काठमाडौं । अभिनेता सौगात मल्ल चरित्र अभिनयमा दुखी क्यारेक्टरको अभिनय गर्न बाहिरबाट कल्पना गरेजस्तो कठिन नहुने बताएका छन् । यस्ता चरित्रमा पटकपटक काम गर्दा आफूलाई बानी परिसकेको सौगातको भनाइ छ ।
स्क्रिप्टमा हेरेपछि त्यही अनुसारको तयारी गर्ने र ‘को–आर्टिस्ट’ राम्रो परेको अवस्थामा जस्तोसुकै चरित्र निभाउन पनि सहज लाग्ने गरेको उनी सुनाउँछन् ।
“सिटामोलकै क्यारेक्टरको कुरा गर्दा यसमा पनि मलाई काम गर्न कठिन भएको थिएन । सजिलो थियो भन्दा दर्शकलाई मजा लाग्दैन होला । मलाई सजिलो भयो भन्दैमा चलचित्र राम्रो छैन भन्ने होइन,” बाह्रखरीसँग सौगात भन्छन्, “तर, साच्चै भन्ने हो भने मलाई केही गाह्रो भएन । मलाई त रमाइलो लाग्यो ।”
जति दुखी क्यारेक्टर भयो त्यति आफूलाई मजा आउने उनी बताउँछन् । बस्ने/खाने सबै व्यवस्था राम्रो हुने भन्दै उनी चरित्र निभाउने काम पेसा भएकाले जस्तोसुकै क्यारेक्टर भए पनि त्यसमा आफू रमाउने गरेको उनी सुनाउँछन् ।
“मलाई लामो डाइलग घोक्न समस्या हुँदैन, किन भने म आफैँ डाइलग बनाउँछु । शरीर बनाउनु पर्ने थिएन । भूगोल अनुसारको टिपिकल भाषा कण्ठ गर्ने पनि थिएन । सबैले बुझ्ने भाषा बोल्नुपर्ने थियो,” सौगात भन्छन्, “वैशाखी र घिर्नीमा हिँडेको गाह्रोजस्तो देखिएको छ । देख्नलाई यो अनौठोजस्तो लागे पनि मलाई सजिलो थियो ।”
आफूलाई काम गर्न सजिलो भयो भन्दैमा सिनेमा नराम्रो छ भनेर नबुझ्न उनको आग्रह छ । चलचित्र राम्रो रहेको भन्दै विषयवस्तु बलियो रहेको उनको भनाइ छ ।
“शारीरिकरूपमा मिहिनेत गर्नु र हातमा वैशाखी लिएर हिड्नुलाई आफूले कामका रूपमा रमाइलो मानेँ । नयाँ अनुभव भयो । दौडिनु पर्ने थिएन । एक्सन सिन थिएन, फिल गर्नुपर्ने थियो,” सौगात भन्छन्, “स्क्रिप्टमा आज के छ भनेर हेर्यो । सामान्य तरिकाले फिल दिने कुरा थियो । छोरा, श्रीमतीसँग रियाक्ट गर्यो, त्यस्तै हो ।”
चलचित्रमा ‘इमोस्नल’ सिन धेरै रहेको उनी बताउँछन् । आफूले काम गरेका चलचित्रमध्ये धेरै रोएका सिन भएका सीमित चलचित्रमध्ये ‘सिटामोल’ पनि एक रहेको उनी बताउँछन् ।
चलचित्रको स्क्रिप्ट आउँदा बाउ र छोराको ‘इमोस्नल’ सम्बन्धले आफू प्रभावित भएको उनी बताउँछन् । “यस्तो खालको चलचित्र बन्नुपर्छ भन्ने त्यतिबेलै लागेर साइन गरेको हुँ,” उनी भन्छन्, “कोभिडको समयकै कुरा हो यो । पछि यस्तै कथा भएको चलचित्र मन पराइन्छ भन्ने कुरा त पूर्ण बहादुरको सारङ्गीले प्रमाणित गरिसकेको छ । यो चलचित्र प्रदर्शन हुन भने समय लाग्यो ।” यो चलचित्र गत शुक्रबारबाट प्रदर्शनमा आएको छ ।