काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले लोकतन्त्रलाई संस्थागत गर्न निर्वाचन अपरिहार्य रहेको बताएका छन् । नुभएको छ ।
आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज)को १६औं वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
वर्तमान सरकारलाई तीनवटा काम पूरा गर्नुपर्ने दायित्व रहेको र त्यसमध्ये एउटा निर्वाचन भएको अर्थमन्त्री खनालले बताए ।
निर्वाचनको मिति सार्नु भनेको मुलुकलाई अनिश्चयको दिशामा लैजानु रहेको बताउँदै उनले अनिश्चयले युवालाई थप निराश बनाउने उल्लेख गरे ।
मुलुक अहिले परिवर्तनको संघारमा रहेको तर परिवर्तन भइनसकेको उनको धारणा थियो । जेनजी आन्दोलन आर्थिक समृद्धिको लागि नभई भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि भएको बताए ।
यस्तो छ उनको भनाइ :
अहिले हाम्रो मुलुक परिवर्तनको संघारमा छ । परिवर्तन भइसकेको छैन । त्यसका त्यसका तरंगहरू अझै पनि छन् । त्यो तरंगले हामीलाई गलत दिशामा नपुर्याओस् भन्नका निमित्त खासगरी जेनजी आन्दोलन भनेको आर्थिक समृद्धिका लागि थियो भन्ने कुरा मैले बुझेको छैन । उहाँहरूको नारा दुई दिनमा हामीलाई आर्थिक समृद्धि चाहियो भन्ने पनि थिएन । हामीलाई मुलुकभित्रै अवसर मिलोस् र बाहिर जान नपरोस् भन्ने पनि थिएन । दुईवटा मात्रै मुद्दा थिए । एउटा भ्रष्टाचार अत्यन्त बढ्यो, राज्यका शक्तिशाली नेतृत्वदायी व्यक्तिहरुबाटै भ्रष्टाचारको संरक्षण भयो, त्यसको अन्त्य हुनुपर्छ भन्ने थियो । र अर्को सुशासन कायम हुनुपर्छ, कम्तीमा पनि नागरिकले सरकारको सेवाग्राहीको रुपमा पाउनुपर्ने सेवा सही तरिकाले पाउनुपर्छ भन्ने थियो । उहाँहरूको त्यो माग निरन्तर छ ।
आन्दोलनका क्रममा जुन घटना घट्यो त्यसले तत्कालीन सरकारले आफ्नो जिम्मेवारी त्याग गर्नुपर्यो । त्यसको विकल्पमा एउटा नयाँ सरकार गठन भयो । त्यसकारण, तेस्रो कार्यसूची भनेको निर्वाचन लोकतन्त्रलाई संस्थागत गर्नको निमित्त निर्वाचन अपरिहार्य छ । र संविधानबमोजिम समयमा निर्वाचन गर्नुपर्छ भन्ने तीनवटा दायित्व अहिले यो सरकारलाई छ ।
तीनवटा दायित्वमध्येको निर्वाचन समयमा सम्पन्न गर्नुपर्छ भन्ने यो अभियानमा हामी सबै लाग्नुपर्छ । कुनै पनि हिसाबले निर्वाचनको मिति सार्नु भनेको हामीले मुलुकलाई अनिश्चयको दिशामा लैजानु हो । त्यो अनिश्चयले युवालाई थप निराश बनाउँछ ।