site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनपीएलको टिकटमा क्यानको मनोमानी, सामान्य जोनलाई 'प्रिमियम' बनाउँदै मूल्य दोब्बर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघिको मूल्यसूचीअनुसार नै दोस्रो क्वालिफायर र फाइनलअघि टिकटको मूल्य बढाएको जनाएको छ ।

क्यानले प्रतियोगिताअन्तर्गत बिहीबार हुने तालिका रहेको दोस्रो क्वालिफायरका निम्ति एनसेल जोन, सिद्धार्थ बैंक जोन र रेडबुल जोनलाई ‘प्रिमियम’ भन्दै टिकट मूल्य २ हजार तोकेको छ । यसअघि पहिलो क्वालिफायर र इलिमिनेटरसम्म यी तीन वटै क्षेत्रको मूल्य १ हजार रुपैयाँ मात्रै थियो ।

क्यानले दोस्रो संस्करणअघि कात्तिक २७ गते टिकट मूल्य सार्वजनिक गर्दा उद्घाटन र शनिबारका खेलका निम्ति सामान्यतर्फ ५०० र १५०० रुपैयाँ तोकेको थियो । यस्तै, शनिबारबाहेक अन्य दिनका खेलका निम्ति सामान्यतर्फ ५०० र प्रिमियमतर्फ १ हजार रुपैयाँ तोक्दा प्लेअफ र फाइनलका निम्ति १ हजार र २००० हजार रुपैयाँ टिकट मूल्य राखेको थियो ।

तर, यसअघि सामान्य प्यारापिटमै रहेको एनसेल, सिद्धार्थ र रेडबुल जोनलाई दोस्रो क्वालिफायरअघि मात्रै प्रिमियम जोनमा राखिएको हो । यही कारण, अहिले सामाजिक सञ्जालमा क्यानको चर्को आलोचना भइरहेको छ ।

यता, क्यानका प्रवक्ता छुम्बी लामा भने यसअघि प्लेअफ र फाइनलका निम्ति प्रिमियमको मूल्य फरक हुने जनाइएअनुसार नै दोस्रो क्वालिफायरअघि मूल्य बढाइएको बताउँछन् । “हामीले प्रतियोगिताअघि सार्वजनिक गरेको मूल्यसूचीअनुसार नै प्रिमियम जोनको मूल्य बढेको हो । त्यसबेला नै प्लेअफ र फाइनलमा प्रिमियमतर्फको मूल्य फरक हुने बताएका थियौँ,” प्रवक्ता लामाले भने ।

तर, उनले यसअघि सामान्य जोन रहेका एनसेल, सिद्धार्थ र रेडबुल जोन कुन आधारमा प्रिमियममा बढुवा भन्नेबारे भने जवाफ दिन सकेनन् । यसअघि टिकटका निम्ति हानाथाप हुने भए पनि प्रिमियम बनाइएका यी तीनै जोनको टिकट अझै बाँकी छन् । क्यानले यसअघि चोभार जोनलाई मात्रै प्रिमियममा राखेको थियो । त्यो जोनको मात्रै प्लेअफलाई २ हजार मूल्य तोकिएको थियो ।

क्यानले जोन १, जोन २ र जोन ३ को भने एक हजार रुपैयाँ नै यथावत् छ ।

npl-zone-1765444396.jpg
 

 

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १४:५८
प्रतिक्रिया दिनुहोस्