काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले परराष्ट्रमन्त्री आरजु राणा देउवा र मुख्यसचिव एकनारायण अर्यालसँग छुट्टाछुट्टै छलफल गरेको छ । परराष्ट्रमन्त्रीसँगको छलफलमा परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक कूटनीतिलाई जोड दिनुपर्ने बताए ।
उनले स्वदेशी लगानीले मात्रै देशले लिएको लक्ष्य हासिल गर्न सम्भव नभएको हुँदा वैदेशिक लगानी आकर्षित गर्ने कानुनी, नीतिगत एवं सहज व्यावसायिक वातावरण बनाउन आवश्यक रहेको बताए । देशगत रूपमा विशिष्ट आर्थिक रणनीति बनाउन, विदेशी बजारमा नेपाली वस्तुहरूको प्रवर्द्धन गर्न नेपाली दूतावास तथा नियोगहरूलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए ।
परिसंघले आगामी एक दशकभित्र मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलर पुर्याउने र दोहोेरो अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको बताइएको छ ।
परराष्ट्रमन्त्री देउवाले स्वदेशीसँगै विदेशी लगानी बढाउन सरकारले कानुनी एवं नीतिगत सुधारलाई प्राथमिकतामा राखेको बताइन् । सरकारले केही कानुनहरूमा संशोधन गरिसकेको उदाहरण दिँदै अन्य कानुनहरूको संशोधन गर्न लागेको समेत जानकारी गराइन् । निजी क्षेत्रलाई प्रवर्द्धन नगरेसम्म आर्थिक विकास सम्भव नहुने हुँदा निजी क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर रहेको मन्त्री देउवाको भनाइ छ ।
यसैगरी मुख्यसचिव अर्यालले नवनिर्वाचित परिसंघको टिमलाई बधाई दिँदै उद्योग र निजी क्षेत्रबिना अर्थतन्त्र अगाडि बढ्न सक्दैन भन्नेमा स्पष्ट रहेको बताए । निजी क्षेत्रको लगानी अभिवृद्धि गर्न सरकारले कानुनी एवं नीतिगत सुधारलाई प्राथमिकतामा राखेको उनले बताए । आर्थिक क्षेत्र, औद्योगिक विकास एवं वनसँग सम्बन्धित अन्य करिब १२० वटा कानुन सरकारले संशोधनको तयारी गरिरहेको बताए ।
मुख्यसचिव अर्यालले स्वदेशी उत्पादनको प्रयोग बढाउन सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका ल्याएको बताए ।