काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफू नयाँ स्टक एक्सचेन्ज चाहिने बुझाइमा रहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बिहीबार (असार २६) निम्त्याइएका उनले विभिन्न अध्ययनको निष्कर्षले नयाँ स्टक चाहिने देखाएको बताएका हुन् ।
“दोस्रो स्टक एक्सचेन्जको विषयमा धेरैअगाडिबाट विभिन्न चरणमा अध्ययन भएको अवस्था छ । सबै स्टडीले दोस्रो स्टक एक्सचेन्ज दिँदा हुन्छ भन्ने नै मेरो बुझाइ छ, मैले देखेको पनि त्यही हो,” उनले भने, “म आइसकेपछि नेपाल सरकारबाट जे निर्देशन आएको छ, म त्यहीअनुसार अगाडि बढेको छु ।”
हाल नयाँ स्टक एक्सचेन्ज दिने प्रक्रिया धेरैअगाडि पुगेको र बीचमा एक ‘स्टेज’मा रोकिएको उनले उल्लेख गरे ।
प्रिमियममा आईपीओ निष्कासन गर्न दिने व्यवस्था नियमावलीमा स्पष्ट भएकाले सोहीअनुसार आफूहरूले स्वीकृति दिएको उनले बताए ।