काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ४० करोड ४७ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।
क्यानले बुधबार पत्रकार सम्मेलनमार्फत स्वीकृत बजेट तथा कार्यक्रमबारे संक्षिप्त जानकारी दिएको हो । अघिल्लो वर्ष ३४ अर्ब १२ करोड १६ लाख रुपैयाँ विनियोजन गरेको क्यानले चालु आर्थिक वर्षका लागि दुई अर्ब ७१ करोड ६९ लाख रुपैयाँ बजेट घटाएको छ ।
क्यानले पुँजीगततर्फको बजेट भने बढाएर १२ अर्ब ३९ करोड ७० लाख पुर्याएको छ । गत वर्ष ११ अर्ब ५२ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । यस्तै, कार्य सञ्चालनतर्फ ६ अर्ब १५ करोड ६७ लाख रुपैयाँ विनियोजन गरिएको छ । अघिल्लो आर्थिक वर्ष ६ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ विनियोजन भएको थियो । वित्तीय व्यवस्थापनका लागि १२ अर्ब ८५ करोड १० लाख बजेट विनियोजन गरिएको क्यानले उल्लेख गरेको छ ।
पत्रकार सम्मेलनमा क्यानका महानिर्देशक प्रदीप अधिकारीले पुँजीगत खर्च बढाउने र सञ्चालन खर्च घटाउनेतर्फ क्यान केन्द्रित रहेको बताए । उनले प्राधिकरणको आम्दानी बढाउन विमानस्थल शुल्क, यात्रुसेवा आदि विषयमा पुनरावलोकन हुन जरूरी भएको बताए ।
महानिर्देशक अधिकारीले क्यानको स्रोत खुम्चिएको र हरेक वर्ष बजेट घटिरहेको भन्दै स्रोत व्यवस्थापनमा ध्यान दिने विश्वास व्यक्त गरे । उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि पहल भइरहेको जानकारी दिए । रासस