site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
रसुवा बाढीमा साढे ६ अर्बको क्षति, दसैँअघि नाका खुलाउने गृहकार्य

काठमाडौं । असार २४ गते र साउन १४ गते रसुवामा गएको बाढीपहिरोका कारण करिब ६ अर्ब ३० करोड रुपैयाँ बराबरको प्रारम्भिक क्षति अनुमान गरिएको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख इन्जिनियर खड्गलाल श्रेष्ठको संयोजकत्वमा गठित समितिको प्रारम्भिक प्रतिवेदनले यस्तो देखाएको हो ।

अहिले यो प्रतिवेदन निर्माणको अन्तिम चरणमा पुगेको छ । केही दिनभित्रै प्रतिवेदनलाई पूर्णरूप दिइने रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए ।

“असार २४ गते गएको बाढीपहिरोका कारण ६ अर्ब ३० करोड रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ । तर, यही साउन १४ गते आएको बाढीपहिरोले पनि थप क्षति गरेको छ । यसको पनि क्षति विवरण संकलन हुँदै छ । अहिलेको विवरणमा केही थप हुन सक्छ,” पौडेलले बाह्रखरीसित भने ।

चीनतर्फबाट रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्ने भोटेकोसी नदीमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको थियो । असार २४ गतेको बाढीपहिरोले नेपाल–चीन जोड्ने मितेरी पुल बगाउनुका साथै सडक सम्पर्क पूर्णरूपमा टुटेको छ । स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड बाढीले गर्दा पूर्णरूपमा अवरुद्ध हुनुका साथै रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा क्षति पुगेको छ । रसुवा भन्सार कार्यालयको सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि राखिएका केही मालवाहक ट्रक, कन्टेनर र विद्युतीय सवारीसाधन बगाएको थियो ।

अहिले रसुवा भन्सार कार्यालयमा गाडी तथा सामान राख्ने अवस्था छैन । तर, गाडीहरू सडकमै राखेर भए पनि भन्सार सञ्चालन गरिने पौडेल बताउँछन् ।

“रसुवा भन्सार कार्यालय, टिमुरेको सुक्खा बन्दरगाहमा क्षतिका कारण सवारीसाधन राख्ने ठाउँ छैन । तर, चीनको निर्माण कम्पनीले भदौ ३० सम्म बेलिब्रिज सम्पन्न गरेर हस्तान्तरण गरे सडकमै सवारीसाधन राखेर भए पनि सेवा दिने तयारी गरिएको छ,” पौडेलले भने ।

नाका खुला गरेर दसैँअघिसम्म सवारी आवागमनलाई सहजता दिने पौडेल बताउँछन् । नाका खुलाउन र सडक खुलाउन अहिले काम धमाधम भइरहेको छ ।

साढे ९८ करोडको बिमा दाबी
रसुवामा बाढीपहिरोको क्षतिबापत प्रारम्भिक बिमा दाबी ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँ छ । नेपाल बिमा प्राधिकरणकाअनुसार, यही साउन २२ गतेसम्म कुल बिमा दाबी संख्या ७८ पुगेको हो ।

त्यसमा सम्पत्ति बिमा ६, सामुद्रिक बिमा नौ, इन्जिनियरिङ तथा ठेकेदार जोखिम पाँच, मोटर बिमा (निजी) १६ र मोटर बिमा (सार्वजनिक) ४२ दाबी परेको छ ।

प्राधिकरणका अनुसार, हिमालयन एभरेस्टमा ५५ करोड, शिखर इन्स्योरेन्स कम्पनीमा १६ करोड ९६ लाख ३० हजार, नेपाल इन्स्योरेन्स कम्पनीमा आठ करोड ७३ लाख, सानिमा जीआईसीमा ६ करोड ८४ लाख ८२ हजार रुपैयाँबराबरको बिमा दाबी गरिएको छ ।

प्राधिकरणका अनुसार, नेको इन्स्योरेन्समा पाँच करोड ६७ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा दुई करोड ६५ लाख, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीमा ९१ लाख, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा ७६ लाख ७० हजार, एनएलजी इन्स्योरेन्स कम्पनीमा ४७ लाख, सिद्धार्थ प्रिमियरमा ३१ लाख र प्रभु इन्स्योरेन्समा २८ लाख रुपैयाँ बराबरको बिमा दाबी गरिएको छ ।

लेहेन्दे खोलामा आएको बाढीका कारण नेपाल–चीन सीमास्थित मितेरी पुल र भन्सार यार्डमा पार्किङ गरी राखिएका सवारीसाधन बगाएको थियो । रसुवागढी हाइड्रोपावरलगायतका संरचनामा समेत बाढीले क्षति पुर्‍याएको थियो ।

असार २४ गते र साउन १४ गते भएको क्षतिलाई समेटेर समितिले प्रतिवेदन तयार पार्नेछ ।

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  २०:३९
प्रतिक्रिया दिनुहोस्