site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कर्मचारी सञ्चय कोषले पनि घटायो ब्याजदर, कसको कति ?

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलताले गर्दा प्रत्येक महिना ब्याजदर घट्दै गएको छ । आगामी आर्थिक वर्ष साउनका लागि बैंकहरूले निक्षेपमा दिने ब्याजदर ०.२ प्रतिशत विन्दुले घटाएर औसत ५.६९ प्रतिशत कायम गरेका छन् । 

बैंकहरूले ब्याजदर घटाएको असर निवृत्तभरण कोष सञ्चालन गर्दै आएको कर्मचारी सञ्चय कोषलाई पनि परेको छ । दबाबमा परेपछि सञ्चय कोषले सञ्चयकर्तालाई बचतमा दिने र कर्जा दिँदा लिने दुवैको ब्याजदर घटाएको छ । 

यस्तै, सञ्चय कोषले परियोजना कर्जाको ब्याज पनि घटाएको छ ।  कोषले साउन १ गते (बिहीबार) देखि लागु हुने गरी निवृत्तभरण कोषमा प्रदान गर्ने र सञ्चयकर्ता सापटी (ऋण)मा नयाँ ब्याजदर तय गरेको छ । 

सञ्चय कोषका अनुसार, निवृत्तभरण कोषमा प्रदान गर्ने ब्याजदर घटाएर पाँच प्रतिशत कायम गरेको छ । एक प्रतिशत बोनस जोड्दा सञ्चयकर्ताले ६ प्रतिशत ब्याज पाउनेछन् । चालु आर्थिक वर्षमा यस्तो ब्याजदर ६ प्रतिशत छ । साउन १ गतेदेखि निवृत्तिभरण कोषको ब्याजदर ०.५० प्रतिशत विन्दु घटेको छ । 

यस्तै, सञ्चयकर्तालाई दिने ऋणको दर पनि घटेर ६.२५ देखि ७.५० प्रतिशत कायम गरेको कोषका प्रशासक जितेन्द्र धितालले बताए । जसअनुसार विशेष सापटीमा ६.२५, घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ७.२५ र जग्गा किन्न दिने ऋणको ब्याज ७.५ प्रतिशत कायम गरिएको छ । कोषले ०.५ देखि एक प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । 

यस्तै, विशेषबाहेक धितोमा आधारित सापटीको ब्याज निरन्तर भुक्तानी गर्ने सञ्चककर्ताले ०.२५ प्रतिशत विन्दु छुट दिने कोषले जनाएको छ । 

बैंकको ब्याजदर घट्दै गएका कारण कोषले पनि घटाउनु परेको कोषका प्रशासक धितालले बताए ।

अहिले संस्थागत निक्षेपको ब्याजदर घटेको छ । यस्तै, परियोजना कर्जा (प्रोजेक्ट फाइनान्सिङ)को पनि ब्याजदर घटेको छ । परियोजना कर्जाको आधारदर आठ प्रतिशत रहेकोमा साउनदेखि ७.५ प्रतिशतमा कायम हुने भएको छ । यसमा प्रिमियम दुई प्रतिशतसम्म थप्ने कोषले जनाएको छ । प्रिमियम थप्दा ९ देखि साढे ९ प्रतिशतसम्म प्रोजेक्ट फाइनान्स कर्जा रहने देखिएको छ । 

अहिले सञ्चय कोषको पुँजीगत आकार बढेर साढे ६ खर्ब रुपैयाँ पुगिसकेको छ । कोषले विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्धतिमा पौने दुई खर्ब रुपैयाँ राखेको छ । यो कुल पुँजीको ३० प्रतिशत हो । सञ्चय कोषको कुल पुँजी बढेर साढे ६ खर्ब रुपैयाँ पुगेको छ । हाल मुद्धति निक्षेपको ब्याजदर घटेर तीनदेखि चार प्रतिशतमा सीमित भएको छ । ब्याजदर कम हुनेबित्तिकै आम्दानी कम हुन्छ र यसको असर कोषको नाफामा पनि पर्ने छ । 

बैंकमा ब्याजदर बढी भयो भने सञ्चयकर्ताले कोषबाट पैसा झिकेर बैंकमा राख्ने र कम भएका बेला कोषमा ल्याउने चलन रहेको छ । 

अहिले बैंकिङ प्रणालीमा अधिक तरलता छ । हप्तैपिच्छे नेपाल राष्ट्र बैंकले विभिन्न निक्षेप उपकरणमार्फत अर्बौं रुपैयाँ तरलता उठाइरहेको छ । बैंकहरूले दिने मुद्धति निक्षेपको ब्याजदर घटेर तल्लो सीमामा आएपछि अहिले सञ्चय कोषलाई समस्या परेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले बैंक दर, नीतिगत दरलाई घटाएकाले ब्याजदर अझै तल जाने देखिएको छ । यसको असर कोषको आम्दानीमा पर्ने देखिन्छ । 

अहिले घट्दो ब्याजदरले गर्दा कोषले सञ्चयकर्तालाई प्रतिफल र प्रत्याभूति गरेको सुविधा पनि दिन नसक्ने अवस्थामा पुगेको छ । ब्याजदर घट्दा मुद्धति निक्षेपबाट हुने आम्दानीमा भारी गिरावट आएको छ । 

प्रोजेक्ट फाइनान्सिङ हुन नसक्दा कोषको मुद्धति निक्षेपमा थुप्रिएको छ । नेपाल वायुसेवा निगमलाई जहाज किन्न दिएको ऋण उठाउन सकेको छैन । यस्तै, रसुवागढी आयोजनाको बाँध बाढीले क्षति गरेपछि उत्पादन बन्द छ । आयोजनाबाट पाउने किस्ता रोकिएको छ । 

राष्ट्र बैंकका अनुसार, बैंकिङ प्रणालीमा आठ खर्ब रुपैयाँ बढी तरलता रहेको छ । बैंक तथा वित्तीय संस्थामा ७२ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप रहेको छ । ५५ खर्ब ८० अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । बैंकको कर्जा निक्षेप (सीडी रेसियो) ७५.८५  प्रतिशत छ ।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १७:०८
प्रतिक्रिया दिनुहोस्