site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रणालीमा ४३४ मेगावाट बिजुली थपियो, १७ अर्ब भारत निर्यात

काठमाडौं । गत आर्थिक वर्षमा प्रणालीमा ४३४ मेगावाट बिजुली थप भएको छ । जसमा ४०९ मेगावाट जलविद्युत् र २५ मेगावट सोलार गरी उक्त परिमाणको बिजुली थप भएको हो । यस्तै,  वैकल्पिक ऊर्जाबाट ९१ मेगावाट र निर्माण सम्पन्न भई परीक्षणको चरणमा रहेको १९६ मेगावाट जलविद्युत् आयोजनासमेत गरी कुल विद्युत् जडित क्षमता ३८ सय ७८ मेगावाटमा पुर्‍याइएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जानकारी दिएका छन् । 

उर्जा मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएको अवसरमा बिहीबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएका हुन् । 

गत आर्थिक वर्ष २०८१/०८२ मा १७ अर्ब रुपैयाँबराबरको विद्युत् भारत र बंगलादेशमा निर्यात गरिएको छ । यसबीचमा १६ अर्ब नौ करोड रुपैयाँबराबरको विद्युत् आयात गरिएको थियो । विगतमा ठूलो परिमाणमा भइरहेको विद्युत् आयात घटाउँदै लगिएको मन्त्री खड्काले बताएका छन् । गत वर्ष प्राधिकरणले २३ अर्ब रुपैयाँबराबरको बिजुली भारतमा निर्यात गर्ने लक्ष्य लिएको थियो ।

एक वर्षको अवधिमा विद्युत् विकास विभागबाट एक हजार ९५ मेगावाट क्षमताका ८० जलविद्युत् आयोजना र ११ सय ९९ मेगावाट क्षमता भएका ६७ सौर्य आयोजनाहरूको सर्वेक्षण अनुमति जारी गरिएको उनले जानकारी दिए । साथै, १२ सय ४३ मेगावाट क्षमताका ३० जलविद्युत् र ५० मेगावाट क्षमता बराबरका आठ सौर्य आयोजना उत्पादन अनुमति जारी गरिएको उनले पत्रकार सम्मेलनमा सुनाए । 

विद्युत् विकास विभागबाट आठ हजार ७७६ मेगावाट क्षमताका १४७ जलविद्युत् र १८ सय ५१ मेगावाट क्षमता बराबरका ९५ सौर्य आयोजनाहरूको सर्वेक्षण अनुमति जारी गरिएको छ । १० हजार ७५१ मेगावाट क्षमता बराबरका २६४ जलविद्युत् र ९९ मेगावाट क्षमता बराबरका १३ सौर्य गरी कुल १० हजार ८५० मेगावाट क्षमता बराबरको २७७ वटा आयोजनाहरूको उत्पादन अनुमति जारी गरिएको उनले जानकारी दिए । 

वर्तमान सरकारको कार्यकालमा ३०० सर्किट किलोमिटर प्रसारण लाइन तथा ७०० एमभीए क्षमताका सबस्टेसन निर्माण सम्पन्न भएको छ । हालसम्म विभिन्न भोल्टेजस्तरका करिब ६ हजार ८०० सर्किट किलोमिटर प्रसारण लाइन निर्माण तथा १३ हजार ७५४ एमभीए क्षमताका सबस्टेसन आयोजनाहरू सञ्चालनमा रहेका छन् ।

एक वर्षको अवधिमा एक हजार ३१ सर्किट किलोमिटर बराबरका ६० प्रसारण लाइनका लागि सर्वेक्षण अनुमति र २७८ सर्किट किलोमिटर लामो २६ प्रसारण लाइनका लागि प्रसारण अनुमति जारी गरिएको छ ।

हालसम्म ३१ सय ७४ सर्किट किलोमिटरका १४४ प्रसारण लाइन आयोजनाहरूको सर्वेक्षण अनुमति र पाँच हजार ७०६ सर्किट किलोमिटर बराबरका २७१ प्रसारण लाइन आयोजनाहरूका लागि प्रसारण अनुमति जारी भएका छन् ।

यस आर्थिक वर्षमा ३११ वटा चार्जिङ स्टेसन थप भई हालसम्म १५ सय ११ चार्जिङ स्टेसन जडान गरिएको मन्त्री खड्काले जानकारी दिए ।

एक वर्षको अवधिमा रसुवागढी, सान्जेन, मध्यभोटेकोसी आयोजना सञ्चालन ल्याइएका छन् ।

भारतमा ९४१ मेगावाट विद्युत् निर्यात स्वीकृति र एक हजार मेगावाट आयात गर्न सकिने प्रबन्ध मिलाइएको छ । सोही व्यवस्था अनुरुप, वर्खायाममा ८५० मेगावाटसम्म निर्यात गरिएको र सुक्खायाममा ६७० मेगावाटसम्म विद्युत् आयात गरिएको उनले बताए । आर्थिक वर्ष २०८१/०८२ मा १७ सय १२ गिगावाट घण्टा आयात गरिएको छ भने २३ सय ३२ गिगावट घण्टा निर्यात गरिएको मन्त्री खड्काले बताए ।

गत आर्थिक वर्षमा १७ अर्ब रुपैयाँबराबरको विद्युत् निर्यात गरिएको र करिब १६.९ अर्ब रुपैयाँबराबरको विद्युत् आयात गरिएको थियो । विगतमा ठूलो परिमाणमा भइरहेको विद्युत् आयात घटाउँदै लगिएको छ ।

वैकल्पिक ऊर्जाको स्रोत समेत गरी विद्युत् पहुँच ९९ प्रतिशत पुगेको छ ।

कुल आन्तरिक विद्युत् खपत गत आर्थिक वर्ष १२ हजार ७०१ गिगावाट घण्टा रहेकोमा ११ प्रतिशत वृद्धि भई १४ हजार ११५ गिगावाट घण्टा पुगेको छ ।

यसैगरी प्रतिव्यक्ति विद्युत् खपत ४०० युनिटबाट बढेर ४७० युनिट पुगेको मन्त्री खड्काले जानकारी दिए ।

गत वर्ष नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता भई बंगलादेशसँग ऐतिहासिक रूपमा ४० मेगावाट विद्युत् डलर भुक्तानीमा निर्यात प्रारम्भ भएको छ । प्रत्येक वर्ष जुन १५ देखि नोभेम्वर १५ सम्म (वर्षा मौसम, विद्युत् खेर जाने अवस्थामा) बंगलादेशमा विद्युत् निर्यातबाट वार्षिक एक अर्ब २५ करोड रुपैयाँ आम्दानी हुने भएको छ ।

चीनसँग चिलिमे–जिलोंग २२० केभी प्रसारण लाइन सहकार्यमा अघि बढाइएको मन्त्री खड्काले पत्रकार सम्मेलनमा जानकारी दिए । 

प्रधानमन्त्रीसँग भएको कार्यसम्पादन सम्झौताअनुसार कार्ययोजना नै बनाएर मन्त्रालयले ‘डे वान’देखि निरन्तर काम गरी सिँचाइतर्फ ८५ प्रतिशतभन्दा बढी कार्यसम्पादन र समग्र मन्त्रालयको प्रगति ७८.१७ प्रतिशत हासिल गरेको दाबी मन्त्री खड्काको छ ।

खड्काको नेतृत्वमा उर्जा विकास मार्गचित्र २०८१ सार्वजनिक गरी १० वर्षमा अर्थात् सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गरी उर्जा विकास र विस्तार तथा समृद्धिको सपनालाई पूरा गर्ने गरी कार्ययोजना सार्वजनिक गरेको छ । १५ हजार मेगावाट बिजुली भारत र बंगलादेशलाई निर्यात गर्ने सम्झौता भइसकेको छ भने १३ हजार ५०० मेगावाट विद्युत् स्वदेशमै खपत गरिने लक्ष्य लिइएको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  २०:०३
प्रतिक्रिया दिनुहोस्