site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मोरङको रमितेडाँडामा घुइँचो

विराटनगर । मोरङको उत्तरी भेगस्थित मिक्लाजुङको रमितेडाँडामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । विशेष गरी तराईको गर्मी छल्न केही समय भए पनि त्यहाँ घुम्न पुग्ने मानिसको हिजोआज भीड देखिन्छ ।

सुनसरीको भेडेटारजत्तिकै चिसो र प्राकृतिक हिसाबले रमितेडाँडा रमाइलो रहेको घुम्न पुगेकाहरू बताउँछन् । हालै पक्की सडक बनेपछि त्यहाँ पर्यटकीय चहलपहल सुरु भएको हो । होटेल तथा रेस्टुरेन्टमा समेत शुक्रबार र शनिबार मानिसको चहलपहल बढेको स्थानीय व्यवसायी सुनाउँछन् ।

मोरङको मंगलबारे बजारपूर्वको किसानचोकबाट उत्तर लागेपछि करिब डेढ घण्टामा रमितेडाँडा पुग्न सकिन्छ । मदन भण्डारी राजमार्ग हुँदै लेटाङ–जाँतेबाट केही पूर्व आएर माथि उत्तर उक्लँदा एक घण्टामा त्यहाँ पुग्न सकिन्छ ।

रमितेडाँडाबाट तराईका हरिया फाँट, चारकोसे जंगल, दमक टावर र बिर्तामोड बजार प्रस्टसँग देख्न सकिने पर्यटन व्यवसायी भविष श्रेष्ठ बताउँछन् । उनले भने, ‘‘रमितेमा नाइट स्टेका लागि व्यवस्थित र सुविधासम्पन्न होटेल खोल्न सके अझ धेरै पर्यटक आउन सक्छन् ।’’

रमितेडाँडा मिक्लाजुङ गाउँपालिका–४ मा अवस्थित छ । त्यहाँ टिकटक बनाउने, वनभोज खाने र परिवारसँग घुम्न पुग्नेको संख्या बढ्न थालेको छ ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १३:२८
प्रतिक्रिया दिनुहोस्