काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाबारे जाँचबुझ गर्न गठित आयोगले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूको बयान लिने तयारी गरेको छ ।
आयोग स्रोतका अनुसार, मंगलबार (मंसिर २३) सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) राजु अर्यालयलाई बयानमा बोलाउने तयारी छ ।
अर्यालको बयान सकिएलगत्तै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई आयोगले यही साता बोलाउने तयारी गरेको छ ।
हालका आईजीपी कार्की उक्त प्रदर्शनका समयमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख (एआईजी) थिए । उनीसँग सोही भूमिकाका बारेमा आयोगले बयान लिने तयारी गरेको हो । प्रहरी प्रमुखको भूमिकाका बारेमा भने आयोगले तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङको बयान लिइसकेको छ ।
गएको भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा ७६ जनाको मृत्यु भएको थियो । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनाएको छ ।