site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चामल

“अत्यन्तै साँघुरो भएछ, अब अर्को नयाँ र राम्रो बनाउनुपर्ने देखियो । म आफ्नो ठाउँबाट सकेको सहयोग गर्छु,” उहाँले भन्नुभयो ।

भित्र बस्नेहरू आनन्दसँग बसेका थिए । उनलाई साँघुरो भएर पनि गुनासो थिएन । तर, भित्र बस्नेको नाममा उहाँको वाणी झरेपछि सबैलाई लाग्यो, उहाँकै कुरा ठीक हो । 

माथिबाट सहयोग आउने भएपछि यता पनि जम्मा गर्नुपर्ने देखियो । 
 
सहयोग रकम उठाउन तदर्थ समिति गठन गरियो र उहाँको अगाडि घोषणा गरियो ।
 
“ल, म मन्त्री भएको मान्छेले घोषणा गरिदिएँ, सरकारबाट पाउन सक्ने सबै सहयोग म जसरी पनि ल्याउने छु । अब नयाँ र राम्रो किसिमले यो ठाउँको इज्जत राख्ने गरेर बनाउनुपर्‍यो । सबैले दिल खोलेर सहयोग गरौँ...।”
 
सबैले ताली बजाए ।
 
पर बसेका डिल्लीबहादुर धामीले आफ्नो छेउका नरेशसँग सोधे “यो वर्ष खाद्यले चामलको कोटा थप गर्छ कि गर्दैन ?”
 
“मलाई किन सोध्या, आज त मन्त्रीसँग सोध न !” नरेशले भन्यो ।
 
डिल्लीबहादुर उठेर बोल्न खोजे । तर, मन्त्री फर्किने हेलिकप्टर ‘स्टार्ट’ भइसकेछ । उनको बोली मन्त्रीले सुन्न सक्ने अवस्था नै भएन । 

 
तैपनि, उनले चर्कोसँग भने, “मन्त्रीज्यू, नयाँ मन्दिर बनाएर सकिने बेलासम्म त खाद्यले हाम्रो चामलको कोटा थप्ला नि !”
 
(पोखरा ७ मासबार, कास्की)

 

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  ११:००
प्रतिक्रिया दिनुहोस्