काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले विभिन्न समयमा समस्याग्रस्त घोषित पाँच ठूला सहकारी संस्थाका ऋणीलाई ऋण तिर्न ताकेता गरेको छ ।
समितिको कार्यालयले शुक्रबार सूचना प्रकाशित गरी सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, नेसनल नमोबुद्द बचत तथा ऋण सहकारी संस्था, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीलाई ऋण तिर्न ताकेता गरेको हो ।
सहकारीबाट उपभोग गरेको ऋणको साँवा तथा ब्याज रकम फरफारकको लागि पटकपटक सूचना प्रकाशित गर्नुका साथै फोनबाट पनि आफ्नो ऋण तिर्नको लागि जानकारी गराउँदा पनि ऋणीहरु सम्पर्कमा नआएको समितिको कार्यालयले जनाएको छ ।
कार्यालयले बुझाउनुपर्ने ऋण रकम आउँदो भदौ ३१ गतेभित्र समितिको बैंक खातामा बुझाएमा ब्याज गणना र हर्जनाको हिसाब सम्बन्धित सहकारी समस्याग्रस्त घोषणा हुनुभन्दा अघिल्लो दिनलाई आधार मानिने भएको छ ।
भदौ मसान्तसम्म पनि कर्जा तिर्न नआउने ऋणीको हकमा ऋण चुक्ता गर्ने मितिको अघिल्लो दिनसम्म आधार मानि साँवा, ब्याज र हर्जना रकम गणना गरी असुल गर्ने निर्णय भएको समितिले जनाएकोे छ ।
सहकारी संस्थाबाट लिएको ऋण असुल गर्न कानुनी कारबाहीको प्रक्रियाअगाडि बढाउने चेतावनी समितिले दिएको छ । पाँच सहकारीमा अर्बौं रुपैयाँ बचत रकम अपचलन भएको छ । सिभिल, लालीगुराँश र सुमेरुमा ठूलो बचत रकम अपचलन भएको कार्यालयले जनाएको छ ।
अहिलेसम्म सरकारले १९ वटा बचत तथा ऋण सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । यी सहकारीमा अर्बौं रुपैयाँ बचतकर्ताको बचत रकम अपचलन भएको छ । सहकारीका बचतकर्ताले रकम फिर्ता दिन समितिले असूली प्रक्रिया अघि बढाएको हो ।
समस्याग्रस्त घोषणा हुने सहकारी
प्यासिफिक सेभिङ एन्ड इन्भेष्टमेन्ट को–अपरेटिभ लिमिटेड
प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड
ओरेन्टल को–अपरेटिभ लिमिटेड
गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड
स्टान्डर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड
पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड
शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
लुनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड
कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
सोसाइटल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड
तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड
श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
कञ्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड
कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड
कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड
गौतम श्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड