कुमाराज सुवेदी
ए, मान्छे बन्न नसकेको मुन्छे
अज्ञानताले अँध्यारो नछिचोल्दा
र,
तिमीले नस्विकारेर भगवान् त अविनाशी भएनन्
तिमी त केवल एउटा मनुवा हौ
ए मान्छे बन्न नसकेको मुन्छे
सत्य, मोक्ष र समय
सत्यसँगै विष्णु जन्मिए
मोक्षसँगै शिव
उनको ताण्डवले धरा डगमगाउँथ्यो
र, नृत्यले भत्काउँथ्यो संसारलाई
अन्यायको संहार गर्न
बलवान् छ समय
सधैँ तिम्रो वशमा नहुन सक्छ
सत्य, मोक्ष र समय
यता जिउँदै, उता मृत्युपश्चात्
मान या नमान
समय र मृत्युका अधिपति कालभैरव
अस्तित्वमा छन् मान्नेका लागि
नमान्नेका लागि आँखैअगाडि छन्
भगवानरूपी नरहरू
हिसाब सबको हुन्छ
जन्म र मृत्युको चक्रमा छन् सब चरहरू
नमान ठीक छ– हुन्छौ खरानी
त्यसैले नर्क नपर्नू दुईपटक
यता जिउँदै, उता मृत्युपश्चात्
जालमा परी किचिक्क हुन सक्छौ
माकुराको जालोजस्तै कर्मको छ
किचिक्क पर्छौ छिःछिः लाग्ने कृत्यमा परी
मृत्युलोकमा पनि– यमदेव छँदै छन्
सबका सब कर्मको
हिसाब यिनैको लोकमा हुन्छ
भगवान्हरूको पनि हिसाब राख्नेले
तिमीलाई छाड्दैनन्
विष्णु तुलसी बने
सीता जिउँदै अग्निमा होमिनुपर्यो
तिमी त केवल मनुवा हौ
किचिक्क हुन सक्छौ कुनै बखत
त्यसैले अमर हुने नसोच
यो विशाल धराको कमिलो हौ
जालमा परी किचिक्क हुन सक्छौ
च्याँ–च्याँ च्याँ–च्याँ च्याँ–च्याँ
नरले सुन्नेछन् चीत्कार
सालिकै ठडिएछन् भने पनि
ढाल्छन् झुटो इतिहास लेखिएछ भने पनि
जिउँदै घिसार्छन्, लतार्छन्
चिथोरिन्छौ अन्यायमा परेका औंलाहरूले
सद्दाम ढले, गद्दाफी लछारिए
मुजिबुर रहमानको इतिहास च्यातियो
सुध्र, नत्र उध्रिन्छौ, गुमनाम हुन्छौ
धागो छुटेको नाइलनको वस्त्रझैँ
प्रवासमा हराएकी हसिनाझैँ
तर,
रोदन परसम्म सुनिन्छ
च्याँ–च्याँ च्याँ–च्याँ च्याँ–च्याँ
त्यसैले तिमी, तिमी हुनू तिमी
कोही विदेशी वादको पिछलग्गु नहुनू
छलकपटमा पासा पल्ट्याउने
दुर्योधन, शकुनी नहुनू
घर जल्यो केही छैन
फेरि खाँबो गाडौँला
भोलि थर र हर एकैचोट भए
लोकले नकार्छ
इतिहासले सराप्छ
भगवान्को जन्म र तिम्रो मृत्यु
संयोग मात्र नहुन सक्छ
त्यसैले तिमी, तिमी हुनू तिमी
(हाल अस्ट्रेलिया)