site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
त्यो चेकपोस्ट, यो चेकपोस्ट

काठमाडौंतिरबाट थानकोट नपुग्दै एउटा प्रहरी चौकी आइपुग्छ, जसलाई चेकपोस्ट भनिन्छ । किनभने त्यहाँ ‘चेक’ हुन्छ । अर्थात् पैदल यात्रुदेखि गाडीसम्म त्यहाँका प्रहरीले नजाँची कतै जान पाइँदैन । 

यो चेकपोस्ट कहिले स्थापना भयो, त्यो मलाई थाहा छैन । म सानै छँदा पनि चेकपोस्ट नै भनिन्थ्यो । अहिले पनि चेकपोस्ट नै भनिन्छ । 

शाब्दिक अर्थ नबुझ्नेले अर्थात् चेकपोस्ट भनेको अंग्रेजी शब्द हो भन्ने थाहा नपाउनेले पनि चेकपोस्ट भनेको त्यही चोकको नाम हो भनेर नै बुझ्छन् । 

चेकपोस्टभन्दा माथि धेरै गाउँ छन्– महादेवस्थान, गोदाम, थानकोट, चन्द्रागिरि आदि । चित्लाङ जानेहरू पनि यहीँबाट जाने गर्थे । 

५० वर्षअघिको चेकपोस्ट सानो टहरा थियो । प्रहरी त्यहीँ काम गर्थे । त्यतिबेला साना कार र मोटरसाइकल चल्दैनथे । सबै  ट्रक, बस, लहरीहरू हुन्थे । 

सबैले त्यहाँ राखिएको ढड्डामा नाम लेखाउनु/टिपाउनु पथ्र्यो । पछि, कतै नियम नभए पनि नाम टिपाउनुका साथै निश्चित रकम दिएर पनि जानुपथ्र्यो, मानौँ त्यो कुनै दर्ताशुल्क होस् । 

माथि गाउँका मानिस भेटघाट गर्ने थलो पनि त्यही नै हो । त्यो सानो चोकमा सडकसँग जोडिएका करिब २० घर थिए । कतिपय घर त्रिभुवन राजपथ बनेलगत्तै बनेका थिए । 

त्रिभुवन राजपथ बनिसकेपछि नजिकको गाउँ र बस्तीको आडमा बनेका बजारमध्ये एक थियो, चेकपोस्ट । त्यहाँ खुद्रा पसल, मिठाई पसल, कपडा पसल, भट्टी आदि सबै थिए । 

गाउँलेहरूले खर्च गर्ने थलो त्यही थियो । सडकसँग जोडेर घर बनाउनुको प्रमुख उद्देश्य के हुन्थ्यो भने तल पसल हुन्थ्यो र माथि बसोबास । 

अर्को शब्दमा भन्ने हो भने स्वरोजगारको थलो थियो । मानिस गुजाराका लागि अन्त जानै पर्दैनथ्यो । पहिले घरमा काठकै दलिन र पसल कवल हुन्थे । घरधनी नै पसलवाला हुन्थे । 

बिहान सबेरै उठेर बेलुकी अँध्यारो हुँदासम्म पसल खोल्नु नै हातमुख जोर्ने बाटो हुन्थ्यो । अधिकांश घर दुईतलाका हुन्थे । 

कसैले चारतलाका घर बनाए भने धनी भएको भनेर बुझिन्थ्यो । घर बनाउन कतै अनुमति लिन, नक्सा पास गर्न, कर तिर्न पर्दैनथ्यो । 

घर बनाउने भनेपछि गाउँकै डकर्मी/सिकर्मी जम्मा हुन्थे । र, यसरी नै त्यो टोल बनेको थियो । 

त्रिभुवन राजपथ बनिसकेपछि सडक किनारामा रुख रोपिएको थियो । अन्दाजी प्रत्येक २० फिटको दूरीमा एउटा रुख हुन्थ्यो । र, पैदल यात्रुलाई त्यो रुखले धेरै राहत दिन्थ्यो ।

यता कालिमाटीदेखि नै हिँड्दै जाने हो भने सडकको दायाँबायाँ रुखले राम्रो सेवा गरिरहेका हुन्थे ।

म संयोगवश हिजो चेकपोस्ट गएँ । अहिलेको चेकपोस्टलाई ५० वर्षअघिको चेकपोस्टसँग मनमनै तुलना गरेँ । ५० वर्षअघि चेकपोस्टमा हरियाली थियो । घरहरू राम्रै थिए । 

चेकपोस्टका प्रहरी र स्थानीय जनताबीच राम्रो सद्भाव थियो । दुवै पक्षले एकअर्कालाइ सहयोग गर्थे । 

०३१ मा सरकारले सडक विस्तारको कानुन ल्यायो । सडकको केन्द्रबाट आठ मिटर दायाँबायाँ गरी जम्मा १६ मिटरको सडक बनाउने भयो । 

आठ मिटर बनाउँदा कसको के कति जमिन र घर पर्छ, त्यसको नापी भयो । ती जमिन र घरको मुआब्जा दियो । र, केही वर्ष लगाएर बिस्तारै नयाँ सिमाना र मापदण्डमा नयाँ घरहरू बने । 

त्यतिबेला सरकारले नभने पनि घरअगाडि गाडी रोक्न, धान सुकाउन मिल्ने गरी मनग्य जमिन छोडेर घर बनाउने चलन थियो । 

पछि २५ मिटर दायाँबायाँ घर नबनाउन सरकारी उर्दी जारी भयो । जमिन भने जनताकै, घरचाहिँ बनाउन नपाउने ! राजमार्गको मापदण्ड । 

त्यसैकारण कलंकीदेखि थानकोटसम्म ठूला घर बन्न सकेनन् । चेकपोस्टमा पनि राजमार्गको मापदण्डमा परेर नयाँ घर बनेन । कतिपय अस्थायी प्रकारका घर बने । 

०७० देखि ०७५ सम्म सरकारले सडक २२ मिटरको बनायो । भएका घर भत्कायो, जमिन कब्जा गर्‍यो, मुआब्जा पनि दिएन । 

कुरो सर्वोच्च अदालतसम्म पुग्यो । अदालतले मुआब्जा नदिई घर नभत्काउनु भन्ने निर्णय पनि गर्‍यो । तर, जुनसुकै सरकार आए पनि सडकछेउका घर कुन बेला बिनासूचना बिनामुआब्जा भत्किने हो, थाहा छैन । 

यसको एउटा नमुना हो, चेकपोस्ट । जहाँ चेकपोस्टको भवन मात्र भव्य छ । जनताको घर भने ५० वर्षअघिको भन्दा पनि दयनीय छ । 

 

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  ०७:००
प्रतिक्रिया दिनुहोस्