काठमाडौं । सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१/८२ मा २३ लाख ७९ हजार ५८५ योगदानकर्तालाई दुई अर्ब ८४ करोड ४२ लाख २८ हजार रुपैयाँ ब्याज रकम वितरण गरेको छ ।
कोषले 'वृद्ध अवस्था सुरक्षा योजना'मा उक्त रकम योगदानकर्ताको निवृत्तभरण कोषमा जम्मा भएको रकमको ब्याजबापत वितरण गरेको हो ।
योगदानकर्ताको कोषले आर्थिक वर्ष २०८१/८२ मा जम्मा भएको योगदान रकममा ०८१ चैत ४ गतेसम्म ५.५ प्रतिशत र चैत्र ५ देखि पाँच प्रतिशत ब्याजदर दिने निर्णय गरेको थियो ।सोहीअनुसार कोषले यो रकम योगदानकर्ताको निवृत्तभरण कोषमा जम्मा गरिदिएको हो ।
यो रकम झिक्न भने मिल्दैन । ५८ वर्ष पुगेका योगदानकर्ताले निवृत्तिभरण कोषबाट पेन्सन पाउनेछन् । यदि १८० महिनाभन्दा कम योगदान गरेको छ भने उसले पेन्सन वा सम्पूर्ण पैसा झिक्ने भनेर छनोट गर्न पाउनेछ ।
यसका लागि कोषमा योगदान ५८ वर्षको उमेरसम्म गर्नुपर्ने हुन्छ । तर, अवकाश कोषमा जम्मा भएको रकम भने योगदानकर्ताले काम (जागिर) छोडेपछि झिक्न पाउनेछन् । असार ३२ गतेसम्म कुल योगदान रकम ८३ अर्ब ८५ करोड रुपैयाँ जम्मा भएको छ ।