काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मधेसमा बिजुली आपूर्तिको अवस्थाबारे छलफल गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खाग्रस्त मधेसका विभिन्न जिल्लामा तत्काल ५०० बोरिङ जडान गर्ने घोषणा गरेपछि शाक्याले मंगलबार जनकपुरधाममा वितरण केन्द्रका प्रमुखसँग विद्युत् आपूर्तिको अवस्थाबारे छलफल गरेका हुन् ।
निर्देशक शाक्यले मधेसका सिराहा, धनुषा, महोत्तरी, सप्तरी, सर्लाहीलगायत जिल्लाका प्राधिकरण नेतृत्वसँग बोरिङ जडान गर्ने ठाउँमा विद्युत् आपूर्तिका लागि प्राधिकरणले बनाउनुपर्ने रणनीतिबारे छलफल गरिएको जानकारी दिए ।
शाक्यले सिँचाइका लागि विद्युत् आपूर्ति गर्न प्राधिकरण तयार रहेको बताए । तर, जडान गरिने स्थानबारे सम्बन्धित निकायबाट आउन नसकेको उनको भनाइ छ ।
शाक्यले किसानको समस्या राष्ट्रिय समस्या भएकाले समाधानका लागि आफू लागिपरेको बताए । उनले प्रतियुनिट आठ रुपैयाँ पर्ने बिजुली सिँचाइका लागि तीन रुपैयाँमा दिने पनि बताएका छन् ।
उनले अबको एक महिनाभित्रै बोरिङ जडानको काम सकाउने गरी लागेको बताए ।
–न्युज एजेन्सी नेपालबाट ।