site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चितवनमा हात्ती महोत्सव हुँदै

काठमाडौं । चितवनको पर्यटन प्रवर्द्धन गर्न सौराहमा ‘१७औँ चितवन पर्यटन तथा हात्ती महोत्सव’ आयोजना गरिने भएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महोत्सव आगामी पुस १० देखि १४ गतेसम्म चितवनको सौराहमा हुने जानकारी दिइएको हो । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती संचालन र रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह–आयोजनामा महोत्सव हुन लागेको हो ।

चितवनको सौराहामा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्न महोत्सव गर्न लागिएको हान चितवन च्याप्टरका कोषाध्यक्ष माधव दुवाडीले बताए ।

वन्यजन्तुको संरक्षणमा सचेतना जगाउन र हात्तीबाट खेलिने मनोरञ्जनात्मक गतिविधि, हात्तीका विभिन्न खेल, अन्य प्रतियोगिताका साथै सांस्कृतिक कार्यक्रम गरी पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले हात्ती महोत्सवको आयोजना गरिएको दुवाडीले जानकारी दिए ।

विगतका वर्षहरूमा पशुअधिकारवादीहरूले हात्तीलाई बढी दुःख र दबाब दिएर खेलहरू खेलाइएको विरोध भइरहेको भन्दै पछिल्ला वर्षहरूमा हात्तीमैत्री खेललाई प्राथमिकता दिइएको हानका अध्यक्ष विनायक शाहले बताए ।

महोत्सवमा वन्यजन्तुलाई माया गर्नुपर्छ भन्ने सन्देश दिनका लागि हात्ती वनभोज, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको दिनचार्यबारे जानकारी दिइने शाहले बताए ।

यस्तै, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरूसँग बीटूबी, खेलकुद प्रतियोगिता, चितवनमा पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया कार्यक्रम, स्थानीय भेषभुषा तथा कला संकृतिको प्रर्दशन गरिने छ । कोराना भाइरसको महामारी कारण तीन वर्ष महोत्सव रोकिएको थियो । 

विस्तारै पर्यटन क्षेत्र लयमा फर्किन थालेपछि महोत्सव गर्न लागिएको यसले चितवनको पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण  भूमिका खेल्ने कोषाध्यक्ष दुवाडीले जानकारी दिए । 

“कोरोनाका कारण रोकिएको महोत्सव फेरि सुरुआत गर्न पाउँदा हामी निकै नै खुसी छाँै । चितवन पर्यटन तथा हात्ती महोत्सवको आफ्नै गौरवशाली इतिहास छ,” उनले भने, “यस महोत्सवले चितवनको पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ ।”

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १९:३८
प्रतिक्रिया दिनुहोस्