site stats
बाह्रखरी :: Baahrakhari
कला
यो वर्ष विष्णु माझीको तिज गीत आउला ?

काठमाडौं । गायिका विष्णु माझीका गीत सधैँ प्रतिक्षीत हुन्छन् । केही वर्षदेखि ‘भूमिगत’ रहेकाले पनि उनका गीतलाई धेरैले पर्खिरहेका हुन्छन् ।

सञ्चारमाध्यममा नआउने, साथीभाइलाई समेत नभेट्ने र वर्षमा एकाधमात्रै गीत आउने गरेकाले उनका गीत धेरैको रोजाइमा पर्ने गरेका छन् ।

पछिल्लो केही वर्षयता उनले तिज गीतमात्रै गाउने गरेकी छन् । तिजमा विष्णु माझीका गीत सर्वाधिक धेरै खोजिनेमा पर्छन् । सामाजिक सञ्जालमा धेरैले भन्ने गरेका छन्– विष्णु माझीका गीत नआएसम्म तिज नै आएजस्तो हुँदैन ।

गत वर्षको तिजमा पनि उनले ‘आइनँ आमा यो तिजमा’ बोलको गीत गाएकी थिइन् । यस गीतले हालसम्म युट्युबमा २२ मिलियन भ्युज पाएको छ ।  

उनका गीतमा विष्णुका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा संगीत हुन्छ । गत वर्ष भिडियो निर्देशन पनि सुन्दरमणि आफैँले गरेका थिए । कोरियोग्राफी भने मौसम हिमालीले गरेका थिए । 

यसपटक विष्णु माझी तिजको गीत लिएर आउँछिन् कि आउँदिनन् ? यो जिज्ञासा धेरैमा छ । तर, भूमिगत प्रायः बस्ने विष्णुले जवाफ दिन्नन् । उनका श्रीमान् सुन्दरमणि पनि सञ्चारमाध्यमबाट सधैँ टाढै रहन्छन् ।

“यो वर्ष तिजमा विष्णु माझीको गीत आउँछ कि आउँदैन भन्ने मलाई पनि थाहा छैन । सुन्दरमणि दाइले अहिलेसम्म केही भन्नुभएको छैन,” मौसम भन्छन्, “उहाँले गीत रेकर्ड गरेर अडियो फाइनल भएपछि भिडियोका लागि अन्तिम समयमा काम गर्नुपर्‍यो भन्नुहुन्छ ।” 

त्यसैले तिज गीत ल्याउने भए पनि सुन्दरमणिले अझै केही समय लगाउने उनी बताउँछन् । विष्णुका तिज गीत तिजको केही हप्ताअगाडि मात्रै निर्माण तथा रिलिज हुने गरेका छन् ।

उनका गीतको भिडियोको कोरियोग्राफी प्रायः शिव बिकले गर्ने गरेका छन् । उनी केही वर्ष अमेरिका रहँदा मौसम हिमालीले गरे । अहिले नेपाल आएका शिवले अन्य म्युजिक भिडियो निर्देशन गरिरहेका छन् । त्यसैले यो वर्ष यदि, विष्णुको गीत आयो भने भिडियोमा कोरियोग्राफी कसले गर्छ निश्चित छैन

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १३:३८
प्रतिक्रिया दिनुहोस्