site stats
बाह्रखरी :: Baahrakhari
खेल
एन्फा यू–१६ यूथ लिग : फ्रेन्ड्स र मनाङ विजयी

काठमाडौं । फ्रेन्ड्स क्लब कुपन्डोलले एन्फा यू–१६ युथ लिगमा श्री भगवती क्लबविरुद्ध ३–१ को सहज जित निकालेको छ । 

सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा फ्रेन्ड्सलाई जित दिलाउन सदानन्दमास्की मगरले दुई गोल गरे । सुजन विकले एक गोल गरे । भगवतीले भने एक गोल आत्मघाती उपहार पाएको थियो । 

खेलको १७औँ मिनेटमा फ्रेन्ड्सका इर्फान अलिबाट आत्मघाती गोल भएपछि भगवतीले १–० को अग्रता बनायो । तर, भगवतीले यो अग्रता जोगाउन नसक्दा फ्रेन्ड्सले एक मिनटको अन्तरालमा पुनरागमन गर्‍यो । 

१८औँ मिनेटमा फ्रेन्ड्सको निम्ति टोलीका सदानन्दले बराबरी गोल फर्काए । ५५औँ मिनेटमा उनै सदानन्दले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ को अग्रतामा राखे । 

७७औँ मिनेटमा सुजनले गोल गरेपछि फ्रेन्ड्सले ३–१ को जित पक्का गरेको हो । 

जितसँगै फ्रेन्ड्सले तालिकामा ४२ अंक जोडेको छ । फ्रेन्ड्सले २० खेल खेल्दा १३ जित, तीन बराबरी र चार हारसहित यो नतिजा आत्मसाथ गरेको हो । पराजित भगवती भने २३ अंकमा सीमित छ । 

आजै लिगअन्तर्गत दिउँसो भएको खेलमा मनाङ मर्स्याङदी क्लबले विभागीय टिम त्रिभुवन आर्मी क्लबविरुद्ध ५–० को फराकिलो जित निकालेको छ । मनाङको जितमा प्रकाश सिंहले चार र रोहन थापामगरले एक गोल गरेका थिए । 

जितसँगै मनाङले तालिकामा १९ खेल खल्दा १३ जित, दुई बराबरी र तीन हारसहित ४१ अंक जोडेको छ ।

 

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १७:५१
प्रतिक्रिया दिनुहोस्