काठमाडौं । भनिन्छ, “यदि विधाताले कतै सबैभन्दा नाटकीय कथा लेख्छ भने त्यो खेल क्षेत्र हो,” यो भनाइ पुष्टि गर्न नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा साविक विजेता जनकपुर बोल्ट्सको यात्राले नै काफी रह्यो ।
गत वर्ष मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालित एनपीएल पहिलो संस्करणकै च्याम्पियन हो, जनकपुर बोल्ट्स । तर, च्याम्पियन बनेको एक वर्षपछि नै जनकपुर यही प्रतियोगिताको दोस्रो संस्करणमा ‘साख’ सम्म जोगाउन सकेन ।
आइतबार एनपीएल–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा कर्णाली याक्सविरुद्ध तीन रनको हारसँगै जनकपुरको अन्तिम स्थान निश्चित भयो । गत सिजन लिग चरणका सातमध्ये पाँच खेल जितेको जनकपुरले यो सिजन एक खेलमा मात्र जितको अनुभव गर्न पायो ।
बाँकी ६ खेलमा निराशजनक प्रदर्शन हुँदा च्याम्पियनले एनपीएलको इतिहासमै सबैभन्दा धेरै हार बेहोर्ने टिममध्येको एक बनेको छ । एनपीएलमा कुल १७ खेल खेलेको जनकपुरले नौ खेलमा हार बेहोरेको तथ्यांक छ । समान नौ खेलमा हार बेहोरेको कर्णाली याक्स, लुम्बिनी लायन्स, चितवन राइनोज र पोखरा एभेन्जर्स पनि यो सूचीमा क्रमैसँग छन् ।

ब्याटिङ ‘फ्लप’
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले निर्धारित २० ओभर ब्याटिङ गरे पनि सात विकेट गुमाएर १२६ रनमात्र बनाउन सक्यो । प्रतियोगिताका सातमध्ये ६ खेलमा ब्याटिङ नै जनकपुरको मुख्य समस्या बन्यो । शीर्षक्रमका ब्याटर र मध्यक्रममा अलराउन्डर जिम्मेवार नबन्दा लिग चरणमा ६ खेलमा १४५ भन्दा माथिको योगफलसम्म जान सकेन ।
“घरेलु खेलाडी चलेनन् । आसिफ (आसिफ सेख)ले एक खेलमा मात्रै अर्धशतक बनाए । अनिल (अनिल साह) चलेनन् । ललित राजवंशी र किशोर महतो पनि फर्ममा देखिएनन्,” खराब सिजनको अन्तिम खेलपछि जनकपुरका मेन्टर मनोज कटवालले भने ।
एनपीएलको दोस्रो संस्करणकै निम्ति जनकपुरले बनाएको प्रशिक्षण टोली निकै बलियो थियो । ब्याटिङ प्रशिक्षकमा राष्ट्रिय टिमकै पूर्वसदस्य अनिल मण्डल थिए । मेन्टरमा मनोट कटवाल थिए । जनकपुरले मुख्य प्रशिक्षणको जिम्मेवारी वेस्ट इन्डिजको ‘लेजेन्ड’ शिवनारायण चन्द्रपउललाई दिइएको थियो ।

टिमको ब्याटिङ युनिटमा राष्ट्रिय टिमका नियमित ओपनर आसिफ सेख, राष्ट्रिय टिमबाट खेलिसकेका सदस्य अनिल साहसँगै घरेलु क्रिकेटका चर्चित नाम मयन यादव, शुभ कंसाकार थिए । तर, प्रतियोगिताका सात खेलमध्ये अनिल र आसिफले समान एक अर्धशतक बनाए । जनकपुरका अरु घरेलु ब्याटरले अर्धशतकसम्म छुन सकेनन् । अमेरिकाका सञ्जय कृष्णमुर्थीमात्रै जनकपुरका एकमात्र ब्याटर रहे, जसले एनपीएलको यो सिजन दुई अर्धशतक बनाए ।
पाकिस्तानका चर्चित युवा ब्याटर माज सदाकत, नामिबियाका अलराउन्डर जान निकोल लफ्टी इटोन, अमेरिकाकै लहिरु मिलान्था र श्रीलंकाका संगिथ कुरेको सन्तोषजनकसम्म रहन सकेन ।
जनकपुरले सातमध्ये ६ खेलमा बनाएको सबैभन्दा ठूलो स्कोर नै १४५ रन रह्यो । प्रतियोगिताको आफ्नो पाँचौँ खेलमा बनाएको १८० रन अपवादबाहेक, जनकपुरले पहिलो खेलमा काठमाण्डूविरुद्ध १३० रन बनाएको थियो । दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध १३६ रनको सामान्य लक्ष्य पछ्याउँदा पनि जनकपुरले २० ओभरमा १२६ रनमात्र बनाउन सक्यो । तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध १५६ रनको लक्ष्य पछ्याउँदा १३० रन र चौथो खेलमा सुदूरपश्चिमविरद्ध १४५ रनसम्म मात्र पुग्न सक्यो ।
जनकपुरले छैटौँ खेलमा लुम्बिनीविरुद्ध १३२ र सातौँ खेलमा कर्णालीविरुद्ध १३० रनको सामान्य लक्ष्य पछ्याउँदा १२६ रनमात्र बनाउन सक्यो । पाँचौँ खेलमा भने जनकपुरले चितवन राइनोजले दिएको १७७ रनको लक्ष्य पछ्याउने क्रममा १७.३ ओभरमा चार विकेट गुमाएर १८० रन बनाएको थियो । यो एनपीएलको दोस्रो संस्करणमा कुनै पनि टिमले भेट्टाएको अहिलेसम्मकै ठूलो लक्ष्यसमेत हो ।
प्रतियोगिता एक, कप्तान तीन
एनपीएलकै एकै सिजन तीनजनालाई कप्तानी जिम्मेवारी सुम्पिएर जनकपुरले अर्को कीर्तिमान बनायो । सिजनको सुरुआती तीन खेलसम्म जनकपुरको कप्तानी जिम्मेवारीमा अनिल साह नियमित थिए । तर, यी तीन खेलमा पाँच रनमात्र बनाएपछि अनिल चौथो खेलमा ‘बेन्च’ मै रहे ।

अनिलको अनुपस्थितिमा कप्तानी जिम्मेवारी दक्षिण अफ्रिकाका वायन पार्नेलले सम्हाले । पाँचौँ खेलमा अनिल पुनः टिममा फर्किए । तर, कप्तानी जिम्मेवारी भने पाएनन् । जनकपुरले टिम प्रशिक्षण पक्षले पाँचौँ खेलमा पनि कप्तानी जिम्मेवारीमा पार्नेललाई नै निरन्तरता दियो । तर, छैटौँ र सातौँ खेलमा पार्नेल नै टिमको प्लेइङ–११ मा परेनन् । र, कप्तानी जिम्मेवारीमा नामिबियाका लफ्टी इटोन आए ।
यस्ता छन् सात खेलको नतिजा
कर्णालीविरुद्धको हारसँगै अंक तालिकाको पुछारमा रहेको साविक विजेताले लिग चरणका सात खेलमा दुई अंकमात्र जोड्न सक्यो । प्रतियोगिताको दोस्रो संस्करणमा जनकपुरले लगातार चार हारपछि पाँचौँ खेलमा जित निकालेको थियो । पहिलो खेलमा जनकपुरलाई काठमाण्डू गोर्खाजले पाँच विकेटले निराश बनाएको थियो ।

जनकपुरले दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध नौ रनको, तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध २५ रनको, चौथो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ६ विकेटको हार व्यहोरेको थियो । पाँचौँ खेलमा भने जनकपुरले चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो । छैटौँ खेलमा जनकपुरविरुद्ध लुम्बिनी चार विकेटले विजयी भएको थियो ।
