site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनपीएल फाइनलमा क्यान कर्मचारीसँग गरुड सेक्युरिटीको लफडा, भएको के हो ?
तस्बिर स्रोत : एनपी स्टोरी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको फाइनल खेलमा सुरक्षाका निम्ति खटिएका गरुड सेक्युरिटीका कर्मचारी र नेपाल क्रिकेट संघ (क्यान)का प्रतिनिधिबीच हातपात भएको भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । 

शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । फाइनलपछि मैदानभित्रै गरुडका कर्मचारीले क्यानको कार्डवाहक व्यक्तिलाई मुक्का हानेका थिए । 

यसबारे जानकारी लिन खोज्दा क्यानका एक सदस्यले घटनाको वास्तविकताबारे छानबिन भइरहेको बताए । 

“प्रतियोगिताको सुरक्षाका निम्ति जिम्मेवारी पाएको गार्ड नै क्यानको स्टाफमाथि कुटपिटमा ओर्लिए । के भएको थियो भन्ने हामीले हेरिरहेका छौँ । सीसीटिभी फुटेजबाट त्यहाँ भएको घटना छानबिन हुँदै छ,” क्यानका एक केन्द्रीय सदस्यले बाह्रखरीसँग भने, “यसअघि पत्रकारसँग धक्कामुक्की भयो । गरुडले माफी मागेपछि घटना शान्त भएको थियो । त्यसको केही दिनपछि नै झन ठूलो लफडा भयो । गल्ती के हो र कसरी कुटपिटसम्मको स्थिति बन्यो भन्ने विषयमा छानबिन भइरहेको छ ।”

यसअघि प्रतियोगिताकै दौरान रिपोर्टिङका निम्ति पुगेका पत्रकारमाथि पनि अभद्र व्यवहार गरेपछि गरुडका प्रतिनिधिले माफी मागेका थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १३:०८
प्रतिक्रिया दिनुहोस्