site stats
बाह्रखरी :: Baahrakhari
देश
सिकारीको बन्दुक पड्कँदा...
प्रतीकात्मक तस्बिर ।

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६, सिस्नेरीपखेरा जंगलमा सिकार गर्न हिँडेका सिकारीको भरुवा बन्दुक पड्कँदा सहकर्मीको मृत्यु भएको छ ।

जंगलमा राक्सिराङ गाउँपालिका–८, राजराङका ४५ वर्षीय गोपाल ब्लोनले बोकेको भरुवा बन्दुक पड्किएर उनीसँगै सिकार गर्न हिँडेका मनहरी–६, बालुभञ्जाङका ५० वर्षीय सेते थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी पुष्कर बोगटीका अनुसार, ब्लोन र थिङ दुवैजनासँगै एकएकथान भरुवा बन्दुक बोकेर जंगलमा सिकार गर्न हिँडेका थिए । अगाडि हिँडिरहेका ब्लोन लहरामा अल्झिएर लडेपछि अचानक बन्दुक पड्किएको थियो । थिङ पछिपछि आइरहेका थिए । त्यही बेला बन्दुकको गोली लागेर घटनास्थलमै थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचरीबाट खटिएको टोलीले दुवै हतियारसहित ब्लोनलाई पक्राउ गरेको डीएसपी बोगटीले बताए ।

थिङको शव परीक्षणका निम्ति अस्पताल ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ । रासस

 

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  ०९:११
प्रतिक्रिया दिनुहोस्