site stats
बाह्रखरी :: Baahrakhari
देश
अंशु हत्या प्रकरण : घाँस काट्न सघाउन भन्दै जंगल पुर्‍याएर बलात्कारपछि हत्या

विराटनगर । मोरङको लेटाङ नगरपालिका वडा नं २ की किशोरी अंशु गौतम हत्यामा संलग्न आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय मोरङमा सार्वजनिक गरिएको हो ।

आरोपी ५९ वर्षीय पदम अधिकारी गौतमका छिमेकी हुन् । उनी ज्याला मजदुरी गर्छन् । बलात्कारपछि अंशुको हत्या भएको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले घटनाबारे किशोरीले आफन्तलाई बताइदिने डरले आरोपीले धारिलो हतियार प्रयोग गरी अंशुको हत्या गरेको अनुसन्धानबाट देखिएको बताए । “प्रहरीले निकै लामो अनुसन्धान र मिहिनेतपछि अपराधीसम्म पुग्न सफल भएको हो,” उनले भने । 

असोज २१ गते गौतम विद्यालय गएकी थिइन् । साथीहरू फर्किएर तर उनी भने फर्किइनन् । परिवारले खोजतलास गरे तर कतै भेटिइनन् । परिवारले छोरी हराएको भन्दै भोलिपल्ट नै प्रहरीमा निवेदन दिए । त्यसपछि प्रहरीले खोजी सुरु गर्‍यो ।

कात्तिक ७ गते बेलबारीको चिसाङ साझेदारी वनमा सडेगलेको अवस्थामा एउटा शव फेला पर्‍यो । त्यो अंशुको नै भएको परिवारले पहिचान गरे । मृतकका बुबा नवीन गौतमले घटनास्थलमा भेटिएको चप्पल, कालो हाफ पाइन्ट र लुगा आफ्नी छोरी अंशुकै भएको पहिचान गरेका थिए ।

जंगलमा घाँसदाउरा गर्न गएका तीनजना व्यक्तिले गनाएको अवस्थामा शव देखेको खबर गरेका थिए । मोरङ प्रहरीका एसपी कटुवालसहितको टोली घटनास्थल पुगेर मुचुल्का उठायो । शव अंशुको नै भएको पहिचान परिवारले गरे पनि प्रहरीले डीएनए परीक्षण गरायो ।

कोसी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी मोरङ र केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तीन सयभन्दा धेरै व्यक्तिसँग घटनाबारे अनुसन्धान र सोधपुछ गरेको एसपी कटुवालले बताए ।

“विशेष टोलीले घटनास्थल, पीडित परिवार र  सुराकीहरू खोजतलास गर्दै घटना गराउनेनजिक पुगेको हो”, एसपी कटुवालले भने ।

अपराध अनुसन्धानका लागि नेपाल प्रहरी केन्द्रीय फरेन्सिक ल्याब, कोसी प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी मोरङको संयुक्त टोली गठन गरी अनुसन्धान अघि बढाइएको थियो । 

मानव शरीरको अंगको सुक्ष्म परीक्षण तथा फरेन्सिक जाँच गरिएको थियो । एसपी कटुवालले भने, “मोबाइल डेटा, कल डिटेल, व्यक्तिको सुक्ष्म अनुसन्धान तथा सोधपुछपछि हामी अपराधी नजिक पुगेका हौँ ।” यस क्रममा ३०० भन्दा बढी व्यक्तिलाई सोधपुछ र ४५ जनाको लिखित बयान लिइएको उनले बताए ।

प्रहरीले पक्राउ गरेका व्यक्तिले पारिवारिक रिस तथा यौन चाहना परिपूर्तिका लागि घटना गराएको निष्कर्ष निकालेको छ । गौतमको हत्या बलात्कारपछि हराएकै दिन भएको प्रहरीले जनाएको छ ।

यसरी गराए घटना
घटना विवरण अनुसार अंशु गौतमलाई आरोपित ५९ वर्षीया पदम अधिकारीले विद्यालयनजिकै खेल्ने बहानामा आफूसँग लैजाने प्रयत्न गरेका थिए । उनीसँगै भएकी साथी युरिका महतारालाई पाँच रुपैयाँ दिएर उनकी दिदी खोज्न पठाएका थिए । त्यसपछि उनले जंगलमा घाँस काट्न सघाउन भन्दै अंशुलाई जंगलमा लिएर गएका थिए । 

उनले साइकलमा राखेर अंशुलाई चार किलोमिटरभित्र जंगलमा लगेर पहिले बलात्कार गरी त्यसपछि घाँटी थिचेर हत्या गरेका थिए । त्यसपछि घाँस काट्ने हसिँयाले घाँटी रेटेका थिए ।
  
घटना गराएपछि अधिकारी एक्कासि गाउँ छोडेर भारतको आसामतिर भागेका थिए । अचानक फरार भएका उनीमाथि प्रहरीले सुक्ष्म अनुसन्धान थालेको एसपी कटुवालले बताए ।

उनीविरुद्ध मुलुकी आचारसंहिताको ज्यान सम्बन्धी र करणी सम्बन्धी कसुरमा प्रहरीले मुद्दा चलाउने एसपी कटुवालले बताए । १२ वर्षीया अंशु कक्षा ५ मा अध्ययन गर्थिन् ।

 

 

 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १३:४४
प्रतिक्रिया दिनुहोस्