काठमाडौं । गीतमार्फत होस् वा अरू कुनै कार्यक्रमका माध्यमबाट, महिलाको सशक्तीकरण गायिका आस्था राउतको मुख्य उद्देश्य हो । सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ होस् वा आफ्नै लगानीमा बनाइएका गीत, अस्थाका सिर्जनामा कतै न कतै ‘वुमन इम्पावरमेन्ट’ मिसिएकै हुन्छ ।
‘चौबन्दीमा...’, ‘माइतीको चिनो...’ वा त्यसपछिका नयाँ गीतमा आस्थाले कतै न कतै महिलाको आवाज समेट्ने कोसिस गरेकी छन् । “वुमन इम्पावरमेन्ट मेरो पहिलो उद्देश्य हो । चाहे गीतमा होस् वा अन्य कार्यक्रम,” आस्था भन्छिन्, “छोरी हुनुको नाताले पनि मैले महिलालाई पुरुषसँगै समानान्तर रूपमा अगाडि बढाउनुपर्छ ।”
हाल गीत रिलिज गर्न कुनै म्युजिक कम्पनीको ढोका ढकढक्याउनु पर्दैन । आफूसँग सिर्जना र गाउने कला भए तत्कालै आफ्नै युट्युब च्यानल खोलेर गीत बजारमा ल्याउन सकिन्छ ।
तर, आस्था हतार गर्दिनन् । ढिलो होस्, तर राम्रो होस् भन्ने उनी चाहिन्छन् । त्यसैले एक वर्षपश्चात् उनी यति बेला अर्को गीत ‘कम्मरै भाँचेर ...’ लिएर आएकी छन् ।
हाँस्न, जिउन र नाच्न सिकाउने यो गीत डान्सिङ नम्बरमा छ । जिन्दगीलाई कसरी खुसीखुसी जिउने भन्ने विषयलाई केन्द्रमा राखेर यो गीत रचना गरिएको छ ।
“मनको रहर साँचेर राख्नेभन्दा पनि पूरा गर्नुपर्छ भन्ने सन्देश दिने यो गीतले साथीसँगीलाई हाँसेर बोल्न र जिउन आग्रह गर्छ,” आस्था भन्छिन्, “सुख र दुःख नै जिन्दगीको सत्य भएको भन्दै गीतले दुःख भुलेर हाँस्न प्रेरित गर्छ ।”
गीतको भिडियोमा महिला मात्र छन् । महिलालाई प्राथमिकता दिइएको यसबाट प्रस्ट हुन्छ ।
आस्थाका निम्ति प्रायः गीत सुरेश अधिकारी र उनकै आमा सावित्री राउतले लेख्छन् । सुरेश र सावित्री दुवै शब्द तौलिएर गीत लेख्ने सर्जक हुन् । त्यसैले त आस्थाले हाल बजारमा चलेका थुप्रै गीत छाडेकी थिइन्, जुन कतिपय डबल मिनिङ लाग्ने थिए । केही गीत उत्ताउला थिए ।
घरमा आमा गीतकार, बुवा (हरिबहादुर राउत) गायक । त्यसैले पनि आस्था हम्मेसी द्विअर्थी शब्द भएका गीत गाउँदिनन् । त्यसो त परिवार मात्र होइन, उनी आफैँ यस्ता गीत अस्वीकार गरिदिन्छिन् ।
छोरीका लागि गीत कस्तो लेख्ने आमालाई थाहा छ । आस्थाको भोकल रेन्ज कस्तो हो, थाहा हुने नै भयो । हाई रेन्जमा धेरैमाथि आस्थाको भोकल उक्लँदैन । मिड र लो रेन्जमा उनको भोकलले कम्फर्ट फिल गर्छ । त्यहीअनुसारको शब्द लेख्छिन्, सावित्री ।
गीत लेख्न सावित्रीलाई ‘मुड’ आउनुपर्छ – धेरै समय लाग्दैन । एकै त कहिले दुई/तीन बसाइमा स्थायीदेखि अन्तरासम्म पूरा गर्छिन् । गुनगुनाउँदै लेख्ने उनको बानी छ । त्यसैले राइमिङमा धेरै समस्या हुँदैन ।
आस्थाका गीतमा संगीतकार अक्सर सुरेश अधिकारी हुन्छन् । आस्थाका गुरु । आस्थाको संगीतका ‘गड फादर’ । आस्थालाई भन्दा सुरेशलाई उनको भोकल कर्डको ज्ञान छ । कुन सुर र ताल, बिट र अदाह, रेन्ज र खिड्का आस्थाका निम्ति उपयुक्त हुन्छ, उनलाई भलिभाँती थाहा छ । त्यस्तै धुन चलाउँछन् । भोकल र संगीतअनुसार थोरै शब्द खेलाउँछन्, जसले गीतको स्तर थप उकासियोस् । यो गीतमा पनि सुरेशले त्यस्तै गरे । गीत बन्यो ।
गीतजस्तै भिडियोको क्वालिटी पनि राम्रो होस् भन्नेमा आस्था सचेत थिइन् । शान थापालाई निर्देशक लिइन् । कोरियोग्राफर रोशन विकलाई रोजिन् । नृत्यका लागि आश्मा विश्वकर्मालाई छनोट गरिन् । ‘म गीत लिएर आउन कहिल्यै हतार गर्दिनँ । मेरो आफ्नै चाल छ,” उनी भन्छिन्, “म बघिनी हुँ, सिंहको चालमा आएको छु । यो मेरो विशेषता हो ।
“मलाई गीतको भिडियो बलिउडस्तरको हुनुपर्छ भन्ने थियो । त्यसैले कहीँ कतै पनि कम्प्रमाइज गरिनँ,” आस्था भन्छिन्, “त्यसैले अहिलेको बजारको टपटप आर्टिस्ट लिएर काम गरेको छु ।”
आफ्नो नयाँ गीत स्कुलदेखि तिजमा बजाएर नाच्न मिल्ने रहेको उनी बताउँछिन् । तिजमा मजाले कम्मर मर्काएर नाच्न मिल्ने गीत छ । जिन्दगीमा कसरी खुसी भएर जिउने भन्ने पनि गीतमा छ,” उनी भन्छिन्, “स्कुलका भाइबहिनीका लागि त मेरा गीत यसै पनि रोजाइमा पर्छन् नै । यो गीत स्कुलदेखि तीजमा बजाएर नाच्नेसम्म छ ।”
गायिका आस्था राउतसँग बाह्रखरीले गरेको भिडियोवार्ता हेर्नोस्–