काठमाडौं । बीवाईडी समूहले इटालियन क्लब एफसी इन्टरनासियोनाले मिलानो (इन्टर मिलान)सँग तीन वर्षे रणनीतिक साझेदारी घोषणा गरेको छ । यो समझदारीसँगै बीवाईडी समूह इन्टर मिलानको विश्वकै अटोमोटिभ पार्टनर बनेको छ ।
यो सम्झौता अटोमोटिभ र फुटबल क्षेत्रबीचको एक महत्त्वपूर्ण सहकार्य हो ।
चीनमा मुख्यालय रहेको बीवाईडीले हालसम्म ४२ लाखभन्दा बढी विद्युतीय सवारीसाधन बिक्री गरिसकेको छ । जुन अघिल्लो वर्षभन्दा ४१ प्रतिशत बढी हो । इन्टर मिलानको विश्वभर ५३ करोडभन्दा बढी समर्थक छन् । जसमा चीनमा मात्र १५ करोड ४० लाख समर्थक रहेको बताइएको छ ।
सम्झौताअन्तर्गत, बीवाईडी समूहले क्लबको उच्च व्यवस्थापन, प्राविधिक टोली र खेलाडीका लागि करिब ७० वटा विद्युतीय तथा सुपर प्लग–इन हाइब्रिड गाडी उपलब्ध गराउने बताइएको छ । प्रारम्भमा, क्लबलाई बीवाईडी सेएलीएन७ को विशेष संस्करण हस्तान्तरण गरिने बताइएको छ । जुन नेरजुरी (इन्टरको निलो–कालो रङ) रङमा आधारित हुनेछ । सोही गाडी सीमित संस्करणमा समर्थकका लागि पनि उपलब्ध गराइने बताइएको छ ।
"इन्टर मिलानको छिटो विश्वव्यापी विस्तार र कहिल्यै हार नमान्ने ऊर्जा हाम्रो ब्रान्डको सपना र हरित प्रविधिलाई विस्तार गर्ने लक्ष्यसँग मेल खान्छ," बीवाईडी समूहका कार्यकारी उपाध्यक्ष स्टेला लीले भने ।
"बीवाईडी समूहले इन्टरलाई पहिलो साझेदार क्लबका रूपमा रोज्नु हाम्रो ब्रान्डको विश्वव्यापी आकर्षणको प्रमाण हो," क्लबका मुख्य राजस्व अधिकृत जर्जियो रिचीले भने ।
आगामी महिनामा युरोपमा डेन्जा ब्रान्ड विस्तार गर्ने तयारीमा रहेको बीवाईडी समूहका लागि यो साझेदारी उपयोगी हुने बताइएको छ ।