मलाई पहिलेदेखि नै हिमालले निकै आकर्षण गरिरहन्थ्यो । अर्थात्, हिमालले मलाई निकै तानिरहन्थ्यो । म एकपल्ट परिवारसहित पोखरा घुम्न गएका बेला पनि वरिपरि रहेका हिमालले मेरो ध्यान निकै खिचेका थिए ।
मलाई पोखराबाट देखिएका हिमालले ध्यान आकर्षित गरेपछि अल्ट्रालाइट चढ्ने निष्कर्ष निकालेँ ।
ब्रिटिस पाइलटले अन्नपूर्ण हिमालमा एक घण्टा उडाए । त्यस बेला म निकै रोमाञ्चित भएको थिएँ ।
मैले उडिरहेका बेला पनि सोच्दै थिएँ कि अब मैले हिमाल यसरी माथिबाट होइन, हिँडेर चुचुरोमा पुग्नुपर्छ ।
मैले हिमाललाई नजिकबाट नियालेपछि हिमालले पनि मलाई तानिहाल्यो । एक महिनाभित्रै म अन्नपूर्ण बेसक्याम्प पुगिहालेँ । यो कुरा मैले आजभन्दा १० वर्षअघिको गर्दै छु ।
त्यसपछि म लगातार अफरोडिङ गाडीलगायत पाँचवटा बेसक्याम्प पुगेँ ।
मैले हिमाल माथिबाट देखेँ, मलाई नजिकबाट देख्न मन लाग्यो, छुन मन लाग्यो । मैले त्यो पनि ट्रेकिङबाट पूरा गरेँ ।
अब त ट्रेकिङ मात्रै होइन, ‘समिट’ पनि गर्ने कि भन्ने मनमा लाग्न थाल्यो । त्यो पनि आकाशबाट हिमाल हेरेभन्दा बढी मनले तान्न थाल्यो ।
एकपटक संयोग पनि कस्तो पर्यो भने एकजना ‘बिजनेस म्यान’ मेरो नजिकको साथी पनि हुनुहुन्थ्यो । उहाँसँग गल्फ खेलिरहेको थिएँ । उहाँले पनि मलाई त्यही बेला भन्नुभयो– तपाईंजस्तो फिट मान्छे कहाँ ट्रेकिङ मात्रै गरिरहेको ! अब समिट पनि गर्नुपर्छ ।
उहाँले मैले पनि साथ दिन्छु भनेर मलाई उकास्नु पनि भयो एक अर्थमा ।
त्यसपछि बाँकी दुईजनाको नाम लिएर हामीले हिमाल चढ्ने योजना बनायौँ । हामी चारजनामा एकजना म आफैँ भएँ, बाँकी तीनजना साथीहरूमा अभिषेक श्रेष्ठ, आशीष याक्तुम्भा र सोनाम शेर्पा थियौँ ।

धरानको गल्फ कोर्समा बसेर हिमाल आरोहणको योजना बनेको समय थियो त्यो । सेकेन्डभरमै हामीले निर्णय लिएका थियौँ ।
म शारीरिक रूपमा ठिक र फिट छु, तर पनि प्रकृति र हिमालसँग मैले जोरी खोज्दिनँ भन्ने लागिरहेको थियो ।
हिमाल हो, जति बेला पनि चढिहालिन्छ नि भन्न हुँदैन । यो कुरा मैले पहिले पनि बुझेको थिएँ ।
मैले सबै नियमकानुन पालना गर्छु भन्ने आत्मनिर्णय लिएको थिएँ, किनकि जतिसुकै स्वस्थ मान्छे भए पनि तीन हजार फिटभन्दा माथि हिमाल चढ्दा समस्यामा परेको अनुभव मैले नजिकबाट देखेको र सुनेको थिएँ ।
नोभेम्बर २० तारेखमा मेरो जन्मदिन थियो । मैले श्रीमतीलाई ‘मलाई हिमाल जान देऊ, म हिमालमा आफ्नो तालमा आफ्नै हिसाबले जन्मदिन मनाउँछु’ भनेको थिएँ ।
श्रीमतीले यो कुरा मानिरहेकी थिइनन्, उनले मलाई सहजै अनुमति दिइनन् पनि । मैले पनि आफ्नो कुरा राखेँ । अन्ततः म हिमाल चढ्ने निष्कर्षमा पुगेँ ।
सन् २०२४ नोभेम्बरको मध्यतिर हामी लुक्ला गयौँ, हिमाल चढ्नका लागि । त्यसअघि बाँकी तयारी पूरा गरिसकेको थिएँ ।
हामीले लुक्लाबाट यात्रा सुरु गरेका थियौँ । म विराटनगर २–३ सय मिटरमा बस्ने मान्छे ४–५ हजार फिटमाथि पुग्नुपर्ने मनमा खेलिरहन्थ्यो । त्यसले हिट पनि गर्थ्यो ।
एकातिर नियमकानुन छ, अर्कोतिर लेक लाग्न सक्ने जोखिम पनि उत्तिकै ।

हिमाल चढ्दा अलग्गै जुत्ता लगाउनुपर्ने । ७–८ केजीको जुत्ता लगाउनकै लागि एकदमै मुस्किल थियो । दुईवटा जुत्ताको तौल नै ७–८ केजी । त्यही जुत्तासँग ‘युज्ड टु’ नभएकाले एकदमै मुस्किल पर्यो । तैपनि गरियो ।
सबै कुरा नयाँनयाँ सिक्दै थियौँ । तर पनि पूर्वतयारीका साथ अगाडि बढ्यौँ । सबै भिन्न तरिकाले अगाडि बढियो । नुहाउनका लागि एकदमै अप्ठ्यारो हुन्थ्यो । नुहाउँदा पनि नुहाइएन कति दिन त ! आफ्नो रुटिनभन्दा फरक जीवनको अनुभव भयो ।
भर्खर जन्मेको बच्चाले ‘आधा बित्ता’ गर्दै जसरी आफ्नो गन्तव्यमा पुग्छ, त्यसरी नै हिँड्नुपर्ने । चुचुरो देख्दा त कहिल्यै पुुगिँदैन कि भन्ने लाग्थ्यो । अत्यास पनि लाग्थ्यो । तर, ‘बेबी स्टेप्स’ले नै गन्तव्यमा पुगिन्छ भनेर सिकायो । ‘छिटो गए भन्न सकिन्न, ढिलो गए अवश्य पुगिन्छ’ सानैदेखि सुन्दै आएको वाक्य थियो । त्यो जीवनमा अनुभव पनि गरियो ।
हामीले बनाएको योजनाअनुसार चल्न पनि समस्या भयो । परिस्थिति फरक छ, धेरै हुरी चल्न थालिहाल्यो, नजानुस् भन्ने स्थानीयहरू पनि थिए ।
हामी अघिअघि रहेको एउटा समूहका कोरियन नागरिकको चिप्लिएर लडेका कारण मृत्यु पनि भएको थियो भर्खरै ।
तर पनि हामी अघि बढ्यौँ । अघि बढ्दा मलाई के लाग्यो भने जहाँ सरकार पहिला पुगेर पूर्वाधार बनाउनुपर्ने हो, त्यहाँ पुगेको पाएनौँ । तर, निजी क्षेत्र सरकारभन्दा पनि अघि पुगेको छ ।
निजी क्षेत्रले वास्तवमै पर्यटनको क्षेत्रमा निकै राम्रो काम गरेको छ । हाम्रो जस्तो मुलुकमा पूर्वाधार सरकारले बनाइदिएर निजी क्षेत्र पछिपछि लाग्नुपर्ने हो । तर, निजी क्षेत्र आफ्नो बाटो आफैँ बनाउँदै हिँडिरहेको छ ।
हिमाली क्षेत्रको बसाइ नै गाह्रो छ । हेलिकोप्टरबाट सामान लैजानुपर्ने, सुविधा केही छैन । हेलिकोप्टरबाट लगिएको सामानले पूर्वाधार बनाउन कति गाह्रो होला ? पूर्वाधार सरकारले बनाइदिने हो भने निजी क्षेत्रको उपस्थिति झनै दह्रो गरी हुने थियो ।

तर, सरकारको उपस्थिति नै देखिएन । निजी क्षेत्रको त्यति ठूलो योगदान रहेको स्थानमा सरकारको उपस्थिति नै छैन भन्दा पनि हुन्छ ।
वार्षिक ५०–६० हजार पर्यटक जेनतेन निजी क्षेत्रले धान्दै आएको छ । तर, सरकारले पूर्वाधार बनाउने हो भने हामीसँग भएका प्रकृतिले त्यति मात्रै होइन, बीसौँ लाख पर्यटक धान्न सक्छ नि ! त्यस्ता मनोरम दृष्य छन् हामीसँग । ती क्षेत्रमा पनि सुविधासम्पन्न रेस्टुरेन्ट र होटेलहरू बनेका छन् ।
कतिपय ठाउँमा त तातो ओछ्यान, तातो पानीसहितका सुविधा पनि । त्यसलाई हामीले ‘अल्ट्रालक्जरी’ भन्थ्यौँ । त्यहाँ माथि बसेको मान्छेको जीवन र हामी यहाँ (काठमाडौं) बसेको मान्छेको जीवन हेरौँ, आकाश जमिन फरक छ । त्यति धेरै मिहिनेत गरेर एकदमै रामै पूर्वाधार तयार पारिएको छ ।
खानामा कुनै पनि कम्प्लेन थिएन । विदेशीहरू धेरै जाने हुनाले ‘सिजलर खाने कि पिज्जा खाने ! हुन्थ्यो । त्यसपछि मात्रै दालभात खाने हुन्थ्यो ।
०००
हाम्रो ११ दिनको यात्रा हो । पहिलो दिन लुक्लाबाट कोटे गयौँ । कोटेबाट ताक्ना गयौँ । त्यहाँबाट खारे गयौँ । खारेचाहिँ दुई दिनपछि जाने हाई क्याम्प हो । हरेक दिन ७–८ घण्टाको हिँडाइ ।
तर, हामीले मेरो जन्मदिनको अवसर पारेर दुई दिन हेलिकोप्टर लिएर डिङ्बोचे गयौँ । अलिअलि त्यहाँ मौसम पनि बिग्रिएको थियो । त्यो हामी चढिरहेको हिमालभन्दा ठिकविपरीत हो ।
‘डिङ्बोचेमा राम्रोराम्रो रेस्टुरेन्ट र बस्ने ठाउँ पनि छ’ भनेपछि हामी त्यता गएका हौँ । तातो पानी र तातो ओछ्यानसहितको सुविधा । तातो पानीले सावर गर्न पाइने हिमालमा । हामीलाई त्यसको लोभ पनि थियो । त्यहाँ गएर दुई दिन बस्यौँ । मौसमलाई नजिकबाट हेर्यौँ र नियाल्यौँ पनि ।
त्यसपछि हामी फर्केर खारेमै आयौँ । हिँडेको भए ७–८ दिनको दूरी थियो । तर, हेलिकोप्टरमै आधा घण्टामा पुग्यौँ ।
त्यहाँ धेरै पर्यटक जाने भएकाले पनि होला, पूर्वाधारचाहिँ राम्रो बनेको थियो ।

निजी क्षेत्रले गरेको काम देखेर म पटकपटक आश्चर्यचकित भएको थिएँ । स्थानीयस्तरमै युवाहरू सिजनमा काम गर्ने र अफसिजनमा पढ्ने रै’छन् । ‘एकेडेमिकल्ली ‘साउन्ड’ पनि पाएँ उनीहरूलाई ।
म त्यहाँ जानुको अर्थ पनि के हो भने मैले २–४ जनालाई मात्रै पनि अनुभव सेयर गरेर पठाउन सकेँ भने हाम्रो पर्यटन क्षेत्रका लागि गरेको योगदान हुनेछ ।
विदेशी मात्रै होइन, नेपालीहरूलाई त्यो ठाउँ देखाउनुपर्छ । यस्ता अनुभवले हामीलाई रिस्क लिन सिकाउँछ । जिन्दगी जिउन सिकाउँछन् हिमाल र प्रकृतिले ।
बिस्तारै जानुस्, अवश्य पनि गन्तव्यमा पुगिन्छ, छिटोछिटो गएर चिप्लियो भने फेरि स्ट्रगल गर्नुपर्छ – हाम्रो जीवनसँग ठ्याक्कै मेल खाने । मैले मेरो गन्तव्य त देखेकै थिएँ, चुचुरो देख्दा हातले नै छोइरहौँ जस्तो, त्यहीँ बसिरहौँ जस्तो लाग्ने । घिस्रिएर पुगिँदैनथ्यो, तर, बिस्तारै हिँडेर पुगेर त आएँ नि !
बाटोमा अवरोधहरू धेरै आउँछन् । अगाडि पूरै बाटो देखिँदैन । पूरै बादल लागेको । अब त सास फेर्न सकिँदैन कि, मरिन्छ कि क्या हो भन्ने धेरैपल्ट हुन्थ्यो । त्यहाँ चलेको हुरीको वेग हजार थप्पड हानेको भन्दा बढीजस्तो लाग्ने ।
मिरापिकको चुचुरोनजिकै ओडारजस्तो ठाउँमा एकजना दाइले क्यान्टिन चलाएर बस्नुभएको रहेछ ।
त्यहाँ हेर्दा चिया मात्रै पाउला जस्तो थियो । तर, त्यहाँ सबै खानेकुरा पाइँदो रहेछ । टेन्टभित्र बस्नुपर्ने । धेरैमाथि । त्यहाँभन्दा माथि कुनै रेस्टुरेन्ट नै थिएन । ठूलो हुरीले टेन्ट समेत उडाइदियो एक दिन ।
त्यहाँ शौचालयको अभाव । नुहाउन त झनै के सकिने ! शौचालयको अभाव भएपछि धेरै कुराको अभाव त आफैँ हुँदो रहेछ । हिमालको चुचुरोनजिकै एउटा शौचालय पनि छैन । अनि, पर्यटक यता र उता छरिएर फोहोर विसर्जन गर्नुपर्ने अवस्था ।

हिमाललाई त हामी पूजा पनि गर्छौं नि ! तर, त्यहाँ पुगेपछि फोहोर विसर्जन गर्नुपर्ने विडम्बना ।
स्थानीय सरकारले पनि ध्यान दिएको रहेनछ । यसबारे स्थानीयदेखि केन्द्रसम्मका सरकारलाई ध्यानाकर्षण गराउने योजना बनाएको छु ।
माइनस १५ को जाडो थेग्न सार्है गाह्रो । पर्यटकहरू त्यस स्थानमा थाकेर पुग्छन्, तर पूर्वाधारको कमी हुँदा समस्या ।
थाकेर गइसकेपछि सुत्ने ठाउँ हुनुपर्ने । भोलिपल्ट हिमाल चढ्नु छ, हिमाल चढ्ने मान्छेहरू २ बजेदेखि हिँड्न सुरु गर्छन् । सनराइज हेर्छन् । ९ बजेसम्म फर्किइसक्नुपर्छ ।
त्यस ठाउँमा हामी दुई रात बस्यौँ । अनि, उकालो चढ्न थाल्यौँ तेस्रो दिन । उकालैउकालो एकदमै सकसपूर्ण यात्रा । प्रसवपीडाजस्तो अवस्था । तर, चुचुरोमा पुगिसकेपछि सबै पीडाहरू बिर्सियौँ ।
चुचुरोमा पुगिसकेपछि त झर्नु मात्रै त थियो । झर्न पनि सजिलो त छैन । डोरीबाट सेफ्टीसहित झरिन्छ । लडियो भने त्यही डोरीले नै बचाउँछ । तर, सुरक्षामा कुनै सम्झौता र खेलबाडचाहिँ गर्नु हुँदैन ।

चुचुरोमा पुगेपछि सगरमाथा नजिकै देखिने । तलबाट हेर्दा हिमाल ठूलो देखिन्थ्यो, तर त्यहाँबाट हेर्दा हिमाल सानो देखिने । हवाईजहाजमा चढ्दा देखिने हिमालमा आफैँ पुगेर आफ्नै पाइला राख्दाको आनन्द बयान गर्नै नसकिने । त्यहाँको अनुभूति म शब्दमा वर्णन गर्नै सक्दिनँ । नेपाललाई प्रकृतिले निकै ठूलो उपहार दिएको छ । हामीले हामीसँगै रहेको त्यस्तो अमूल्य उपहारलाई व्यवस्थित पनि गर्न सकेका छैनौँ । त्यसले कताकता मनमा अमिलो हुँदो रहेछ । त्यहाँ पुगेपछि मलाई लाग्यो– अब हिमालका तस्बिर मैले हवाईजहाजबाट खिच्नु पर्दैन ।
राज्यको काम
राज्यले पूर्वाधारमै लगानी गर्नुपर्छ । लुक्लामा तीन सयवटा जहाज ल्यान्डिङ हुने विमानस्थलको हालत हेर्नुहोस् त, त्यहाँ त राज्यको उपस्थिति दह्रो हुनु पर्दैन ?
संसारका पर्यटकलाई केही नयाँ कुरा त देखाउन पनि सक्नुपर्छ नि ! त्यो ठाउँमा संसारभरका पर्यटक पुग्छन् । निजी क्षेत्रले संरचना बनाएको छ । तर, राज्यको उपस्थिति नै देखिँदैन ।
राज्य भनेको खाली कर मात्रै लिने संस्था होइन भन्ने पार्न सक्नुपर्छ । बलियो उपस्थिति देखाउन सक्नुपर्छ ।
हामी प्रकृतिमा यति धनी छौँ, तर दरिद्रताले बस्नुपर्ने बाध्यता छ । हामीले जति सम्झौता गर्छौं, त्यति संसारभरबाट हेपिनुपर्ने अवस्था आउँछ । हाम्रा हिमाल बचाएको सरकारले होइन, त्यहीँका स्थानीय र गाइडले नै हो रहेछ भन्ने निष्कर्षमा म पुगेँ ।
त्यो एकदमै राम्रो कुरा हो । माथिमाथि सोलारमै भर पर्नुपरेको अवस्था छ । यहाँ बिजुली कहाँ फालौँ भन्ने अवस्था छ । यो बिजुली राज्यले त्यहाँ पुर्याइदिन सक्दैन ? लघुजलविद्युत् आयोजना निर्माण गरिदिन सक्छ । त्यहाँ बत्ती मात्रै बाल्ने हो, उद्योग चलाउने त होइन नि !
सबै सामानहरू हेलिकोप्टरबाटै ढुवानी गर्दा महँगो पर्ने नै भयो । सामान मात्रै ल्याउन र लैजान रोपवे बनाइदिने हो भने निजी क्षेत्रको कस्तो उपस्थिति हुन्थ्यो होला ? तर, सरकारले गरिदिएन । सरकारले नबुझेर होइन, नगरेकै हो । सरकारमाथि दबाब पनि आवश्यक छ ।
रोकिने छैन मेरो यात्रा
म आजभन्दा १५ दिनअघि मात्रै मिरापिकको चुचुरो पुगेँ । दुई वर्षभित्र अमादब्लम हिमाल जान्छु । पाँच वर्षभित्र सगरमाथाको चुचुरोमा पुग्ने लक्ष्य लिएको छु ।
हिमाल पुग्नु भनेको शान्त अनुभूति गर्नु पनि हो । त्यो आनन्दको अनुभूति र शान्तिको अनुभूति यहाँ बसेर प्राप्त हुँदैन ।

त्यहाँबाट फर्किएपछि मेरो जीवनमै परिवर्तन भएको महसुस गरेको छु । १० वर्षभित्रमा नभएको परिवर्तन मेरो शरीरले देखाएको छ ।
मिरापिक पुगेर मैले गल्फ पनि हानेँ । म गल्फ पनि निरन्तर खेलिरहने व्यक्ति हुँ । मिरापिकबाट सगरमाथातिर फर्किएर गल्फ हानेँ । चुचुरोमा पुगेपछि मैले विराटनगर किंग्सको झन्डा पनि फहराएँ । म विराटनगर किंग्सको एक लगानीकर्तामध्येको पनि हुँ ।
म विराटनगरबाट काठमाडौं आउँदा होस् या अन्य कुनै पनि स्थानको यात्रा गर्दा, जहाजबाट सकेसम्म हिमालका तस्बिर लिने प्रयास गरिरहन्थेँ । चुचुरोमा पुगेपछि फेरि लाग्यो– मलाई अब जहाजबाट हिमालको तस्बिर खिच्नु छैन ।
(प्याकुरेल युवा व्यवसायी हुन् । उनी उद्योग संगठन मोरङका पूर्वअध्यक्ष पनि हुन् । )