site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कुमारी बैंकको नाफा साढे ४५ हजार प्रतिशतले बढ्यो

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा दुई अर्ब ११ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो वर्षको तुलनामा नाफा ४५ हजार ८२९ प्रतिशतले बढेको हो ।

अघिल्लो आर्थिक वर्ष ०८०/८१ मा बैंकले ४६ लाख आठ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

आर्थिक वर्ष ०८१/८२ मा बैंकको वितरणयोग्य मुनाफा दुई अर्ब ७९ करोड ४० लाख रुपैयाँ ऋणत्मक छ । अघिल्लो आर्थिक वर्ष ०८०/८१ मा भने यो बैंकको वितरणयोग्य मुनाफा पाँच अर्ब ३६ करोड ७४ लाख रुपैयाँ ऋणत्मक थियो ।

गत वर्ष बैंकले वितरणयोग्य मुनामाको घाटा केही कम गरेको छ । तर, बैंकले लाभांश दिन सक्दैन ।

नेपाल राष्ट्र बैंकले ल्याएको लचिलो मौद्रिक नीतिका कारण यो बैंकको नाफा उलेख्य रूपमा बढेको हो ।

बैंकको खराब कर्जा अघिल्लो वर्ष ०८०/८१ मा भन्दा बढेको छ । गत वर्षको अन्त्यसम्म यो बैंकको खराब कर्जा ६.४२ प्रतिशत छ । अघिल्लो वर्षको अन्त्यसम्म ५.९६ प्रतिशत थियो ।

बैंकको प्रतिसेयर आम्दानी आठ रुपैयाँ शून्य सात पैसा छ । नेटवर्थ १४२ रुपैयाँ १९ पैसा छ ।

बैंकले गत वर्ष ३२ अर्ब २९ करोड पाँच लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको अन्त्यसम्म बैंकले यस्तो आम्दानी ३८ अर्ब ६० करोड ९३ लाख रुपैयाँ गरेको थियो ।

गत वर्षको अन्त्यसम्ममा बैंकले दुई खर्ब ६० अर्ब ९४ करोड ८३ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । उक्त अवधिमा बैंकले तीन खर्ब ६४ अर्ब ६३ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।  
 

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १२:२८
प्रतिक्रिया दिनुहोस्