काठमाडौं । कर्णाली याक्सविरुद्ध तीन रनको हारसँगै साविक विजेता जनकपुर बोल्ट्सले अंक तालिकाको पुछारमा रहँदै नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण टुंग्याएको छ ।
यो हारसँगै साविक विजेताले लिग चरणका सात खेलमा दुई अंकमात्र जोड्न सक्यो । प्रतियोगिताको दोस्रो संस्करणमा जनकपुरले लगातार चार हारपछि पाँचौँ खेलमा जित निकालेको थियो । पहिलो खेलमा जनकपुरलाई काठमाण्डू गोर्खाजले पाँच विकेटले निराश बनाएको थियो ।
दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध नौ रनको, तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध २५ रनको, चौथो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ६ विकेटको हार व्यहोरेको थियो । पाँचौँ खेलमा भने जनकपुरले चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो । छैटौँ खेलमा जनकपुरविरुद्ध लुम्बिनीले चार विकेटको जित निकालेको थियो ।
जितसँगै तालिकाको छैटौँ स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको कर्णालीले सात खेलबाट चार अंक जोड्यो । कर्णालीले लिगको आफ्नो दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध नौ विकेटको जित निकालेको थियो ।
तर, पहिलो खेलमा चितवनसँग चार विकेटको, तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनको, चौथो खेलमा विराटनगर किंग्सविरुद्ध तीन विकेटको, पाँचौँ खेलमा काठमाण्डू गोर्खाजसँग पाँच विकेटको र छैटौँ खेलमा पोखरा एभेन्जर्सविरुद्ध ३४ रनको हार व्यहोरेको थियो । कर्णालीले पहिलो संस्करणमा इलिमिनेटर र दोस्रो क्वालिफायर खेलेको थियो ।