काठमाडौं । विश्वकै प्रमुख म्याराथनमध्येको एक स्पेनको भ्यालेन्सिया म्याराथन २०२५ मा नेपालकी सन्तोषी श्रेष्ठले नयाँ कीर्तिमान बनाएकी छन् । आइतबार सन्तोषीले दुई मिनेट २७ सेकेन्डले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । यससँगै उनले यसै वर्ष पछिल्लो आठ महिनाभित्र पाँचवटा राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।
उनले दुई घण्टा ४० मिनेट २३ सेकेन्डमा म्याराथन (४२.२ कि.मि.) पूरा गर्दै गत अप्रिल/वैशाखमा लन्डन म्याराथन (२:४२:५०)मा बनाएको राष्ट्रिय कीर्तिमानलाई थप सुधार गरेकी हुन् । लन्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन (२:४६:२६)मा बनाएको राष्ट्रिय कीर्तिमान भंग गरेर नयाँ कीर्तिमान बनाएकी थिइन् ।
यससँगै उनी विश्वभरका आठ हजार ९२१ महिला एलिट रनरहरू सहभागिता रहेको यस म्याराथनमा ८०औँ स्थान हासिल गरेकी छन् ।
त्यस्तै, गत असोजमा सन्तोषीले दिल्ली हाफ म्याराथनमा हाफ म्याराथनको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । साथै, यही कात्तिकमा साउथ एसियन सिनियर एथलेटिक्स च्याम्पियनसिप, राँचीमा पाँच हजार मिटर र १० हजार मिटर दौडमा पनि दुई कास्य पदकसहित राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
नेपाल यूके रनको पहल र प्रवर्दनमा सन्तोषी भ्यालेन्सिया म्याराथनमा सहभागी भएकी हुन् । ग्लोबल स्पोर्ट्स कम्युनिकेसन नेदरल्यान्डको फेलोसिपमा रहेकी सन्तोषीले भ्यालेन्सिया म्याराथनका लागि त्यहीँको अन्तर्राष्ट्रिय प्रशिक्षकको प्रशिक्षणमा थिइन् ।
साथै, नेपालमा उनी मिसन २०२६ अन्तर्गत पनि प्रशिक्षणमा छिन् । सन् २०१९ मा १३औँ सागमा नेपालका लागि ऐतिहासिक एथलेटिक्सतर्फ स्वर्ण पदक दिलाउने पहिलो नेपाली महिला खेलाडीको रूपमा इतिहास बनाएपछि सन्तोषी नेपाली एथलेटिक्समा गोल्डेन गर्लको उपमाले चिनिन्छन् ।
मध्यम दुरीबाट अन्तर्राष्ट्रिय यात्रा सुरु गरेकी सन्तोषीले १३औँ सागयता घरेलु मैदानमा सबै प्रतियोगितामा स्वर्ण पदक जित्दै आएकी छिन् ।