site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘अविश्रान्त’मा वर्तमानको मार्मिक चित्रण

सुदर्शन आचार्य 


कवि त्रिलोचन आचार्यको नयाँ कृति ‘अविश्रान्त’ महाकाव्यका रूपमा अगाडि आएको छ । यसले वैदेशिक रोजगारीसम्बन्धी वर्तमानका अवसर र चुनौतीलाई सरल र काव्यात्मक भाषामा उजागर गरिदिएको छ । 

कविले महाकाव्यमार्फत विभिन्न बाध्यता परेर परदेश जाने र त्यहाँ अनगिन्ती दुःख पाएर स्वदेश फर्किने नेपालीको दर्द, पीडा कविताका माध्यमबाट व्यक्त गरेका छन् । 

ऐतिहासिक, राजनैतिक एवं धार्मिक रूपमा नायक–महानायक बनिसकेको पात्रलाई मुख्य पात्र बनाएर महाकाव्य रचना गरिने परम्परालाई छोडेर यस काव्यमा सामान्य गाउँले जनजीवनको एउटा पात्रलाई नायक बनाइएको छ । 

मध्यमवर्गको सामाजिक परिवेशको नयाँ प्रयोग गरिएको यस महाकाव्यमा कुल २३ वटा सर्ग र विभिन्न वार्णिक तथा मातृक गरी ३६ वटा छन्दहरूको प्रयोग भएको छ । 

यसरी भूमिकासहित ३२० पृष्ठ रहेको एउटा अर्को महाकाव्य नेपाली साहित्यभण्डारमा थपिएको छ । यो महाकाव्य रचनाको मुख्य विशेषता भने महाकाव्यका मुख्य पात्र रमेशको राष्ट्रप्रेम र कर्तव्यमार्गमा अगाडि बढ्दा आइपरेको असल भावना र बाधा अड्चनबीचको संघर्षको कवितात्मक प्रस्तुति हो । 

कृति अध्ययन गर्दै जाँदा र त्यसमा रहेका हरेक पात्रले राष्ट्र र राष्ट्रियताप्रतिको माया शिरोपर गरिएका सूत्रात्मक कविताहरू पढ्दा पाठकको मानसपटलमा देशप्रतिको अगाध माया भरिएर आउने गर्छ । 
 
प्रारम्भिक सर्गहरूमा घरपरिवार चलाउन, आफ्नो देशमा परिआएका समस्या समाधान गर्न महाकाव्यको प्रमुख पात्र रमेश स्वदेशमै दुःख गर्ने तर विदेश नजाने सोचले यसरी आफ्ना भाव प्रस्तुत गरिरहेको हुन्छ :  

राखी कल्मष चित्त वा कुटिलता कोही नआऊन् यता 
माया गर्छु भनेसरी छल गरी कोही नधाऊन् यता 
नेपाली मनमा दह्रो अनि खरो विश्वासको बास छ 
हिँड्दा हात समाउने भर दिने धर्ती छ आकाश छ
(पृ.६५)
 
परिणामस्वरूप सीमित स्रोतसाधन र जटिल परिस्थितिले जकडिएको हाम्रो समाजभित्रको एक सदस्य रोजगारीका लागि बिदेसिनै पर्ने बाध्यता आइपर्छ, यो नौलो रहेन अब । तैपनि यहीँ निर्वाह गरौँ विदेश नजाऔँ भनी उसलाई सम्झाउन आफन्तबाट अनेकन प्रयास गरिएका छन्, जुन मार्मिक र ओजपूर्ण छन् : 

आमा गंगा : आई यौटा समय भरिलो बैँसको छाल माग्यो 
           साँचौँ छातीभरि युग भनी शान्तिको ताल माग्यो  
           हेर्दै नाना गरिब जगका स्वर्णको हार माग्यो  
           हाँस्दै बस्ने अब म कसरी ? दिव्य संसार माग्यो
(पृ.१०१)

प्रधानाध्यापक अनिलः  कुदे कुदून् सबै उतै म जान्न दौडिँदै पर 
                    म खप्छु भोक देशमै म कुर्छु प्रेमले घर  
                    चुनी यतै हलोजुवा म जोत्छु खेतका गरा
                     भनी उठेन खै युवा ? उदास छिन् वसुन्धरा
(पृ.१०३)

बाबु महेश :   देख्दैनौँ सान उस्तै, फरकफरक बनी, वादका गीत आए
              लेख्दैनौँ गान उस्तै, घरघर तिनले, नित्य बन्दी बनाए  
              लाग्दैनौँ पुज्न माटो, तब न दशगजा, छेक्न सक्दैन चोर 
             आमा निद्रा नआई, विचलित अति छन्, देश दुख्दै छ छोरा !
(पृ.११२)

तर, समस्यामाथि समस्या र ऋणमाथि ऋण थपिएका नायक यसरी व्यक्त भएका छन् :

छ जीर्ण छानो पनि टाल्नुपर्ने
र खन्न बाँझो पनि थाल्नुपर्ने  
रित्तो छ झोला अब भर्नुपर्ने
होला नहोला सब गर्नुपर्ने  
(पृ.११७)

यस महाकाव्यमा उपस्थित हरेक पात्र आफ्नो दुःखका साथमा देश बोलिरेहका छन् । त्यसैले यो एउटा व्यक्तिको दुःखदर्दभन्दा पनि देशको दुःखदर्द बनेको छ । महाकाव्यका नायक घरमा ऋणको बोझ रहेको, देशमा रोजगारीको व्यवस्था नरहेको र वर्तमानको सरल विकल्प वैदिशक रोजगारी देखिएकाले यही बाटो रोज्न पुग्दछन् । 

पुस्तक अध्ययन गर्दै जाँदा वैदेशिक रोजगारीको चक्करमा विदेश दौडिनेको पारिवारिक विखण्डन भएको, पैसा पठाउला कमसेकम विदेश जाँदा लिएको ऋण तिरी घरबार फिर्ता ल्याउला भन्ने आशा पालिरहेका बाबुआमा घरपरिवारको आशामा तुषारापात हुने गरेको, कतिपय त मृत्युवरण गरी रातो बाकसमा फर्किने गरेको तथ्य हाम्रासामु छन् । 

ती दारुण चित्रहरूमध्येको अत्यन्त मार्मिक र हृदयविदारक चित्र फाँसीको सजाय तोकिनु फाँसी पाउने वा ब्लडमनी तिरेर ज्यान बचाएर आउनु हो । यस यथार्थतालाई काल्पनिक कथानक घटनाक्रमले यसमा उद्घाटित भएको पाउन सकिन्छ र काव्यात्मक वर्णनभित्र समेटिएको छ । 
 
सरसर्ती पुस्तक पढ्दा पाएको सारांश यस्तो पाइएको छ । घरमा ऋणको भार रहेको भनी बिदेसिएका रमेश विदेश पठाउने एजेन्सीबाट ठगिने, एउटा काम भनी पठाएको अर्कै काममा फस्नुपर्ने, साहुले कामको पैसा नदिने, परिबन्दमा पारी जेल पठाउने, ज्यान मारेको अभियोग लगाउने, मृत्युदण्डको फैसला हुने, फाँसीको सजाय पाउने, ब्लडमनी बुझाएर फाँसीको सजाय माफी पाउने, त्यति घटनाबाट मूच्र्छित बनेर स्वदेश फर्किंदा श्रीमती र छोरा बाढीपहिरोमा परी मारिने र आमाबाबु कोभिडमा परी मारिएका हुन्छन् । 
 
अथक नायकलाई दुःखमाथि दुःख पर्दछ । उसलाई असह्य वेदनाको भेलबाट अगाडि बढ्न सम्भव नहुने देखिन्छ । यस्ता खण्डहरबाट माथि उठेर नआत्तिई रमेश आफ्नोजन्म थलो पुग्दछ । जति पहिले गाउँको माया गथ्र्यो त्योभन्दा बढी माया गर्दै मातृभूमिको विकास र संवर्धनमा अविश्रान्त लागिरहन्छ ।
 
यस कृतिको सम्बन्धमा प्राडा रामप्रसाद ज्ञवाली लेख्छन्, “सामाजिक विषयवस्तुमा तयार पारिएको प्रस्तुत महाकाव्य समस्यामूलक छ । यसमा समाजका आर्थिक, राजनीतिक तथा प्रशासनिक समस्यालाई सम्बोधन गरिएको छ । धनी र गरिबबीचको वर्गीय द्वन्द्वलाई पनि ध्वनित गरिएको छ । यी कुरा स्पष्ट पार्न आर्थिक समस्याको समाधानका निम्ति विदेश पलायन हुने नेपाली युवाहरूको जीवनको प्रतिनिधित्व गराउने घटना प्रस्तुत गरिएका छन् । 
 
काव्यनायक बस्न त नेपालमा नै चाहन्छ । तर, यहाँ ऊ आफ्नो योग्यता र क्षमताअनुरूप काम पाउँदैन । देशभित्र आफ्नो समस्याको समाधान नहुनेजस्तो लागेपछि ऊ विदेश जाने सोचमा पुग्छ । यस क्रममा कविले अध्यापक अनिल नामको पात्रमार्फत देशप्रेमको भाव व्यक्त गर्न लगाएका छन् । नेपाली युवाले ‘यो देश म स्वयं बनाउँछु’ भनी यहीँ श्रम र सीप छर्दै संघर्ष गर्नुपर्नेमा उल्टै विदेश पलायन गर्नु दुःखद छ भन्ने धारणा अध्यापक अनिलको छ । 
 
त्यसैले ऊ रमेशलाई देशप्रेमको उपदेश दिन्छ । यस पात्रका विचारमार्फत कविले नेपाली युवालाई निराश भएर वा नेतालाई गाली गरेर मात्र समस्याको समाधान नहुने यथार्थ बताउने प्रयत्न गरेका छन् भने देशको कायापलट गर्न युवाले स्वयं उठ्नुपर्ने सन्देश दिएका छन् । 
 
देशप्रेमको भावना काव्यनायक रमेश, नायकका पिता महेश, नायककी पत्नी सानी र स्वयं कविमार्फत अनेक स्थानमा व्यक्त गराइएको छ । तल दिइएका उद्धरणहरू यस प्रकृतिका एकाध उदाहरण मात्र हुन् :

फसी सक्यो समाज यो भने उतार्नुपर्दथ्यो
छ घातकी प्रथा भने मिली पछार्नुपर्दथ्यो
बनी अजान जन्तुझैँ गएर मात्र हुन्छ के
छ चोट मर्म मर्ममा सहेर मात्र हुन्छ के ?
(पृ. १०५) 

 यसैगरी कवि पुरुषोत्तम सिग्देल लेख्छन्, “रचना विधानका गुण तात्विक दृष्टिले ‘अविश्रान्त’ महाकाव्य तौलिनुपर्दा आख्यानात्मक पाटो समाज उपजीव्य पात्र टिपेर परिवेश, परिस्थिति, ग्रामीण चित्रण तथा मनोदशा र युवा पलायनका आयाममा मजाले खेल्न सकेको आभास हुन्छ । झिनो कथानक–उपकथानक लिएर जीवनका हरेक पाटाहरू व्यवहारिक पक्षका अप्ठ्यारा, मनोविज्ञान केलाउन महाकवि माघको वर्णनकला चातुर्यको कविमा कता कता प्रभाव परेको हो कि भन्ने लाग्दछ । भाषिक जेथा शब्दावली प्रयोग कौशलता, अध्यवसाय लगन निरन्तरता आदि गुण सृजनाका सामग्री हुन् ।” 
 
कवि शार्दूल भट्टराई यस कृतिबारे लेख्छन्, “महाकाव्यको नायकको जीवन दुःखमाथि दुःख र पीडामाथि पीडाले भरिएको छ । तथापि, ऊ विचलित देखिँदैन । जीवनदेखि थाकेर र हारेर भाग्ने नायकको कल्पना यस महाकाव्यमा गरिएको छैन । वियोग, शोक र पीडापूर्ण जीवनमा पनि नायकको सोच आशावादी रहेको छ । जस्तासुकै संकटमा पनि जीवनसंघर्षबाट विचलित हुन नहुने सन्देश महाकाव्यले प्रवाह गरेको छ । नेपाली समाजमा वैदेशिक रोजगारीमा जाने दबाब बढ्दै गएको छ । तर, कवि त्रिलोचन आचार्यले यस कृतिमार्फत विदेश नजानका लागि सन्देश प्रवाह गरेका छन् । आफ्नो क्षमता, सीप र श्रमको लगानी आफ्नै देशमा गर्नुपर्ने भावनाको अभिव्यक्ति महाकाव्यमा पाइन्छ । यसै सन्दर्भमा कविको देशभक्तिपूर्ण भावना महाकाव्यमा प्रकट भएको छ ।”
 
यसरी साहित्यकार कवि–लेखकहरूको भनाइका अधारमा भन्न सकिन्छ– यो वर्तमान बोकेको र भविष्यका लागि सन्देश लिएर आएको विशेष उपलब्धि हो । यति हुँदा हुँदै पनि यस कृतिमा अझै सुधार हुन नसक्ने अवस्था छैन त भन्ने प्रश्न उठ्न सक्छ । 
 
प्रथमतः यस कृतिमा प्रस्तुत सन्दर्भलाई चियाउँदा विदेशमा पाएको सजाय माफी हुँदाको अवस्थामा भएका घटना–परिघटनाको थप चित्र प्रस्तुत हुन सक्थ्यो कि भन्ने लाग्छ । जसबाट वैदेशिक रोजगारीका असजिला पाटा बाहिर आउन सक्थे । तर, काव्यनायक तुरुन्त देश फर्किएको मात्र पढ्न पाइन्छ । 
 
नायकलाई देश फर्काउन कविले अलि हतार गरेको देखिन्छ । कवि पुरुषोत्तम सिग्देल भन्छन्, “शब्दमा सामान्य वा अलि जागृत पात्र पनि उसले बोल्नुपर्दा पाठकले आँकलन गरेको अभिव्यक्ति सरलताभन्दा माथ्लोस्तरको भावना कलात्मक शैलीमा व्यक्तिएका पाइन्छ । यदाकदा अस्वाभाविक लाग्दछ ।” 
 
यो यस कृतिको कमजोर पक्ष हो वा सक्षम, महाकाव्यका पाठकले पहिचान गर्नुपर्ने देखिएको छ । 
 
महाकाव्यको अन्त्यतिर नायक रमेश देश विकासमा प्रतिबद्ध रहँदै अविश्रान्त कर्तव्यपथमा लागिरहन्छ । दुःखका पहाड पैतालाले कुल्चेर शिखरको यात्रामा लाग्छ, निरन्तर, निरन्तर । 
 
मलाई लाग्छ, त्यो पात्र स्वयं कवि हुन् वा कविवरिपरि घुमिरहेका छन् । महाकाव्यका नायक पीडाका आँसु पुछेर देशको आँसु पुछ्न यसरी लागेका छन्, अविराम, अविश्रान्त ।   

 

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  १२:२७
प्रतिक्रिया दिनुहोस्