काठमाडौं । नेपाली चलचित्र उद्योगमा पछिल्लो समय बायोपिक बनाउने क्रम बाक्लिएको छ । कोही व्यक्तिविशेषको जीवन संघर्षमा आधारित रहेर चलचित्र बनाउनेक्रम बाक्लिएको हो ।
‘आदिकवि भानुभक्त’बाट सुरु बायोपिक बनाउने कार्य ‘क्याप्टेन साब’सम्म आइपुगेको छ । सन् १९९९ अर्थात् २६ वर्षअगाडि नेपाली चलचित्र उद्योगमा बायोपिक बनाउन सुरु गरिएको थियो । निर्देशक यादव खरेलले त्यति बेला आदिकवि भानुभक्त आचार्यको जीवन कहानीमा आधारित रहेर ‘आदिकवि भानुभक्त’ निर्देशन गरेका थिए ।
त्यसपछि लामो समय नेपाली चलचित्र उद्योगमा बायोपिक बनाइएन । पछिल्लो समय फेरि बायोपिक बनाउनेक्रम बढेको छ ।
सात वर्षअगाडि चलचित्र ‘ब्लाइन्ड रक्स’ बनाइयो । मिलन चाम्स निर्देशित यो चलचित्र दृष्टिविहीन सृष्टि केसीको जीवन संघर्षमा आधारित थियो ।
‘अञ्जिला’ केही समयअगाडि रिलिज गरेर सुपरहिट भएको चलचित्र हो । यो चलचित्रलाई पनि मिलनले नै निर्देशन गरेका थिए ।
नेपाली महिला फुटबल टिमकी तत्कालीन कप्तान अञ्जिला तुम्बाप्पो सुब्बाको बायोपिक थियो, ‘अञ्जिला’ । बक्सअफिसमा सुपरहिट भएको यो चलचित्रले मिश्रित समीक्षा पाएको थियो ।
चलचित्र ‘मेयर’ निर्माण भइसकेको छ । सर्लाहीको वाग्मती नगरपालिकाका मेयर भरतकुमार थापाको जीवन कहानीमा निर्मित ‘मेयर’ पनि बायोपिक हो ।
दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रमा भरत थापाको क्यारेक्टरमा खगेन्द्र लामिछाने छन् । तर, यो चलचित्र निर्माणको वर्ष दिन बितिसके पनि रिलिज गरिएको छैन ।
दीपेन्द्रले नै गएको बिहीबार नेपाली चलचित्र उद्योगमा हालसम्मकै कान्छो बायोपिक मुभी घोषणा गरेका छन् । उनले सिनेमाको नाम राखेका छन्, ‘क्याप्टेन साब’ । ‘क्याप्टेन साब’ सञ्चारउद्यमी तथा हेलिकोप्टर सञ्चालक क्याप्टेन रामेश्वर थापाको जीवनीमा आधारित रहेर यो चलचित्र बनाइनेछ ।
बायोपिक भन्नेबित्तिकै ‘नेम’ र ‘फ्रेम’ दुवै भएका व्यक्तिको कथा हुन्छ । ‘मेरो बायोपिक बनाइदिनुस्’ भन्दै निर्देशकसम्म पुग्ने व्यक्तिले चलचित्रमा आफैँ लगानी गर्छन् । तर, कतिपय बायोपिक निर्देशक आफैँले खोजेर बनाउँछन् । त्यसनिम्ति निर्देशक स्वयंले बजेट जुटाउनुपर्ने मिलन चाम्स बताउँछन् ।
“अञ्जिला सफल भएपछि बायोपिक पनि चल्ने रहेछ भन्ने भएको छ । त्यसयता मलाई थुप्रैले बायोपिकका लागि अफर गर्नुभएको छ,” निर्देशक मिलन भन्छन्, “तर, अधिकांशको अफरमा मैले गर्न सकिन्न नै भनेको छु ।”
बायोपिक बनाइदिन आग्रह गर्नेमा नेतादेखि व्यवसायीसम्म रहेका उनी सुनाउँछन् । “एकजना ठूलै नेता जसलाई प्रायः अधिकांशले चिन्नुहुन्छ, उहाँले मेरो बायोपिक बनाइदिनुपर्यो भन्नुभएको छ,” मिलन भन्छन्, “तर, मैले उहाँको बायोपिक बनाउन उचित ठानिनँ ।”
आफूले वर्षौंदेखि काम गर्न चाहेको माउन्टेनिरिङ (हिमाल आरोही)बाट पनि उनलाई अफर आएको छ । त्यसनिम्ति उनी सकारात्मक छन् । “मैले धेरै वर्षअगाडिदेखि सगरमाथा आरोहीको बायोपिक बनाउन चाहेको थिएँ,” उनी भन्छन्, “किनभने, पहिलो कुरा त विदेशीलाई सगरमाथा चिनाउन र दोस्रो कुरा आफैँलाई पनि शेर्पा र हिमाली समुदायको कथा भन्न पाइन्छ ।”
हिमाल आरोहीको बायोपिक बनाउनेबारे आफू छलफलमा रहेको उनले बताए ।
बायोपिक बनाउन चुनौतीपूर्ण रहेको मिलनको अनुभव छ । कतिपय सन्दर्भमा धेरै स्वतन्त्रता खोज्न निर्देशकले नैतिक रूपमा नमिल्ने र व्यक्ति स्वयंले पनि नदिने हुँदा सिनेमामा ढाल्न कठिन हुने उनी बताउँछन् ।
“अरू चलचित्रमा नबिग्रिने गरी जताजता कथा चलाए पनि हुन्छ । जतिसुकै लिबर्टी लिएर पनि काम गर्न सकिन्छ । तर, बायोपिकमा त्यस्तो हुँदैन,” मिलन भन्छन्, “बायोपिक त हातखुट्टा बाँधेर पौडी खेल भनेर नदीमा फालिदिएजस्तै हो । जसको कथा हो उसलाई यसो गरौँ न भन्दा होइन, हुँदैन भनेर मान्नु हुन्न । देखाउने तपाईंले भनेजस्तै हो, तर चलचित्रमा यसरी बुझाउनुपर्छ भनेर उहाँहरूलाई बुझाउन कठिन हुन्छ ।”
कतिपय अवस्थामा चलचित्र छायांकनको बीचमा नै बायोपिकवाला व्यक्तिसँगको मतभेदले सिनेमा बिग्रिने सम्भावना हुने उनी प्रस्ट पार्छन् ।
रियल पात्रलाई अभिनय गराउँदा ननएक्टर भएकाले काम निकाल्नै सकस हुन्छ । त्यसमा एक्टरलाई अभिनय गराउँदा रियल पात्रको अब्जरमा पर्याप्त समय खर्चिनुपर्दा समस्या हुने उनको अनुभव छ । रियल पात्रको जेस्चर, पोस्चरलगायत सम्पूर्ण विषयमा ध्यान दिनुपर्दा एक्टरले पनि त्यति नै मिहिनेत गर्नुपर्ने उनी बताउँछन् ।
अभिनेता खगेन्द्र लामिछाने फिक्सनल कथाका सिनेमाभन्दा बायोपिकमा काम गर्न डर लाग्ने गरेको बताउँछन् । क्यारेक्टरमा धेरै फ्रिडम नपाइने भएकाले बायोपिकको अफर आउँदा हच्किने गरेको उनी सुनाउँछन् ।
“अरूमा भन्दा थोरै डर लाग्छ । तर, क्यारेक्टर कसरी म्याच गर्ने भन्ने एक्टरसँगै डिरेक्टरको पनि कुरा हुन्छ । एक्टरले त डिरेक्टर–एक्टर भएर काम गर्ने हो,” खगेन्द्र भन्छन्, “तर, फिक्सनमा चलचित्र बनाउँदा लिबर्टी लिएर त्यसलाई अझै रुचिकर बनाउन सकिन्छ । बायोपिकमा भने यसमा लिमिटेसन हुन्छ । जो पात्र हो, त्यसलाई फिक्सनलाइज गर्न थाल्यो भने बायोपिक नै नहुने सम्भावना पनि हुन्छ ।” लिमिटेसनभित्र बस्न कठिन हुने उनको भनाइ छ ।
नेपाली चलचित्र उद्योगमा बायोपिक बनाउन त्यति धेरै सहज नरहेको खगेन्द्र बताउँछन् । बजेट र समयका कारण क्यारेक्टरमा नै परिवर्तन ल्याएर काम गर्न सम्भव नहुने उनको बुझाइ छ ।
सानो बजेटमा चलचित्र बनाइने भएकाले सीमित पारिश्रमिक हुने र एक्टरले पनि धेरै समय एउटै सिनेमालाई दिन सक्ने अवस्था नरहने उनी बताउँछन् । “सानो परिधिभित्र बसेर काम गर्दा पनि अधिकतम केसम्म गर्न सकिन्छ त्यो कलाकारले गर्ने हो । म कसैको बायोपिकमा काम गर्दै छु भने म पूरै परिवर्तन हुन सक्दिनँ,” खगेन्द्र भन्छन्, “न म मेयरमा भरतकुमार थापाजस्तै हुनसक्छु न क्याप्टेन साबमा पूरै रामेश्वर थापाजस्तै हुन सक्छु ।”
त्यसैले ‘एक्सटरनलाइज’ हुनेभन्दा पनि ‘इन्टरनलाइज’ पक्षमा जोड दिनुपर्ने उनको धारणा छ । “हाम्रोमा मेकअपमार्फत व्यक्तिको आवरण नै हुबहु देखाउन सकिन्छ ? यति स्किल मेनपावर हाम्रोमा छ,” खगेन्द्र भन्छन् ।
उनीहरूको मनोविज्ञान अध्ययन गरेर सकेसम्म जेस्चर, पोस्चरसहित दर्शकसामु जाने गरेको खगेन्द्र स्पष्ट पार्छन् । उनी आवरण नै हुबहु देखिनुपर्छ भन्ने मान्यता राख्दैनन् । जस्ताको तस्तै देखिने वा स्वर नक्कल गर्नु क्यारिकेचर हुनेमा उनी जोड दिन्छन् ।
“हरेक व्यक्तिको आआफ्नै बुझाइ हुन्छ । आवरण पनि बायोपिक जसको हो त्यस्तै हुनुपर्छ भन्नेहरू पनि हुनुहुन्छ होला । तर, म इन्टरनलाइजमा जोड दिन्छु,” उनी भन्छन्, “रियल व्यक्तिजस्तै गरेर हिँडे पनि त्यति बेला मान्छेलाई छुन्छ, जति बेला एक्टरले उसको भित्री कुरा मिल्छ ।”
“चलचित्र मेयरमा भरत थापा बन्दा उहाँको कपाल छैन, तर मेरा कपाल छ । किन मैले कपाल तालु बनाइनँ भने बाहिरीभन्दा पनि भित्री पक्षमा जोड दिनुपर्छ भन्ने लाग्यो,” खगेन्द्र भन्छन्, “म उहाँको क्यारेक्टर गर्नुभन्दा अगाडि तीनपटक उहाँसँग लामो समय बसेँ । उहाँका काम अध्ययन गरेँ । उहाँबारेका समाचार र अन्तर्वार्ता पढेँ । हेरेँ ।”
थापाका आलोचकसँग पनि उनका खराबपक्षबारे आफूले बुझेको खगेन्द्र स्मरण गर्छन् । आफ्नो समर्थन नगर्ने व्यक्तिसँग थापाले कसरी ‘डिल’ गर्छन् भन्ने पनि आफूले अध्ययन गरेको उनी सुनाउँछन् ।
हाल रामेश्वर थापाका स्वभाव र वास्तविकताबारे आफ्नै हिसाबले उनका नजिकका व्यक्तिसँग बुझ्ने प्रयास गरेको उनी बताउँछन् । यसले बायोपिकलाई जीवन्त बनाउने खगेन्द्रको भनाइ छ ।
बायोपिकमा मुख्यसँगै आउने अरू पात्र पनि त्यत्तिकै महत्वपूर्ण हुने उनी बताउँछन् । “बायोपिकको मुख्य भूमिकामा रहेका व्यक्तिसँग बुवाआमा, दाजुभाइ, दिदीबहिनी, साथीलगायत थुप्रै व्यक्ति समेटिन्छन् । उनीहरूले पनि आवरणमै परिवर्तन गर्छन् भन्ने हुँदैन,” खगेन्द्र भन्छन्, “त्यसैले स्वभाव र मनोविज्ञानमा जोड दिनुपर्छ भन्ने लाग्छ । लुक्सभन्दा पनि साइकोलोजी/एटिच्युडमा काम गर्दा राम्रो हुन्छ भन्ने मेरो निष्कर्ष छ ।”
बडी लुक्समा बायोपिकमा काम गर्दा बजेट, समय, स्किलका विषय अवरोध बन्ने गरेको छ । बलिउडका बायोपिकमा यस्ता विषयमा समस्या नहुने तर नेपालमा यही नै मुख्य अवरोध बन्ने उनी बताउँछन् । बजार र बजेटले धेरै कुरा निर्धारण गर्ने उनको भनाइ छ ।
