site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सेयर बजार सधैँ बढ्ने यी दुई महिना

काठमाडौं । सेयर कारोबार गर्नेहरूका लागि असारदेखि भदौसम्मको अवधि लगानीको प्रतिफल सुरक्षित गर्ने समयका रूपमा परिचित छ । विगतका तथ्यांक हेर्दा, यस अवधिमा कम्पनीको सेयरमूल्य वर्षभरिकै उच्च पुग्ने गर्छ ।

कम्पनीले वार्षिक वित्तीय विवरण सार्वजनिक गर्ने, लाभांशका सूचना प्रकाशन हुने, राष्ट्र बैंकबाट मौद्रिक नीति सार्वजनिक हुने लगायत विषयले गर्दा पनि असारदेखि भदौ महिनामा मूल्य उच्च हुने र परिसूचक पनि उच्च विन्दुमा पुग्ने गरेको छ । सेयर बजारका विषयमा प्रशिक्षण दिँदै आएका सुवासचन्द्र ढुंगाना पनि वर्षभरिको कारोबार दिनभन्दा असारदेखि भदौ महिनाको अवधिमा बजार र कारोबार भोल्युम बढ्ने गरेको बताउँछन् । उनका अनुसार, बैंकहरूको ब्याजदर कम भयो भने त्यो पैसा सेयर बजारमा आएर बजार बढ्न थप सहयोग पुग्छ ।

“प्रत्येक वर्षको सेयर कारोबारलाई हेर्दा असार १५ देखि भदौ पहिलो सातासम्म बजारको गति घट्नेभन्दा बढ्ने तर्फ बढी देखिन्छ,” ढुंगानाले बाह्रखरीसित भने, “बजार सधैँ लगातार बढ्ने र घट्ने हुँदैन । बजारको नेचर नै घट्ने बढ्ने हो । बजार २९ सय विन्दुसम्म झर्नुलाई अहिलेको अवस्थामा सामान्य मान्नुपर्छ ।”

गएका वर्षहरूको तथ्यांक हेर्दा वर्षभरि बजार घटे पनि असार १५ देखि भदौ १५ गतेसम्मको दुई महिना बजार मापक नेप्से परिसूचक उच्च विन्दुमा नै देखिन्छ ।

यसअघिका दुई नयाँ रेकर्ड असार १५ देखि भदौ १५ कै बीचमा बनेका हुन् । पछिल्लो एक वर्षकै उच्च विन्दु गएको मंगलबार बन्यो । यस दिन बजार ३,००२.०७ विन्दुमा बन्द भयो । यो विन्दु चार वर्षयताकै उच्च हो । गएको वर्षको साउन ३१ गते बजारले ३,०००.८१ विन्दु कायम गरेको थियो । गएको वर्ष संसद्का ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धनमा नयाँ सरकार बन्यो ।

नयाँ सरकार बन्ने बित्तिकै दुई हजारको विन्दुमा रहेको बजार ३४ कारोबार दिनमा करिब एक हजार अंकले उकालो लाग्यो । उक्त अवधिमा बजारले तीन हजार विन्दु पार गर्‍यो । त्यसपछिका दिनमा बजार सुस्त बन्यो ।

चार वर्षअघि २०७८ सालमा नयाँ उच्च विन्दुको रेकर्ड बनेको बजारमा त्यसयताका वर्षहरूमा घटेर १८ सयको विन्दुसम्म झरेको थियो । २०७८ भन्दाअघिको उच्च विन्दु २०७३ मा १,८८१ हो । हालसम्मकै उच्च विन्दु ३,१९९ मा पुगेर बजार १८ सय विन्दुभन्दा तल झरेको छैन ।

बजार घटेकै वर्षहरूलाई हेर्दा पनि त्यो वर्षको उच्च विन्दु असार १५ देखि भदौ १५ गतेभित्र नै हुने गरेको छ । ०७८ भदौ २ गते बजार उच्च विन्दुमा पुगेपछि ओरालो लाग्यो । आर्थिक वर्ष ०७८/७९ मा बजार १,८४८ सम्म झर्‍यो । तर, ०७९ को साउन १६ गते परिसूचक २,१९६ विन्दुसम्म पुग्यो । यो विन्दु ०७९ सालको उच्च हो । ०७९ मा बजार १,८१५ सम्म झर्‍यो ।

यी तथ्यांकले पनि असार, साउन र भदौ महिनामा बढी सेयर किनबेच हुने गरेको देखिन्छ । यी महिनामा सेयर कारोबारी र सेयर लगानीकर्ता दुवै सक्रिय हुने गरेका छन् । यी तीन महिनामा अधिकांश कम्पनीको सेयरमूल्य वर्षदिनभरिकै उच्च पुग्ने गरेको छ ।

यसअघिका दुई उच्च विन्दुको रेकर्ड र सम्भावना
सेयर बजारमा अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड ०७८ भदौ २ गते बनेको हो । यो दिन बजार मापक परिसूचक ३,१९९ विन्दुमा रोकिएको थियो । त्यसअघिको उच्च विन्दु ०७३ साउन १२ गतेको हो । ०७३ साउन १२ गतेका दिन बजार १,८८१ विन्दुमा बन्द भएको थियो ।

त्यसपछिका दिनमा बजार घटेर ११ सय विन्दुसम्म झरेको थियो । तर, ०७८ सालमा भने बजारले नयाँ इतिहास बनाएको छ । यो विन्दु पार भएमात्र अब नयाँ रेकर्ड बन्छ ।

अहिलेको अवस्थामा बजारले नयाँ रेकर्ड बनाउन ३०० अंक बढ्नुपर्छ । गएका २२ कारोबार दिनमा बजार करिब ४०० अंकले बढेको छ । यो अवधिमा बजार १८ कारोबार दिन बढेको थियो भने बाँकी चार कारोबार दिनमात्र घटेको थियो । यो वर्षको उच्च विन्दु ३,००२ पछिका दुई कारोबार दिनमा बजार ७९ अंक घटेको छ ।

बजारमा सेयर कारोबारीहरू एउटा सेक्टरबाट अर्को सेक्टरमा जाँदा सूचकमा प्रभाव पर्नु स्वाभाविक भएको जानकार बताउँछन् । आफूले किनेको स्टकलाई बुझ्ने र मूल्य उच्च विन्दुमा पुग्दा बेच्ने लक्ष्य सबैको हुन्छ । यसका साथै कतिपयले कम्पनीको लाभांश क्षमता पनि हेरिरहेका हुन्छन् । कम्पनीले कमाएको विवरण पनि लगानीकर्ताले हेर्छन् । आफूसँग भएका कमसल कम्पनीलाई फालेर राम्रा कम्पनी किनेर बढ्दा पनि इन्डेक्समा प्रभाव पर्ने गरेको छ ।

 

आफूसँग भएका कमसल कम्पनी बेचेर राम्रा कम्पनी राख्ने लगानीकर्ताको स्वभावले नै जित्ने सेयर बजारको बारेमा प्रशिक्षण दिँदै आएका लगानीकर्ता सुवासचन्द्र भट्टराई बताउँछन् । गएको वर्षको उच्च विन्दु पार गर्दा कतिपय अतालिएर स्टक बेच्ने गरेको पनि उनी बताउँछन् ।

“बजारले हालसम्मको उच्च विन्दु पार गर्न धेरै लामो समय लाग्दैन । तर, लगानीकर्तामा आत्मविश्वास हुनुपर्छ,” उनले भने, “अहिलेको अवस्थामा ३,००० को विन्दु पार गर्दा धेरैलाई अब घट्छ कि भन्ने लाग्न सक्छ । तर, कम्पनीको वित्तीय विवरण आउन र कम्पनीले वितरण गर्ने लाभांशको घोषणा हुन बाँकी नै छ ।”

बजार बढ्नलाई ब्याजदरले पनि सपोर्ट गरेको उनी बताउँछन् । यो वर्ष कम्पनीको आम्दानीमा पनि वृद्धि हुने भएकाले लाभांश दिने कम्पनीहरूको छनोट गरेर लगानी गर्दा फाइदा हुने उनी बताउँछन् ।

“हामीले गाईजस्तो कम्पनी रोज्नुपर्छ, दुध पनि दिने, बेच्दा पैसा पनि आउने,” भट्टराईले भने ।

कारोबार रकमको रेकर्ड
साउनकै महिनामा सेयर कारोबार रकमले नयाँ रेकर्ड बनाएको इतिहास छ । हालसम्मकै उच्च मूल्यको सेयर कारोबार गएको वर्षको साउन ३१ गते २९ अर्ब ९५ करोड रुपैयाँ भएको थियो । त्यसअघि, ०७८ साउन ३१ गते उच्च मूल्यको सेयर खरिदबिक्री भएको थियो । ०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । ०७८ साउन ३१ गतेको उच्च मूल्यको सेयर कारोबार रकमको रेकर्ड गएको साउन १६ गते नै तोडिएको थियो ।

०८१ साउन १६ गते २१ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएर नयाँ रेकर्ड कायम भयो । त्यसपछिका कारोबार दिनमा नयाँ रेकर्ड बन्दै गयो ।

०७३ सालमा बजार १८८१ विन्दुसम्म पुग्दा दुई अर्ब १७ करोड ८७ लाख रुपैयाँको कारोबार भएको थियो । पछिल्लो आठ वर्षको अन्तरालमा अनलाइन कारोबार पहुँच तथा नयाँ कम्पनी दोस्रो बजारमा सूचीकृत हुने क्रम बढ्दा पनि दैनिक १० अर्बको कारोबार सामान्यजस्तै हुन थालेको छ ।

बजार घट्दा कतिसम्म झर्छ ?
बजार अस्वाभाविकरूपमा भन्दा आफ्नै गतिमा बढ्दा वा घट्दा नयाँ उचाइमा पुग्न समय लाग्दैन । तर, एकैदिन उच्च अंकले घट्ने र उच्च अंकले बढ्ने प्रवृत्तिले असर गर्ने जानकार बताउँछन् । अहिलेको बढाइ र घटाइ स्वाभाविक भएको पनि उनीहरूको विश्लेषण छ ।

ढुंगानाका अनुसार, अहिलेको बजार धेरै नघट्ने देखिन्छ । घटिहाले पनि २,८०० विन्दु तल नझर्ने उनको आकलन छ । तर, बजारले ३,२०० को विन्दु पार गरे अर्को नयाँ उचाइ बनाएर मात्र तल झर्ने उनी बताउँछन् ।

“मार्केटले २९०० को लेभलसम्म होल्ड गर्छ भने त्यो आतिनुपर्ने चाहिँ देखिँदैन, २,९०० सम्म आउँदासम्म नर्मल नै हुन्छ,” उनले भने, “त्योभन्दा मुनि आयो भनेदेखि २,८०० को लेभल हो । २,९०० तल झरेर २,८०० र ३,००० मा फेरि साइडजमा जान्छ कि भन्ने डरमात्र हो ।”

यो एक महिना भित्र बजार २,८०० विन्दुमा झरे नयाँ रेकर्ड बनाउन केही समय लाग्न सक्ने उनको आकलन छ ।

सेयरधितो कर्जा बढ्दै
गएको ११ महिनामा सेयरधितो कर्जा ३८ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ थपिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, जेठ मसान्तसम्म सेयरधितो कर्जा एक खर्ब २८ अर्ब ६७ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको जेठ मसान्तसम्मको तुलनामा सेयरधितो कर्जा जेठ मसान्तसम्म ४७ प्रतिशतले बढेको हो ।

वैशाखको तुलनामा जेठमा सेयरधितो कर्जा बढेको देखिन्छ । जेठमा मात्र तीन अर्ब ५२ करोड दुई लाख रुपैयाँ सेयरधितो कर्जा थपिएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १७:२८
प्रतिक्रिया दिनुहोस्