काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालनमा ल्याइएको ‘सिटिजन्स सदाबहार योजना’मा यही असार २७ गतेसम्म आवेदन दिन सकिने भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक र सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो योजना असार १३ देखि बैंकिङ समयसम्म इकाइ बिक्रीका निम्ति खुला गरिएको हो ।
इकाइधनीले म्यादभित्र अर्थात् असार २७ साँझ ५ बजेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
योजनाअन्तर्गत न्यूनतम १०० देखि अधिकतम पाँच लाख इकाइसम्म खरिद गर्न सकिने बैंकले जनाएको छ । प्रतिइकाइको मूल्य १० रुपैयाँ तोकिएको छ ।
यसानुसार न्यूनतम एक हजारदेखि अधिकतम पाँच करोड रुपैयाँसम्म लगानी गर्न सकिनेछ । योजनाको औसत वार्षिक प्रतिफल १५.१०% हुने प्रक्षेपण गरिएको बैंकको दाबी छ ।
लगानीकर्ताले आफ्नो मेरोसेयर खाताबाट वा सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखामा गई आवेदन दिन सक्नेछन् ।