काठमाडौं । भुटानी टिम ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले आज साफ क्लब महिला च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा नस्रिन स्पोटर्स एकेडेमीसँग खेल्दै छ । खेलमा दुवै टोली सान्तवना जितको खोजिमा हुनेछन् । यी दुवै प्रतियोगिताको जितविहिन टिम हुन् ।
दुवै टिम फाइनल छनोटबाट बाहिरिसकेका छन् । ट्रान्सपोर्ट गत आइतबार एपीएफले कराचीलाई १–० ले पराजित गरेपछि स्वत फाइनल छनोटबाट बाहिरिएको थियो । प्रतियोगितामा हालसम्म तीन खेल खेलेको ट्रान्सपोर्टले दुई बराबरी र एक हरासहित दुई अंक जोडेको छ ।
बंगलादेश भने गत आइतबार भारतीय क्लब इस्ट बंगालसँग ७–० ले पराजित भएसँगै फाइनल छनोटबाट बाहिरिएको हो । प्रतियोगितामा हालसम्म तीन खेल खेलेको बंगलादेशले एक बराबरी र दुई हारसँगै एक अंक जोडेको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल दिउँसो २ बजे सुरु हुनेछ ।
आजै हुने अर्काे खेलमा घरेलु टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले समूह चरणको अन्तिम खेलमा ‘टेबल लिडर’ भारतीय टिम इस्ट बंगाल एफसीसँग खेल्दै छ । खेलमा एपीएफ तेस्रो जितको खोजीमा हुनेछ । एपीएफले यसअघि पहिलो खेलमा बंगलादेशी टिम नस्रिन स्पोर्टस एकेडेमीलाई ४–०, तेस्रो खेलमा पाकिस्तानी टिम कराची सिटी एफसीलाई १–० ले पराजित गर्दा भुटानी टिम ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीसँग गोलरहित बराबरी गरेको थियो ।
इस्ट बंगाल भने अपराजित रहँदै समूह चरण टुङ्ग्याउने लक्ष्यमा रहने छ । इस्ट बंगालले हालसम्म तीन खेल खेल्दा शतप्रतिशत जित निकालेको छ । इस्ट बंगालले ट्रान्सपोर्टलाई ४–०, कराचीलाई २–० र नस्रिनलाई ७–० ले पराजित गरेको थियो ।
खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजेबाट सुरु हुनेछ । यी दुवै टिम प्रतियोगिताको फाइनलमा स्थान बनाइसकेका टिम हुन् ।
इस्ट बंगालले गत आइतबार नस्रिनलाई ७–० ले पराजित गर्दै फाइलनमा स्थान बनाएको थियो । सोही दिन २ बजे भएको खेलमा एपीएफले कराचीलाई १–० ले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको थियो ।
एपीएफले हालसम्म तीन खेल खेल्दा दुई जित र एक बराबरीसहित सात अंक जोडेको छ । इस्ट बंगालले भने तीन खेलमा तीन जित निकाल्दै नौ अंक जोडेको छ ।