site stats
बाह्रखरी :: Baahrakhari
देश
बालेन भन्छन्- १८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य छ, कति भयो प्रगति ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताएका छन् ।

काठमाडौं महानगरपालिकाले सोमबार (मंसिर २९) टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा आयोजित समारोहमा बालेनले २ खर्ब मूल्य बराबरको उक्त जग्गा फिर्ता गराउने लक्ष्य राखेको बताएका हुन् । आफूहरू निर्वाचित भएर आएपछि २३ अर्ब रुपैयाँ मूल्य बराबरको २ सय ८ रोपनी बढी सार्वजानिक जग्गा फिर्ता गरेको बालेनले बताए ।

सार्वजानिक जग्गा फिर्ता ल्याउने कार्यमा सबैको सहयोग रहने अपेक्षा रहेको उनले बताए । "हामी काठमाडौं महानगरमा आएपछि २३ अर्ब रुपैयाँ मूल्य बराबरको २०८ रोपनीभन्दा धेरै सार्वजानिक जग्गा फिर्ता गरिसकेका छौँ," बालेनले भने, "हाम्रो लक्ष्य करिब २ खर्ब मूल्य बराबरको १ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने रहेको छ । यस कार्यमा सबैबाट साथ र सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा राखेका छौँ ।"

महानगरले २ अर्ब ८६ करोड रुपैयाँ बराबरको पूर्वाधार योजना सम्पन्न गरेको बालेनले जानाकारी दिए । धुलोरहित कार्यक्रमअन्तर्गत ५५ वटा सडक सुधार र ६२ वटा चोकमा हाई मास लाईट जडान गरिएको उनको भनाइ छ ।

सडकबत्तीको गुणस्तर वृद्धि गर्न र रात्रिकालीन शहरी सौन्दर्य बढाउन ५ हजार ३ सय १८ वटा पोलमा १३ हजार ३ सय ४० वटा बत्ती राखेर शहरलाई उज्यालो बनाउन लागिएको पनि उनले जानकारी दिए । महानगरले करिब ९१ करोड लागत बराबरको सम्पदा संरक्षणको काम गरेको पनि उनको भनाइ छ ।

"गएको वर्ष हामीले करिब २ अर्ब ८६ करोड रुपैयाँ बराबरको पूर्वाधार योजना सम्पन्न गरेका थियौँ । करिब ९१ करोड लागत बराबरको सम्पदा संरक्षण काम गर्न यसबाट २७६ मूर्तसम्बन्धी सम्पदासम्बन्धी आयोजना र १२५ वटा अमूर्त सम्पदासम्बन्धि कार्यक्रम सञ्चालन भए,’ बालेनले भने ।

महानगरले १ हजार ८६ जना विपन्न नागरिकलाई उपचार गर्न सिफारिस गरेको र २१० जनालाई निःशुल्क उपाचार गरिएको बालेनको भनाइ छ ।

बालेनले महानगरले चालु खर्च कम र पुँजीगत खर्च बढी गर्ने गरी काम गरिरहेको पनि बताए । महानगरले वातावरण सुधार, धुलोरहीत सडक, फोहोर व्यवस्थापन, व्यवस्थित र उज्यालो सहर निर्माणलाई विशेष प्राथमिकतामा राखेर कार्य गरिरहेको उनको भनाइ छ । न्युज एजेन्सी नेपाल 
 

 

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १३:५९
प्रतिक्रिया दिनुहोस्