site stats
बाह्रखरी :: Baahrakhari
खेल
काठमाण्डू र लुम्बिनी : ‘प्लेयर्स टु वाच’ का चार खेलाडी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको ‘इलिमिनेटर’ मा बुधबार (मंसिर २४) काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् । 

लिग चरणमा काठमाण्डू र लुम्बिनीले क्रमशः तेस्रो र चौथो स्थानमा रही इलिमिनेटरमा स्थान बनाएका हुन् । लिग चरणमा सात खेल खेल्दा काठमाण्डूले पाँच र लुम्बिनीले चार खेलमा जित हासिल गरेका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशलामा हुने खेल आज (बुधबार) अपराह्न ४ः०० बजे हुनेछ ।

‘प्लेयर्स टू वाच’

रोहितकुमार पौडेल (लुम्बिनी लायन्स)

अघिल्लो संस्करणको तुलनामा यस संस्करण फड्को मारेको लुम्बिनीका ‘गेम चेन्जर’ हुन्- कप्तान रोहितकुमार पौडेल । रोहितले ब्याटिङ, फिल्डिङ र बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका छन् ।

रोहितले ब्याटिङतर्फ २०८ रन जोडेका छन् । उनी प्रतियोगितामा हालसम्म सर्वाधिक रन बनाउने पाँचौँ खेलाडी हुन् । उनको ब्याटिङ स्ट्राइक रेट ९९.०४ को छ । त्यसैगरी, बलिङतर्फ उनको नाममा चार विकेट छ ।

यही प्रदर्शनका कारण काठमाण्डूविरुद्धको रोहितको लयले लुम्बिनीको आगामी यात्रामा महत्त्वपूर्ण भूमिका खेल्ने पक्का छ ।

शेर मल्ल (लुम्बिनी लायन्स)

यो संस्करण लुम्बिनीको उत्कृष्ट बलिङमा सबैभन्दा महत्त्वपूर्ण भूमिका बलर शेर मल्लको छ । उनको इनिङ लुम्बिनीको निम्ति निर्णायक बनेका छन् ।

शेरले सात इनिङ खेल्दा १० विकेट लिएका छन् । उनको इकोनोमी रेट ६.७९ को मात्रै छ । उनले यस संस्करण सात खेलमा २४ ओभर बलिङ गर्दा १६३ रन खर्चिएका छन् । तल्लोक्रमको ब्याटिङमा पनि शेरले महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् ।

करण केसी (काठमाण्डू गोर्खाज)

यस संस्करण काठमाण्डू गोर्खाजको उत्कृष्ट लयमा सबैभन्दा महत्त्वपूर्ण भूमिका कप्तान तथा अलराउन्डर करण केसीको छ । उनी ब्याटिङ, बलिङ र फिल्डिङमा तीनै विधामा ‘फिट’ छन् ।

करणले बलिङतर्फ १२ विकेट लिएका छन् । उनले २७.१ ओभर बलिङ गर्दा १९८ रन खर्चिएका छन् । ब्याटितर्फ उनले ४० रन जोडेका छन् । बलिङ र ब्याटिङ दुवैमा टिमलाई आवश्यक पर्दा करण संकटमोचक बन्दै आएका छन् ।

बेन चार्ल्सवर्थ (काठमाण्डू गोर्खाज)

पहिलोपटक नेपालको फ्रेन्चाइज क्रिकेटमा पाइला टेकेका बेन चार्ल्सवर्थले काठमाण्डूबाट सात इनिङ खेल्दा १९७ रन जोडेका छन् । उनले लिग चरणमा पोखरा एभेन्जर्सविरुद्ध ५५ बल खेल्दै ६४ रनको अर्धशतकीय इनिङ खेलेका थिए । उनले प्रतियोगितामा १२७.०९ स्ट्राइक रेटसहित ब्याटिङ गरिरहेका छन् । आजको खेलमा चार्ल्सवर्थको इनिङ लुम्बिनीका निम्ति समस्या बन्न सक्छ ।

आजको खेलमा जित निकाल्ने टिमले दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यसअघि पहिलो क्वालिफायरमा विराटनगरविरुद्ध ७७ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो । प्रतियोगिताको दोस्रो क्वालिफायर बिहीबार कीर्तिपुरमै हुने तालिका छ ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १४:४२
प्रतिक्रिया दिनुहोस्