site stats
बाह्रखरी :: Baahrakhari
देश
५ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम
फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो समय दिनहुँजसो तापक्रम घट्दो क्रममा छ । चिसो बढ्दै गएको छ । काठमाडौं उपत्यकासहित देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार (मंसिर २८) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंमा यस वर्षको मापनमा यो कम तापक्रम हो । आउँदा दिन तापक्रम थप घट्ने सम्भावना हुन्छ ।

सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम शनिबार (मंसिर २७) ५.३, शुक्रबार (मंसिर २६) ५.४ डिग्री थियो ।

आइतबार बिहान महाशाखाले सार्वजनिक गरेको देशका १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –२.१ डिग्री छ । जुम्लाको न्यूनतम तापक्रम शनिबार र शुक्रबार समान –४ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।

adfs-1765684100.jpg
यस दिन डडेलधुराको न्यूनतम तापक्रम ६.१, ताप्लेजुङको ६.४, दिपायलको ७.२, वीरेन्द्रनगरको ८.१, ओखलढुंगाको ८.२, पोखरा र धनकुटाको समान ९. धनगढीको ९.५, घोराहीको ९.९ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

काठमाडौंमा हालसम्मकै न्यून तापक्रम सन् १९७८ मा मापन गरिएको थियो । सन् १९७८ जनवरी ११ मा काठमाडौंको न्यूनतम तापक्रम माइनस ३.५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।

देशमा हाल मौसमसम्बन्धी कुनै चेतावनी जारी गरिएको छैन । यहाँ हाल पश्चिम वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

asdfg-1765684079.JPG
 

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  ०९:३३
प्रतिक्रिया दिनुहोस्