन् । कार साखिरलाई ठोक्दै पर्खालमै बजारियो । साखिर बेहोस् भए । दुर्घटनास्थलमै बेहोस् भएका साखिरको मुटुको धड्कन मात्रै बाँकी थियो ।

प्रहरीले उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा पुर्‍यायो । 

अस्पताल पुगेलगत्तै डाक्टरले साखिरलाई मृत घोषणा गरे । उनीसँगै घाइते भएका प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत ट्राफिक हवल्दार पर्शुराम ठाकुरको उपचार भइरहेको छ । उनी भने खतरामुक्त छन् ।

कसरी चढ्यो सडक पेटीमै कार ?

ट्राफिक प्रहरी ठाकुर र शेख साखिरलाई ठक्कर दिँदै पेटीमै चढेको कार ७४ वर्षीय सुरेशराज कालिकाले चलाएका थिए । बा.प्र.०१–०३० च २३४८ नम्बरको कारका धनी कालिका नै हुन् । दुर्घटना हुँदा कारमा उनीमात्रै सवार थिए ।

महानगरपालिका–१६ का सुरेश लैनचौर हुँदै जमलतर्फ हुइँकिदै थिए । केशरमहल पुग्दा ड्राइभरको सिटमै रहेको पानीको बोतलबाट पानी पिए । तर, पानी घाँटीमै गाँठो पर्‍यो । त्यहीबेला कालिकाले ब्रेक थिच्न खोज्दा एक्सिलेटर दबाउन पुगे, अनि ठूलो दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उपत्यका ट्राफिक प्रहरीका एसपी नरेशराज सुवेदीले ब्रेक थिच्न खोज्दा एक्सिलेटर थिचिन पुग्दा मानवीय क्षति हुनेगरी दुर्घटना भएको बताए ।

उनी भन्छन्, ‘‘चालकले हामीलाई दिएको बयान अनुसार पानी पिउँदा घाँटीमा गाँठो परेर ब्रेक थिच्न खोज्दा एक्सिलेटर दब्न पुगेको बयान दिएका छन् । हामी थप सोधपुछ गर्दैछौँ ।’’

सुवेदीका अनुसार, सीसीटीभीमा देखिएको दृश्यमा कारले ट्राफिक प्रहरीलाई ठक्कर दिएपछि अझ तीव्र गतिमा गुड्दै पेटीमा पुगेको र साखिरको ज्यान गएको देखिन्छ ।

मंगलबार नै ललितपुरको एकान्तकुनामा समेत भयावह दुर्घटना भएको थियो । 

साँझ ६ बजे एकान्तकुना चोकबाट सातदोबाटो जाँदै गरेको प्रदेश ३–०१–०२४ च ९६७४ नम्बरको पिकअपले पैदल यात्रु ताप्लेजुङकी ३४ वर्षीया तारा राईलाई ठक्कर दिएको थियो ।

पिकअपको ठक्करबाट उछिट्टिन पुगेकी तारा विपरीत दिशाबाट आउँदै गरेको वाग्मती प्रदेश ०१–१०३१ च ४०४२ नम्बरको कारमा ठोक्किएकी थिइन् ।  पिकअप र कारको ठक्करबाट घाइते तारालाई प्रहरीले उपचारका लागि पाटन अस्पताल पुर्‍याए पनि डाक्टरले मृत घोषणा गर्‍यो ।

त्यतिबेला थप अर्को पिकअप प्रदेश–२ ०२–००४प ७२४६ नम्बर र ना ५७ प ३९२१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

मोटरसाइकल चालकको उपचार भइरहेको छ । तारा राईलाई ठक्कर दिने पिकअप चालक सिन्धुलीका १९ वर्षीय हेमराज विक प्रहरी नियन्त्रणमा छन् । एसपी सुवेदीका अनुसार, पिकअप गाडी तीव्र गतिका कारण एकैसाथ चारवटा सवारीसाधन ठोक्किन पुगेको बताए ।

हरेक महिना १५ जनाको मृत्यु

उपत्यका ट्राफिक प्रहरीको तथ्यांकले दैनिक हुने सवारी दुर्घटना भयावह देखाउँछ ।  उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौंमा हरेक महिना सवारी दुर्घटनामा परेर १५ जनाभन्दा बढीको ज्यान जाने गरेको देखाएको छ ।

ट्राफिक प्रहरीको तथ्यांक अनुसार, चालु आर्थिक वर्षको पाँच महिनामा उपत्यकामा भएका दुर्घटनामा परेर ६९ जनाको ज्यान गएको छ । जसमा ११ महिला, ५६ पुरुष र दुईजना बालबालिका छन् ।

त्यसरी नै गएको आर्थिक वर्ष ०८१/८२ मा १३८ पुरुष, ३७ महिला र १५ जना बालबालिको सवारी दुर्घटनामा परेर ज्यान गएको तथ्यांक ट्राफिक प्रहरीसँग छ । त्यसरी नै आर्थिक वर्ष ०८०/८१ मा १७७ जना र ०७९/०८० मा १८७ जनाको सवारी दुर्घटनामा ज्यान गएको देखिएको छ । 

उपत्यका ट्राफिक प्रहरीका एसपी सुवेदीले उपत्यकामा तीब्र गतिका कारण दुर्घटना हुने गरेको देखिएको हो ।

उनी भन्छन्, ‘‘पछिल्ला हरेक दुर्घटना तीब्र गतिका कारण भएको देखिन्छ । हामीले ट्राफिक नियम पालना र सम्भावित क्षतिबारे समय–समयमा चेतनामूलक कार्यक्रम पनि गर्दै आएका छौँ । तर, दुर्घटना रोकिएको छैन । सवारी चालकहरू पनि सचेत हुनु आवश्यक देखिन्छ ।’’
 

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  २०:४१
प्रतिक्रिया दिनुहोस्