काठमाडौं । न्यु इनर्जी भेइकल्स (एनईभी) क्षेत्रमा विश्वकै अग्रणी सवारी निर्माता कम्पनी बीवाईडीले एक करोड ३० लाख युनिट सवारीसाधन उत्पादन गर्दै अर्को महत्त्वपूर्ण माइलस्टोन हासिल गरेको छ । चीनको सेनझेन–शानवेई स्पेसल को–अपरेसन जोनमा रहेको जियाओमो उत्पादन केन्द्रमा याङवाङ यू७ मोडललाई एक करोड ३० लाख सवारीका रूपमा सार्वजनिक गरी यो ऐतिहासिक उपलब्धि मनाइएको हो ।
सन् २०२५ को पहिलो ६ महिनामा बीवाईडीको बिक्री दर निरन्तर बढिरहेको छ । जनवरीदेखि जुनसम्मको अवधिमा कम्पनीको घरेलु बिक्री गत वर्षको सोही अवधिको तुलनामा ३१.५ प्रतिशतले बढेर २१ लाख १३ हजार युनिट पुगेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा पनि बिक्री दर १२८.५ प्रतिशतले बढ्दै चार लाख ७२ हजार युनिटमा पुगेको छ ।
उत्कृष्ट बजार प्रदर्शनका कारण बीवाईडी ग्लोबल न्यु इनर्जी भेइकल बिक्रीमा पहिलो स्थानमा पुग्न सफल भएको छ र एक करोड ३० लाख न्यु इनर्जी सवारी उत्पादन गर्ने विश्वकै पहिलो कम्पनी बनेर यो उद्योगमा ऐतिहासिक उपलब्धि हात पारेको छ ।
कम्पनीले उत्पादन लाइनमा एक करोड ३० लाख युनिट सार्वजनिक गर्दै घरेलु तथा अन्तर्राष्ट्रिय बजारका प्रयोगकर्ताहरूको आशा र विश्वासलाई प्रतिविम्बित गरेको जनाएको छ । याङवाङले १० हजार युनिट बिक्री पार गर्ने चीनको पहिलो अल्ट्रा–लक्जरी अटोमोटिभ ब्रान्डको रूपमा छुट्टै पहिचान बनाएको छ र उच्च–गुणस्तरीय उपभोक्ता बजारमा प्राविधिक निपुणता र ब्रान्डको मूल्यलाई नयाँ उचाइमा पुर्याएको छ ।
याङवाङले हासिल गरेका यी निरन्तर उपलब्धिहरूले चिनियाँ ब्रान्डहरूले उच्च–स्तरीय अटोमोबाइल क्षेत्रमा ऐतिहासिक फड्को मारेको मात्र नभई न्यु इनर्जी युगमा चिनियाँ अटोमोबाइल निर्माता कम्पनीहरूको प्रबल प्रतिस्पर्धात्मक क्षमता र औद्योगिक आत्मविश्वासलाई समेत पुष्टि गरेको बीवाईडीले जनाएको छ ।