site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आइओई महासचिव सान्तोस र महासंघका अध्यक्ष पदाधिकारीबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका रोजगारदाताहरूको अन्तर्राष्ट्रिय संगठन (आइओई)का महासचिव रोबर्टो सुवारेज सान्तोसले औद्योगिक सम्बन्ध सुधारमा नेपाल उद्योग वाणिज्य महासंघले निर्वाह गरेको भूमिकाको प्रसंशा गरेका छन् । बिहीबार महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र पदाधिकारीसँगको भेटमा उनले उक्त धारणा राखेका हुन् । 

महासंघका अध्यक्ष ढकालको निमन्त्रणमा आएका सान्तोषले हालै सहमतिमा भएको न्यूनतम ज्याला निर्धारण, सामाजिक सुरक्षा र औपचारिकीकरणमा महासंघको भूमिका अनुकरणीय भएको बताए । साथै, उनले सरकार र ट्रेड युनियनहरूको रचनात्मक भूमिका रहेको पनि बताए । 

सान्तोस साउन ८ देखि १० गतेसम्म नेपालको भ्रमणमा रहनेछन् । यसै वर्ष जेनेभामा सम्पन्न अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भएको भेटवार्ताका क्रममा ढकालले महासचिव सान्तोसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

महासंघमा भएको भेटवार्ताका क्रममा अध्यक्ष ढकालले नेपालको २०२६ मा हुने अतिकम विकसित मुलुकबाट स्तरोन्नति र यसले नेपालको अन्तर्राष्ट्रिय व्यापारमा पार्ने प्रभावमा आइओईको सहजीकरणका विषयमा चर्चा गरेका थिए । 

साथै, उनले निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि लगायतका आइओईका सहयोग आवश्यक रहेको बताए । “नेपालको २०२६ मा हुने एलडीसी स्तरोन्नति हुँदा हामीसँग अवसर र चुनौती दुवै छन् । यसबाट अगाडि बढ्न आइओईका अनुभव आदानप्रदान, विश्व समुदायमा नेपालको पक्षमा पैरवी र सहकार्यका लागि हामी आइओइको सहयोगको अपेक्षा गर्दछौँ,” अध्यक्ष ढकालले भने ।

नेपालमा लगानीको वातावरण सिर्जना गर्न, सरकार रोजगारदाता र श्रमिक संगठनबीच सुमधुर सम्बन्ध कायम राख्दै औद्योगिक वातावरण निर्माण गर्न महासंघले सधैँ उल्लेखनीय काम गर्दै आएको अध्यक्ष ढकालले बताए ।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  २१:४६
प्रतिक्रिया दिनुहोस्