काठमाडौं । पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल)का दुवै संस्करणमा शीर्ष चारमा नपर्ने एक मात्र टोली बनेको छ । आइतबार (मंसिर २१) जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेलपछि एनपीएल दोस्रो संस्करणको लिग चरण सकिएको छ ।
एनपीएल–२ को प्लेअफमा सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सले शीर्ष चारमा क्रमैसँग स्थान बनाए । पुछारका चारमा भने पोखरा, कर्णाली, चितवन राइनोज र जनकपुर रहे । पोखरा यो सिजन पाँचौँ स्थानमा रह्यो ।
यीमध्ये साबिक विजेता जनकपुर, कर्णाली र चितवनले पहिलो संस्करणको प्लेअफ खेलेका थिए । पोखरा पहिलो संस्करणमा सातौँ स्थानमा सीमित बनेको थियो ।
दोस्रो संस्करणको प्लेअफ मंगलबार (मंसिर २३)देखि सुरु हुँदै छ । प्रतियोगिताको पहिलो क्वालिफयारमा सुदूरपश्चिम र विराटनगर भिड्ने तालिका छ ।
इलिमिनेटरमा काठमाण्डू र लुम्बिनी बुधबार (मंसिर २४) भिड्नेछन् । दोस्रो क्वालिफायर बिहीबार (मंसिर २५) हुनेछ । प्रतियोगिताको फाइनल खेल शनिबार (मंसिर २७) गते हुने तालिका छ ।