काठमाडौं । पश्चिम सेती करिडोरअन्तर्गत तीन जलविद्युत् आयोजना र ४०० केभी प्रसारणलाइन निर्माणका निम्ति पाँच संस्थाबीच बहुपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।
पश्चिम सेती करिडोरमा ऊर्जा पूर्वाधार विकासका निम्ति हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपीजीसीएल), चैनपुर सेती जलविद्युत् कम्पनी लिमिटेड (सीजेसीएल), चिलिमे सेती हाइड्रोपावर कम्पनी लिमिटेड (सीएचएससी) र समृद्धि इन्जी लिमिटेड (एसईएल)बीच समझदारी गरिएको हो ।
ऊर्जामन्त्री दीपक खड्काले समझदारीपछि ऊर्जा विकास मार्गचित्रानुसारको लक्ष्य प्राप्तिमा टेवा पुग्ने र प्रसारण संरचनाको अभाव पूर्ति हुने बताए । “ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण आशा जगाएको यस सहकार्यले उत्पादित विद्युत् खेर जाने समस्या अन्त्य गर्नेछ । निजी क्षेत्रलाई उत्पादन र बिक्री गर्न सहज वातावरण बनाउन सरकार प्रतिबद्ध छ,” उनले भने ।
कार्यक्रममा एचआईडीसीएलका प्रमुख कार्यकारी प्रजेशविक्रम थापा, सीजेसीएलका प्रमुख कार्यकारी सागर श्रेष्ठ, सीएचएससीका प्रमुख कार्यकारी अनिलभक्त श्रेष्ठ, एसईएलका प्रबन्ध निर्देशक नारायण आचार्य र अध्यक्ष शैलेन्द्र हुमागाईंले सम्झदारीपत्रमा हस्ताक्षर गरे ।
समझदारीअनुसार, बझाङ–निलेगडा–दोधारा ४०० केभी अन्तरदेशीय प्रसारणलाइन र त्यसमा जोडिने तीन आयोजना—चैनपुर सेती (२१० मेगावाट), सेती नदी–३ (८७ मेगावाट) र बझाङ माथिल्लो सेती (२१६ मेगावाट)को निर्माण, वित्तीय व्यवस्थापन र सञ्चालनमा सहकार्य गरिनेछ । एचआईडीसीएलले परियोजनाको वित्तीय व्यवस्थापनको नेतृत्व गर्नेछ । आरपीजीसीएलले ‘स्पेसल प्रपोज भेहिकल’मार्फत प्रसारणलाइन निर्माणको जिम्मेवारी लिनेछ ।
यी आयोजनामध्ये धेरैले निर्माण अनुमति, वातावरणीय प्रभाव मूल्यांकन, विद्युत् खरिद सम्झौता, ग्रीड जडान र लगानी स्वीकृतिका प्रमुख चरण पार गरिसकेका छन् । प्रसारणलाइनका अध्ययन, डिजाइन र जग्गा अधिग्रहण कार्य समेत सम्पन्न भइसकेका छन् ।
सरकार र निजी क्षेत्रको यो सहकार्यबाट पश्चिम नेपालमा ऊर्जा पूर्वाधार विकासलाई गति दिने, राष्ट्रिय प्रसारण सञ्जाललाई सबल बनाउने र दीर्घकालीन रूपमा नेपाल–भारत विद्युत् व्यापारमा समेत टेवा पुग्ने ऊर्जामन्त्री खड्काले विश्वास व्यक्त गरे ।