काठमाडौं । ‘पहिलो उपाधि माता सीतालाई, दोस्रो गौतम बुद्धलाई ।’ एनपीएल दोस्रो संस्करणअघि विजेताले पाउने ‘ट्रफी टुर’ लुम्बिनीमा पुग्दाको नारा थियो यो ।
यही नाराजस्तै शनिबार उपाधि भिड्न्तमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको च्याम्पियन बन्यो लुम्बिनी लायन्स ।
एनपीएलले दुई संस्करणको विजेता पाउँदा दुवैमा फाइनल खेलेको सुदूरपश्चिम फेरि उपविजेतामै सीमित रह्यो । पहिलो संस्करणको फाइनलमा सुदूरलाई जनकपुर बोल्ट्सले फाइनलमा पाँच विकेटले निराश बनाएको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भरिभराउ दर्शकमाझ सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले नौ ओभरमा चार विकेट गुमाएर भेट्टायो । त्यसअघि पहिलो इनिङमा टस जितेर ब्याटिङमा आउने कप्तान दीपेन्द्रसिंह ऐरीको निर्णय सही बन्न नसक्दा सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै समेटिएको थियो ।
जितले लुम्बिनीलाई च्याम्पियन बनाउँदा जितका आधारमा प्रतियोगिताकै सबैभन्दा सफल टोली (कुल १८ खेलमध्ये १४ जित) सुदूरपश्चिमको उपाधि प्रतिक्षा कम्तिमा तेस्रो संस्करणसम्म लम्बियो ।
“साच्चै भन्नुपर्दा हाम्रो लागि यो सपना पूरा भएको पल थियो,” जितपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले भने । रोहित, जो पछिल्लो तीन वर्षयता नेपाली राष्ट्रिय क्रिकेट टिमको नियमित कप्तानी जिम्मेवारीमा समेत छन् ।
प्लेअफमा मुस्किलले प्रवेश, ट्रफीमा सहज कब्जा
निक्कै कठिन समीकरण पार गरेर प्लेअफमा आइपुगेको टिम हो, लुम्बिनी । चितवन राइनोजविरुद्ध ६ विकेटको जितसहित दोस्रो संस्करणको सुरुआत गरे पनि लुम्बिनीले यसपछिका लगातार तीन खेलमा पराजय व्यहोर्यो । दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध नौ विकेटको, तेस्रो खेलमा काठमाण्डू गोर्खाजविरुद्ध २२ रनको र चौथो खेलमा सुदूरपश्चिमसँगै सात विकेटको हारपछि लुम्बिनीलाई प्लेअफ पुग्न नै बाँकी तीन खेलमा जित्नैपर्ने दबाब थियो ।
गत सिजन पुछारमा रहँदै प्रतियोगिता टुंग्याएको र यो सिजन पनि पहिलो खेलपछि लगातार तीन खेल हार्दा लुम्बिनीका मालिक ईश्वर जिसीले नै सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका थिए । उनले सामाजिक सञ्जालमै लेखे, ‘इज इट नट इनफ नाउ (अब पनि पुगेन) ।’ तर, रोमाञ्चक संयोग नै भन्नुपर्छ, जिसीको यो पोस्टपछि लुम्बिनी प्रतियोगिताका पछिल्ला ६ खेलमा अपराजित रह्यो ।
पाँचौँ खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सविरुद्ध तीन विकेटको, छैटौँ खेलमा विराटनगर किंग्सविरुद्ध पाँच विकेटको र सातौँ खेलमा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध चार विकेटको जित निकालेको थियो ।
लिगका सातमध्ये चार जित र तीन हारसहित चौथो स्थानमा रहँदै मुस्किलले प्लेअफ आएको लुम्बिनीले इलिमिनेटमा राजधानीको टोली काठमाण्डू गोर्खाजविरुद्ध चार विकेटको जित निकाल्यो । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ४० रनको जितपछि लुम्बिनीले फाइनलमा स्थान बनाएको थियो ।
फाइनलअघिसम्मको यात्रा असहज रहे पनि लुम्बिनीले शनिबार उपाधि जित्न भने धेरै संघर्ष गर्नुपरेन ।
८६ रनको सामान्य लक्ष्यसहित मैदान उत्रिएको लुम्बिनीलाई ओपनर दीनेश अधिकारीले विस्फोटक सुरुआत दिलाए । उनले सुदूरपश्चिमबाट दोस्रो इनिङको पहिलो ओभर बलिङ गर्न आएका कप्तान दीपेन्द्रसिंह ऐरीलाई लगातार चार छक्का प्रहार गरे । दीपेन्द्रको पहिलो ओभरमै २७ रन बनाउँदै दीनेशले लुम्बिनीको जितलाई झनै सहज बनाएका थिए ।
पावर प्ले समाप्त हुँदासम्म ७२ रन जोडेको लुम्बिनीले दुई विकेटमात्रै गुमाएको थियो । दीनेशले आक्रामक इनिङ (१३ बलमा ४२ रन) खेल्दा लुम्बिनीलाई जितका निम्ति १४ ओभरमा १४ रनको मात्रै आवश्यकता थियो । जसलाई नवौँ ओभरको अन्तिम बलमा दीलिप नाथले एक रन लिँदै पूरा गरे ।
“जसरी सुदूरपश्चिमले क्रिकेट खेलिरहेको थियो, हामीले ८५मै अलराउट गर्छौं भन्ने सोचेका थिएनौँ । तर, बलिङमा सबैको राम्रो भयो । सबै कुरा मिलेर आएजस्तो लाग्छ आज,” लुम्बिनीका कप्तान रोहितले थपे ।

ह्याट्रिक लिन्छु भन्ने सपनामा पनि सोचेको थिइनँ
सुदूरपश्चिमलाई सस्तैमा समेट्न कसिलो बलिङ गरेका कप्तान रोहित आफैँले ह्याट्रिक लिए । रोहितले ११औँ ओभरमा लगातार तीन विकेट लिएका थिए । रोहितले ११औँ ओभरको चौथो बलमा सुदूरका कप्तान दीपेन्द्रलाई रुबेन ट्रम्पेलमनबाट क्याच गराए । पाँचौँ बलमा दीपक बोहरालाई सन्दीप जोराबाट क्याच गराए । यस्तै, सोही ओभरको अन्तिम बलमा पुनित मेहरालाई एलबीडब्लूको धरापमा पारे ।
एनपीएलको इतिहासमा कुनै पनि बलरले लिएको यो दोस्रो ह्याट्रिक हो । यसअघि प्रतियोगिताको दोस्रो संस्करणमा नै विराटनगर किंग्सका साहब आलमले पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिक लिएका थिए । चार ओभरमा रोहितले १२ रनमात्र खर्चिए । रोहितको इकोनोमी रेट ३.०० को मात्रै रह्यो ।
“सोचेकै थिइन ह्याट्रिक हुन्छ भनेर । ह्याट्रिकबारे सपनामा पनि सोच आउँदैन थियो मेरो । आज सबै कुरा भयो मेरो लागि । आज मेरो दिन राम्रो रहेछ,” ह्याट्रिक क्षणबारे रोहितले हास्दै भने ।
सुदूरपश्चिम रोयल्स : ट्रफीको निकै नजिक, तर अझै धेरै टाढा
गत सिजनको च्याम्पियनले पुछारमा रहँदै लिग टुंग्यायो । सोही सिजन अन्तिम बनेको टिम योपटक च्याम्पियन बन्यो । एनपीएलको दुई सिजनले दुई फरक च्याम्पियन पाउँदा सुदूरपश्चिमको नियती भने उस्तै रह्यो ।
‘सो क्लोज, एट सो फार’ (निक्कै नजिक तर धेरै टाढा) । दुवै संस्करणको फाइनलअघिसम्म उपाधिका निम्ति एक कदममात्रै पर रहेको सुदूरपश्चिमबाट फेरि यो उपाधि निक्कै पर पुगेको छ ।
गएको सिजनजस्तै यो पटक पनि सुदूरपश्चिमले लिग चरणका सातमध्ये ६ खेलमा जितसहित प्लेअफमा निम्ति शीर्ष स्थान कब्जा गरेको थियो । लिग चरणकै लय पहिलो क्वालिफायरमा कायम रहँदा सुदूरपश्चिमले विराटनगर किंग्सलाई ७७ रनको फराकिलो हार चखाएको थियो ।
फाइनलमा लुम्बिनीका बलरसामु ब्याटिङ ‘कोल्याप्स’ हुँदा सुदूरपश्चिम कुनै पनि समय सम्हालिने मौका पाएन । दुई सिजन लगातार उपविजेता बन्दा सुदूरपश्चिमले पहिलो क्वालिफायर जित्ने टिम फाइनलमा पराजित हुने गज्जबको संयोग बनाएको छ । यसअघि गत वर्ष पनि सुदूरपश्चिमले पहिलो क्वालिफायरमा नै जनकपुर बोल्ट्सलाई आठ विकेटले हराएको थियो ।
प्रतियोगिताका दुवै संस्करणमा सुदूरपश्चिमको लय उत्कृष्ट रह्यो । सुदूरले यी दुई संस्करणमा कुल १८ खेल खेल्दा १४ खेलमा जित निकालेको छ । एनपीएलको इतिहासमै सबैभन्दा धेरै खेलमा जित निकाल्ने र सबैभन्दा कम खेलमा हार व्यहोर्ने टिम नै सुदूरपश्चिम हो । तर, पनि फाइनलको ‘डेडलक’ तोड्न नसक्दा अझै कम्तिमा एक वर्ष कुर्नुपर्ने भएको छ ।
लगातार दुई फाइनलमा उस्तै हारपछि सुदूरपश्चिमका प्रशिक्षक जगत टमाटाले भने, “म यसलाई खराब दिन भन्छु । हामीले लगातार राम्रो क्रिकेट खेलिरहेका थियौँ । तर, आज उहाँहरूले राम्रो क्रिकेट खेल्नुभयो ।”
