काठमाडौं । जेनजी प्रतिनिधि जापानमा पाँच दिन सञ्चालन भएको वर्ल्ड एक्स्पोमा भ्रष्टाचार भएको भन्दै खबरदारी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेका छन् ।
शुक्रवार दिउँसो जेनजी युवा प्रतिनिधि मन्त्रालय पुगेका हुन् ।
जनवरी २०२५ मा जापानमा पाँच दिन सञ्चालन भएको वल्र्ड एक्स्पोमा भ्रष्टाचार भएको उनीहरूको आरोप छ ।
उनीहरूले आयोजनासँग सम्बन्धित निर्णय प्रक्रियामा सरकारी कर्मचारीले कर्तव्य छुटाएको र एकतर्फी ढंगले निर्णय लिइएको आरोप लगाएका छन् ।
जेन–जीका प्रतिनिधि अविन गुरुङले एक्स्पोसँग सम्बन्धित अनियमितता भइसकेको सूचना पाएपछि सो प्रकरणबारे छानबिन माग गर्दै आफूहरू मन्त्रालय पुगेको बताए ।
गुरुङका अनुसार विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिइसकिएको भएपनि सुनुवाइ नहुँदा मन्त्रालयसँग स्पष्टीकरण माग्न बाध्य भएको बताए ।
“जापानमा भएको वल्र्ड एक्स्पोमा भ्रष्टाचार भएको भन्ने कुरा हामीले सुनिसकेपछि के रहेछ भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि निवेदन परिसकेको, ठाडो उजुरी पनि परिसकेको त्यहाँबाट पनि सुनुवाई नभएपछि यहाँ के रहेछ, किन रोकियो कहाँनेरबाट कमीकमजोरी भयो भनेर हामी मन्त्रीको सचिवज्यूहरूलाई भेट्न आएका हौँ ।”
अर्का जेनजी प्रतिनिधि अमर सापकोटाले सरकारी कर्मचारीले गैरजिम्मेवारीपूर्वक एकतर्फी निर्णय लिएपछि आफूहरूले निरन्तर पत्राचार, ठाडो उजुरी र पूरक उजुरी दिए पनि कुनै निष्कर्ष ननिस्किएको बताए ।
दुवै पक्षलाई बोलाएर मात्रै छानबिन हुनुपर्नेमा त्यसो हुन नसक्नु गम्भीर भएको उनले टिप्पणी गरे । उनले भने, “त्यो एक्स्पोमा सरकारी कर्मचारीबाट आफ्नो कर्तव्य पूरा नगरी गैरजिम्मेवार हिसाबले एकलौटी मात्र निर्णय गरिएको छ । बारम्बार सीआईबीमा जाँदा पनि, अनुसन्धान ब्युरोमा ठाडो उजुरी, पूरक उजु्री सबै दिँदा पनि अहिलेसम्म निष्कर्ष नआएकाले हामी मन्त्रीज्यूसँग भेट्न आएका थियौँ ।”
एक्स्पोमा देशको गौरवमा आँच आउने गरी प्रस्तुत भएको उनको आरोप छ ।