site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यले लिए शपथ
तस्बिर : केशव थापा/प्रधानमन्त्रीको सचिवालय

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा. सुनीति श्रेष्ठ (हाडा) ले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

मंगलबार (पुस १) आयोजित एक कार्यक्रममाझ उपाध्यक्ष श्रेष्ठले आयोगका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीसमक्ष शपथग्रहण गरेका हुन् । त्यसलगत्तै सदस्य हाडाले प्रधानमन्त्री कार्कीको उपस्थितिमा उपाध्यक्ष श्रेष्ठसमक्ष शपथग्रहण गरिन् ।

कार्यक्रममा योजना आयोगका सदस्य एवं मुख्यसचिव सुमनराज अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, आयोगका सचिव रविलाल पन्थलगायत सरकारी उच्च अधिकारीहरूको उपस्थिति थियो ।

शपथपछि प्रधानमन्त्री कार्कीले नवनियुक्त उपाध्यक्ष र सदस्यलाई बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएकी उनको सचिवालयले जनाएको छ । अहिलेको मुलुकको अवस्थाको राम्रोसँग अध्ययन गरी र जेनजी युवाको आकांक्षाबमोजिमका योजनाको तयारी गर्न उनले निर्देशन दिइन् ।

"हामीले तपाईंहरूलाई विज्ञका रूपमा यो जिम्मेवारी दिएका हौँ," कार्कीले भनिन्, "मुलुकको अहिलेको परिस्थितिबारे जानकार नै हुनुहुन्छ । यो परिस्थिति बुझेर हामीले पाइला चाल्नुपर्नेछ । देशका योजना तथा कार्यक्रमहरू पनि परिवर्तनका लागि युवाले गरेको आन्दोलनको भावनाअनुरूप तर्जुमा गर्नुपर्छ । अहिलेको परिस्थितिको राम्रोसँग अध्ययन गरी मुलुकको साख उठाउने हिसाबले काम गर्नुपर्छ । मलाई आशा छ, तपाईंहरू यस कार्यमा सफल हुनुहुनेछ ।"

मन्त्रिपरिषद्को सोमबारको बैठकले आयोगका उपाध्यक्ष र सदस्य नियुक्तिसम्बन्धी निर्णय गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १६:५९
प्रतिक्रिया दिनुहोस्