काठमाडौं । उच्चपदस्थ १० व्यक्तिको हत्या गर्ने बताउँदै चर्चामा आएका प्रकाश पाठक आपराधिक पृष्ठभूमिका व्यक्ति भएको खुलेको छ । पाठकविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले विशेष टोली बनाउँदै अनुसन्धान थालेको छ ।
सामाजिक सञ्जालमार्फत उनले उच्चपदस्थ १० व्यक्तिको नाम किटान गरी हत्या गर्ने योजना सार्वजनिक गरेका थिए । पाठकनिकटका तीन व्यक्तिलाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।
काठमाडौंका परिसरका प्रमुख एवं एसएसपी रमेश थापाले पक्राउ परेकामाथि अनुसन्धान जारी रहेको जानकारी दिए । उनले बाह्रखरीसित भने, ‘‘हामी अनुसन्धानकै क्रममा छौँ । पक्राउ परेका व्यक्तिहरुको भूमिका के कस्तो छ हेरिरहेको छौँ ।’’
तर, गिरोहका मुख्य योजनाकार काभ्रेको तेमाल गाउँपालिका–१ का ३३ वर्षीय प्रकाश पाठक भएको खुलेको छ । पाठकको पृष्ठभूमि ठगी तथा अरू आपराधिक कार्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)मा पाठकमाथि यसअघि चार अपराधमा मुद्दा चलाइएको भेटिएको छ । उनीमाथि सार्वजनिक अपराधदेखि ठगी तथा आपराधिक विश्वास, आपराधिक लाभमा मुद्दा चलाइएको खुलेको हो ।
पाठकविरुद्ध प्रहरीले पहिलोपटक ०७० असारमा मुद्दा चलाएको देखिएको छ । त्यति बेला उनीविरुद्ध प्रहरी वृत्त बौद्धबाट सार्वजनिक कसुरमा मुद्दा चलाइएको थियो ।
पाठकविरुद्ध ०७६ मा आपराधिक विश्वासघात तथा आपराधिक लाभको कसुरमा दोस्रो मुद्दा चलाइएको खुलेको छ । त्यति बेला बाँकेको नेपालगन्ज उपमहानगरपालिका–९ का दिवस बिसीलाई एमबीबीएस अध्ययन गर्न भरतपुर मेडिकल कलेजमा नाम निकालिदिने भन्दै उनले १२ लाख रुपैयाँ ठगी गरेका प्रहरी रेकर्ड छ ।
अर्को ठगीको उजुरीमा पाठक फरार भएको खुलेको छ । ०८० मंसिरमा काठमाडौं प्रहरीमा उजुरी परेपछि उनी फरार छन् । उनले ६ जनाबाट ६५ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिइएको हो । वैदेशिक रोजगारीका निम्ति विदेश पठाउने भन्दै पाठकले ठगी गरेको आरोप छ ।
पाठकले व्यवसायीबाट रकम असुल्न १० उच्चपदस्थ व्यक्तिको नाम लिँदै ज्यान मार्ने धम्की दिएको प्रहरी अधिकारीको आशंका छ । केही दिनअघि मिति उल्लेख नगरी दुई पृष्ठ लामो पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उनले १० उच्चपदस्थ व्यक्तिको हत्या गर्ने धम्की दिएका थिए ।
एक्स्ट्रीमिस्ट ग्रुप अफ नेपाल (ईएनजी) भनी लेटरहेडमा लेखिएको पत्रमा ‘चेयरम्यान’ भनेर प्रकाश पाठकको नाम उल्लेख छ ।
त्यसलगत्तै एउटा भिडियो सन्देश सार्वजनिक गर्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई १० दिनभित्र राजीनामा दिन धम्की दिएका थिए ।
कहाँ छन् पाठक ?
प्रहरीले उनीनिकट तीनजनालाई पक्राउ गर्यो । तर, पाठकलाई पक्राउ गर्न सकेको छैन । पाठकलाई पक्राउ गर्न प्रहरीका युनिट खटाइएको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले नेपाल र भारतबाहेक पाठक तेस्रो मुलुक पुगेको जिकिर गरे । प्रकाश पाठक नामक एक फेसबुक आईडीमार्फत उनले प्रहरीले आफ्ना साथीहरूलाई पक्राउ गरेर आतंक मच्चाउन खोजेको भन्दै पुनः अर्को धम्की दिएका छन् ।
उनले उक्त भिडियोमा प्रेमकुमार राईकै निर्देशनमा प्रहरीले आफ्ना साथीहरूलाई पक्राउ गरेको आरोप लगाएका छन् । आफूलाई समेत पक्राउ गर्न प्रहरीले प्रयास गरे पनि सफल नभएको उनको भनाइ छ ।
पछिल्लो समय आफू एक घण्टामा चार नयाँनयाँ ठाउँ परिवर्तन गर्दै हिँडिरहेको उनले भिडियोमा बताएका छन् ।
