काठमाडौं । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्ट्राचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
मंगलबार (मंसिर २३) विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्लीराज श्रेष्ठको इजलासले अधिकारीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि अधिकारी थुनामा गएका छन् ।
"आजको थुनछेक आदेशमा प्रतिवादी प्रदीप अधिकारीलाई ५ लाख धरौटी माग भएकोमा निज प्रतिवादी अर्को मुद्दामा थुनामै रहेको र आजको इजलासबाट माग भएको धरौटी रकम नबुझाएकोले थुनामै पठाइएको छ," विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले भने ।
इजलासले तत्कालीन प्रबन्धक मुरारी भण्डारीलाई भने १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि भण्डारी भने १ लाख धरौटी बुझाएर रिहा भएको रेग्मीले जानकारी दिए ।
"अर्का प्रतिवादी मुरारी भण्डारीलाई १ लाख धरौटी माग भएकोमा धरौटी रकम बुझाएर जानुभएको छ," सूचना अधिकारी रेग्मीले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै अधिकारीसहितविरूद्ध मुद्दा दायर गरेको थियो । सो मुद्दामा अख्तियारले तत्कालीन मन्त्रीहरू डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्यका साथै १० जना तत्कालीन सचिवहसहित ५५ जनालाई विपक्षी बनाएको छ । मुद्दामा आठ अर्ब बिगो दाबी गरिएको छ ।
पोखरा विमानस्थल निर्माणमा महानिर्देशक अधिकारी आयोजना प्रमुख भएर भ्रष्टाचार गरेको निष्कर्ष निकाल्दै संसदीय समितिले कारबाहीका लागि अख्तियारमा सिफारिस गरेका थियो ।