site stats
बाह्रखरी :: Baahrakhari
देश
भिजिट भिसा अनियमितता प्रकरण : भट्टराई, अर्यालसहित सातजना र दुई कम्पनीविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा दुई कर्मचारीसहित सातजना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ । बिहीबार (मंसिर २५) अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन अधिकारीद्वय तीर्थराज भट्टराई र यज्ञराज अर्यालमाथि भ्रष्टाचार मुद्दा लगाइएको छ । दुई ट्राभल एजेन्सी, त्यसका तीन सञ्चालक र अरू दुईजनालाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, सहसचिव भट्टराई, सीआईएसटी ल्याबकी सहायक कविता पौडेल र जग्गा व्यवसायी ख्यामप्रसाद सुवेदीलाई घुस लिएको रकमको उपयोगमा काम गरेबापत सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएको छ ।

भ्रष्टाचार मुद्दामा ग्रीनलाइन होलिडेज प्रालि, त्यसका सञ्चालकद्वय बालकृष्ण खड्का र राम खड्का तथा फेमिली होलिडेज ट्राभल्स एन्ड टुर्स र त्यसका सञ्चालक दीपक भण्डारीलाई पनि प्रतिवादी बनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १६:१८
प्रतिक्रिया दिनुहोस्