site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिद्धबाबा सुरुङमार्ग : भौतिक प्रगति ५८ प्रतिशत

बुटवल । बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको काम ५८ प्रतिशत सकिएको छ । सुरुङमार्ग आयोजनाले पछिल्लो कार्यप्रगति विवरण सार्वजनिक गर्दै अब करिब ४२ प्रतिशत काम बाँकी रहेको जनाएको छ ।

सुरुङमार्गको आर्थिक प्रगति ५१.१ प्रतिशत पुगेको आयोजना प्रबन्धक कृष्णराज अधिकारीले जानकारी दिए ।

०७८ साल फागुनमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग निर्माण सम्झौता गरिएको यो आयोजनाको कुल लागत सात अर्ब ३४ करोड रुपैयाँ तोकिएको छ । सुरुङमार्ग निर्माण कार्य ०८३ साल फागुन ९ गतेभित्र सम्पन्न गरिसक्ने लक्ष्य छ ।

हालसम्म सुरुङ खन्ने, इन्भर्ट (ढल निकास) र भित्तामा सिसा (लाइनिङ) लगाउने कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ ।

भौतिक प्रगति
मुख्य सुरुङको एक हजार ८९ मिटर लम्बाइ खन्ने कार्य सकिएको प्रबन्धक अधिकारीले जानकारी दिए । उनका अनुसार, उत्तरबाट ४७९ मिटर र दक्षिणबाट ६१० मिटर खनिएको छ । साथै, बाइपास सुरुङ १, २ र ३ को क्रमशः १५१, १६१ र १३० मिटर खन्ने कार्य पूरा गरिएको छ ।

मुख्य सुरुङमा कुल एक हजार १२६ मिटरको लाइनिङ कार्यमध्ये ९३३.३ मिटर सम्पन्न भइसकेको छ । त्यसमा उत्तरतर्फबाट ४५३.६ र दक्षिणतर्फबाट ४७९.७ मिटर कार्य सकिएको छ ।

हालसम्म नौ कल्भर्ट निर्माण गरिएको छ । त्यसमा मुख्य सडक १ अन्तर्गत पाँच र मुख्य सडक २ अन्तर्गत चारवटा छन् ।

मुख्य सुरुङमा ५०१ मिटर (उत्तर) र ५८८ मिटर (दक्षिण) गरी कुल एक हजार ८९ मिटर ढल निकास निर्माण गरिएको छ । ढल निकास अरू बाइपास सुरुङहरूमा हालसम्म निर्माण गरिएको छैन ।

साउथ पोर्टलमा एक हजार ४९५ र नर्थमा ४९५ वर्गमिटर ढल तथा पर्खाल सुरक्षा कार्य सकिएको छ । एमआर १ पर्वतपट्टि ४८१ र एमआर २ पर्वतपट्टि एक हजार ४१४ वर्गमिटर कार्य सकिएको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १८:४०
प्रतिक्रिया दिनुहोस्